Hello NEw
त्रिविको १९ औं उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा

निजामती खबर । त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटालाई नियुक्त गरीएको छ । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयको १९ औं उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेका हुन् । सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले दोस्रो नम्बरमा सिफारिस गरेका बाँस्कोटालाई आइतबार प्रधानमन्त्रीले चार वर्षे कार्यकालका लागि नियुक्ती गरीएको हो ।
बाँस्कोटाले सोमबार नियुक्ति पत्र बुझेर कार्यभार सम्हाल्ने स्रोतले बताएको छ । शिक्षामन्त्रीको अध्यक्षतामा साउन २० गते उपकुलपति खोज्न सर्च समिति बनेको थियो । सर्च समितिले एक नम्बरमा सिफारिस गरेका भगवान कोइरालालाई आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गर्यो । त्यसको केही घण्टामै बाँस्कोटा उपकुलपति बनेका हुन् ।
भदौ ६ गतेदेखि तत्कालीन उपकुलपति तीर्थ खनियाँको कार्यकाल सकिएको थियो। खनियाँलाई सुशील कोइराला प्रधानमन्त्री हुँदा उपकुलपति नियुक्त गरिएको थियो । उपकुलपति रिक्त भएपछि शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई बढीमा तीन महिनाका लागि त्रिविको कार्यवाहक कुलपतिको जिम्मेवारी दिइएको थियो। चार वर्ष नेपाल मेडिकल काउन्सिलको अध्यक्षसमेत भइसकेका बाँस्कोटा त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञसमेत थिए।
