Logo

Hello NEw

मेरो अनुभवमा लोक सेवामा सफल हुन यसरी पढ्नुहोस्



विष्णुहरी रेग्मी, अधिकृत-नेपाल सरकार

नेपालको वर्तमान जनसंख्यामा युवा वर्गको ठूलो हिस्सा रहेको,  विश्वविद्यालय तहको शिक्षा प्राप्त नागरिकको संख्यामा वृद्धि भएको, बेरोजगारीदर उच्च रहेको र सरकारी स्थायी जागिरतर्फ मध्यम तथा निम्न वर्गीय युवासमुदायको आकर्षण वढीरहेको कारण लोकसेवा आयोग मार्फत सञ्चालन गरिने निजामती सेवा, सुरक्षा निकाय, बैक तथा वित्तीय सेवा, सार्वजनिक संस्थान र अन्य सरकारी सेवाको स्थायी पदको विज्ञापनमा रिक्त पद संख्या भन्दा शयौं गुणा वढी आवेदन पर्ने गरेको समाचार सार्वजनिक भैरहेकै छन् ।

सफलताको प्रमुख आधार आर्जित ज्ञान र त्यसको विवेकशील प्रयोग नै हो । ‌औपचारिक शिक्षाको माध्यमबाट हाँसिल गरेका जानकारीका अलावा कार्य अनुभव, भोगार्इ, साथीसंगत, रुची र ज्ञानवर्द्धक क्षेत्रसंगको संलग्नता र सहभागिताले समेत यस्ता परीक्षामा व्यक्तिगत स्थान निर्धारणमा भूमिका निर्वाह गर्दछन ।

बढ्दो प्रतिस्पर्धामा आफ्नो अब्बलता प्रमाणित गरी श्रेष्ठता हाँसिल गर्ने उत्कट चाहना र विश्वाषका साथ लोकसेवा आयोगको परीक्षा तयारीमा रहनुभएका सबै योग्यतम र इच्छुक साथीहरुलार्इ उपयोगी हुने अपेक्षा सहित लोकसेवा यात्रामा सङ्गालिएका अनुभव र लोकसेवा सहयोगी कक्षाको सहजीकरणका दौरान मैले अनुभूत गरेका आधारमा लोकसेवा लगायतका प्रतिस्पर्धात्मक परीक्षालार्इ अब्बल एवं सफल बनाउने केही उपायहरु यहाँहरुसमक्ष संचार गर्ने जमर्को गरेको छु ।

  • पाठ्यक्रमसंग अति निकटतामा रही परिचित हुने, शब्द तहसम्मको अर्थ र अवधारणा बुझ्ने, त्यसको सिद्धान्त, दायरा र सार्वजनिक प्रशासनसंगको आबद्धता पहिचान गर्ने,
  • पाठ्यक्रमले समेटेको विषयवस्तुलार्इ जानकारीको तहको आधारमा जानेको, थोरै जानेको र जान्दै नजानेको समूहमा वर्गीकरण गरी आवश्यक मिहेनतको मात्रा आँकलन गर्ने,
  • प्राथमिकताको आधारमा अध्ययन कार्यातालिका बनार्इ नियमित र गुणात्मक अध्ययन र अभ्यास गर्ने,

अध्ययनका ४ विधिहरु:

  • पाठ (Reading and Study), लेखन (Writting), श्रवण (Listening) र दृश्य दर्शन (Watch Video) मध्य उपयुक्त विधि हरेक अध्यायमा प्रयोग गर्ने,
  • सुरुवातमा सरसर्ती पढ्ने, आवाज सहित पढ्ने, एकान्तमा गर्इ एकपटक राम्रोसंग पढेको कुरा रेकर्ड गर्ने र पढ्न अनुकुल नहुने समयमा रेकर्ड सुन्ने, पढदा भन्दा सुन्दा वढी प्रतिशत स्मरण हुने मेरो अनुभव छ ।
  • एकचरण पढाइ सकिएपछि प्रश्नको छोटो उत्तर लेख्न थाल्ने, सुरुमा आफैंले जाँच गरी हेर्ने र कमजोरी सच्याउँदै लेख्दै जाने,
  • लेख्दा संरचनात्मक उत्तर (Structural Writting)को अभ्यास गर्ने, शीर्षक र उपशीर्षक बनाएर लेख्ने, चित्र, तालिका, सुची वा फ्लो डायग्रामको औचित्यपूर्ण प्रयोग गर्ने,
  • साधारण र सैदान्तिक प्रश्नबाट क्रमश: व्यवहारिक, समाधानमूलक र विश्लेषणात्मक उत्तरको अभ्यास गर्ने, विगतमा सोधिएका र लोकसेवाको नमूना प्रश्नलार्इ मूल आधार बनाउने, उत्तरमा अनावश्यक भूमिका, मागेको भन्दा जानेको कुरा, वहकिएर विषयवस्तु बाहिर गर्इ, पटक पटक एउटै कुरा दोहोर्याएर र भद्धा निश्कर्ष लेख्नु हुँदैन ।
  • ल्याकत वा सामान्य बौद्धिक परीक्षणका लागि अध्यायका आधारमा अनलाइनमा उपलव्ध सामग्रीहरु पढ्ने¸ भिडियो कक्षाहरु हेर्ने तर आधिकारिक र भरपर्दो साइट बाहेक अन्यत्र समय व्यतित गरी वरालिनु हँदैन ।
  • तयारी गर्दै जाँदा आधारभूत र अनिवार्य लागेका र हुबहु जान्नै पर्ने विषयमा गीत, कथा, कविता, फर्मुला, सुत्र आदि बनाएर सजिलै सम्झन सकिन्छ । जस्तो संवैधानिक प्रावधानहरु, अपरिवर्तनीय सामान्य ज्ञान , इतिहांसका विषय, भूगोलका विषय आदि सुरु देखि अन्त्य सम्म सम्झने गरी रिफरेन्स वा लिंक स्टडी गर्नुपर्दछ ।
  • साथीहरुसंग अन्तरक्रिया वा छलफल गरी पढ्दा गलत बुझाइको पहिचान हुनुको साथै दिविधा निराकरण हुन्छ भने वढीभन्दा वढी पाठ्य सामग्री र तिनमा समेटिएका विषयवस्तु समेत जान्न पाइन्छ ।
  • तयारी कर्ताले आफ्नो स्वास्थ्यको उत्तिकै ख्याल गर्नुपर्दछ । स्वस्थ जीवन र सुरक्षित खानपानका साथै सकेसम्म नियमित व्यायाम र योगसाधना गर्न सके दिमागी तिक्ष्णता बढेर जान्छ ।
  • वस्तुगत प्रश्नको तयारी गर्दा शीघ्र दोहोर्याउने विधि, छानेर नजानेको नजानेको मात्र धेरै पढ्ने विधि, पढेको सुन्ने विधि र लोकसेवाको प्रश्नपत्रको नमूना तयारी विधि अपनाउनु पर्दछ ।
  • सार्वजनिक प्रशासनको पाठ्यक्रम खासगरी वहु क्षेत्र (Multi sector) को सामान्य जानकारी (General Knowledge) आवश्यक पर्ने विधा भएकोले पाठ्यक्रमको मर्म र भावनाअनुरुप कुनै पनि अध्याय नछुट्ने र कमजोर नहुने गरी तयारी गर्नु वाञ्छनीय हुन्छ । परीक्षामा एक भन्दा वढी चरण एवं विषयहरु समेटिएको र वस्तुगत, विषयगत एवं मनोवैज्ञानिक परीक्षण समेत पारगर्नुपर्ने भएकोले कुनै एक विषय वा परीक्षामा गरिने वा हुने सानो गल्तीले पनि असफल हुनसक्ने प्रति चनाखो रहनुपर्दछ ।
  • समग्रमा लोकसेवाको तयारी विद्वान बन्ने बाटो नभएर बजारका अरु प्रतिस्पर्धी भन्दा उत्कृष्ट बन्ने पूर्वाभ्यास हो जुन लगन, धैर्यता, सकरात्मक मनोवृत्ति, निरन्तरको परिश्रम र समाधानमुखी दृश्टिकोणबाट सहजै प्राप्त हुन्छ भन्ने मेरो व्यक्तिगत अनुभुति रहेको छ ।
प्रतिक्रिया दिनुहोस्