Hello NEw
राष्ट्र बैंकका डेपुटी गभर्नर माथि छानबिन गर्न समिति गठन

काठमाडौं, १८ कात्तिक । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि अनियमितताको आरोप लागेको छ । आरोपमाथि छानबिन गर्न समिति समेत गठन गरीएको छ।
सरकारले उनीमाथि छानबिन गर्न राष्ट्र बैंकको सञ्चालक समितिलाई सिफारिस गरेको थियो । सोमबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठमाथि छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा श्रीराम पौडेल, रामजी रेग्मी र सुवोधकुमार कर्ण छन् ।
श्रेष्ठलाई खराब कर्जा लुकाउन सहयोग गरेको आरोप लागेको छ ।
साथै सर्वोच्च अदालतको फैसला नपुग्दै विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको तथा कानूनी प्रक्रिया पूरा नहुँदै विदेशी कम्पनीको लाभांस फिर्ता लैजान सहयोग गरेको आरोप उनीमाथि छ । श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी सूचना संकलन गर्न प्रयोग गरिने सफ्टवेयर चल्न नदिन भूमिका खेलेको आरोप समेत छ। उक्त सफ्टवेयर राष्ट्रसंघको सहयोगमा नेपाल भित्रिएको थियो ।
सरकराले छानबिन गर्न भन्दै पत्र पठाएपछि आइतबार सञ्चालक समितिको बैठक बसेको थियो। सोमबार फेरि बसेको सञ्चालक समितिको बैठकले समिति गठन गरेको हो। नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार डेपुटी गभर्नरविरूद्ध छानबिन समिति बनेपछि उनी पदबाट स्वतः निलम्बन भएको मानिन्छ ।
