Logo

Hello NEw

मन्त्रिपरिषदको कार्यालयमा ताला लगाउन खोज्दा ४३ शिक्षक पक्राउ



जनकपुरधाम, १९ कात्तिक । प्रदेश २ को अस्थायी शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताला लगाउन गएका बेला पक्राउ परेका हुन् । मंगलबार प्रदेश २ का अस्थायी शिक्षकहरू जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ताला लगाउन गएका थिए। तीमध्ये ४३ जना शिक्षक पक्राउ परेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले अस्थायी शिक्षकको मागप्रति प्रतिवद्धता जनाएर बेवास्ता गरेको भन्दै अस्थायी शिक्षकको समूह तालाबन्दी गर्न गएको थियो । अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका अनुसार मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकरसंग पहल गरेर माग पुरा गराउने प्रतिवद्धता जनाएको थिए। तीन महिना बित्दा पनि आफ्ना माग पूरा नभएको र मुख्यमन्त्रीले बेवास्ता गरेको भन्दै उनीहरूले फेरि आन्दोलित भएका हुन् ।

अस्थायी शिक्षकलाई पूर्ववतस् रूपमा उमेरको हदसम्म पेसाको ग्यारेन्टी र स्वास्थ्य उपचारलगायत माग राख्दै असार २० गतेदेखि उनीहरू कार्यालय अगाडि करिब डेढ महिना धर्नामा बसेका थिए ।सोमबार पनि अस्थायी शिक्षकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि एक घन्टा सडक अवरूद्ध गरेका थिए ।

सरकारको गलत नीतिका कारण प्रदेश २ का करिब १ हजार २ सय शिक्षकको रोजगार खोसिएको भन्दै उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताला लगाएको अस्थायी शिक्षकका संयोजक धमेन्द्र यादवको दाबी छ । पक्राउ परेका शिक्षकलाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्