Hello NEw
लोकसेवा विशेषः शासनको अवधारणा र नेपालको वर्तमान शासन प्रणालीका विशेषताहरु

प्रश्न – शासनको अवधारणाबारे चर्चा गर्दै वर्तमान समयमा शासनलाई कुन सन्दर्भमा लिने गरिन्छ । नेपालको बर्तमान शासन प्रणालीका विशेषताहरुको बारेमा उल्लेख गर्नुहोस ।
शासनको अवधारणा:
लोकतान्त्रिक विधि र प्रक्रियाबाट स्थापित सरकारले जनताको हित प्रवर्द्धन गर्न राजनीतिक र कानुनी प्रक्रियाबाट आफुलाई प्राप्त अधिकार र स्रोतको प्रयोग गरेर नीति बनाउने र कार्यान्वयन गर्ने प्रक्रियालाई शासन भनिन्छ ।
- व्यक्ति, समाज र राज्यलाई व्यवस्थित गर्ने‚ नियमहरुको निर्माण गर्ने‚ तिनको कार्यान्वयन गर्ने‚ सार्वजनिक सेवा प्रवाह गर्ने‚ नियमन गर्ने‚ नियन्त्रण गर्ने तथा राज्यका समग्र पक्षको व्यवस्थापन गरी जनतालाई सुखी र खुसीको अनुभूति प्रदान गर्नु शासनको उद्देश्य रहेको हुन्छ।
- शासन सार्वजनिक क्षेत्र‚ निजी क्षेत्र‚ गैरसरकारी सबै क्षेत्रलाई व्यवस्थित गर्न अभ्यासमा आउने गर्दछ यो एक वृहत अवधारणा हो ।
- परम्परागत रुपमा शासनको सिमित विषय र कार्यक्षेत्र रहेकोले त्यो बेलामा सरकार नै शासन हो भन्ने बुझिन्थयो ।
- तर सन १९८० को आर्थिक उदारीकरण‚ निजीकरण र विश्वव्यापिकरणको अवधारणाको विकास भएपश्चात शासन भन्नाले सरकारले राष्ट्रिय‚ उपराज्जीय र पराराज्यीय तहका सार्वजनिक‚ निजी र गैरसरकारी तीनवटै क्षेत्रका शासकीय सहयात्री पात्रहरुको सहकार्य‚ समन्वय र साझेदारीमा मुलुकको आर्थिक‚ सामाजिक विकासको प्रयत्न गर्ने समग्र पद्धति प्रक्रिया र तरिकालाई बुझिन्छ ।
- मानिस समाजमा व्यवस्थित रुपमा बसोबास गरे देखि नै शासन अस्तित्वमा आएको हो तर विभिन्न समयको कालखण्डमा शासन सम्वन्धी अवधारणा सन्दर्भ अनुकूल परिमार्जित हुँदै आएकोले शासनको अवधारणा समय सापेक्ष परिवर्तनशील हुने गर्दछ।
वर्तमान समयको शासनको सन्दर्भ :
शासन एक गतिशिल अवधारणा भएकोले वर्तमान वृहत अर्थको शासन सम्बन्धि अवधारणाको विकास सन१९८० पछि भएको मानिन्छ । यसको पछाडिका सन्दर्भहरुलाई देहायअनुसार उल्लेख गर्न सकिन्छ –
- आर्थिक उदारीकरण
- निजीकरण
- विश्वव्यापीकरण
- अन्तराष्ट्रिय संस्था संगठन विकास र विस्तार
- निजी क्षेत्र र गैरसरकारी क्षेत्रको उदय
- सरकारले अन्य क्षेत्रसंगको साझेदारी सहकार्यमा काम गर्ने पद्धतिको विकास
- विगतको सरकारको कार्यशैली र पद्धतिप्रति आम नागरिकको जनअसन्तुष्टि
- सरकारको भूमिकामा परिवर्तन
- प्रविधिको प्रयोग र विकास
- लोकतान्त्रिक शासन कानुनी शासन र सुशासनको उदय
- अनैपचारिक शासनको अवधारणामा विकास
- विभिन्न नेटवर्किङहरुको विकास र समाजमा तिनले खेल्ने भूमिका प्रभावकारी बन्नु ।
- समावेशी शासन‚ विधुतीय शासन तथा शासकीय मामिलामा विकसित अन्य नविनतम मुल्य मान्यता ।
नेपालको वर्तमान शासन प्रणालीका विशेषताहरु:
- लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा आधारित शासन प्रणाली
- बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली
- संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली
- राज्यशक्तिको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बिच विभाजन गरी परस्पर सन्तुलन र नियन्त्रण कायम गर्ने गरी अभ्यास गरिएको ।
- प्रत्यक्ष र समानुपातिक दुबै विधिलाई आत्मसात गरी मिश्रित निर्वाचन प्रणाली अंगालिएको ।
- आर्थिक उदारवादलाई अवलम्वन गरी सार्वजनिक, निजी र गैरसरकारी तीनवटै क्षेत्रको भूमिकालाई महत्व दिइएको ।
- खुल्ला तथा उदार शासन प्रणाली
- सुशासन र कानूनी शासनमा आधारित शासन प्रणाली
- सामाजिक तथा सांस्कृतिक बहुलवादलाई आत्मसात गरिएको ।
- सक्षम‚निष्पक्ष र स्वतन्त्र न्यायपालिका
निश्कर्ष:
कुनै पनि देशको समाज र अर्थतन्त्रलाई शासनले नै दिशानिर्देश गर्ने भएकोले शासनको आधुनिक अवधारणा बमोजिम देशलाई सामाजिक आर्थिक रुपानतरणको मार्गमा अगाडी बढाउन शासनले व्यक्ति, समाज र शासकीय पात्रहरुलाई लोकतन्त्र र कानुनको शासन बमोजिम विवेकपूर्ण, सहभागितात्क र समन्वयात्मक ढंगले परिचालन गर्नु आवश्यक हुन्छ ।
