Hello NEw
अन्तः शुल्क स्टिकर तत्काल नछाप्न निर्देशन
काठमाण्डौ, २२ कात्तिक । संसदीय समितिले अन्तः शुल्क स्टिकर छपाइसम्बन्धी काम तत्काल अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाली कम्पनीले छपाइ गर्न प्रतिस्पर्धा नै गर्न नसक्ने गरी सरकारले स्टिकर छपाइसम्बन्धी टेन्डर आह्वान गरेको निष्कर्ष निकाल्दै तत्काल काम अघि नबढाउन सरकारलाई निर्देशन दिएको हो ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले त्यस सम्बन्धमा भएका सबै निर्णयहरुबारे सरकारसँग जानकारी लिने निर्णय पनि गरेको छ । नेपाली कम्पनीहरुले प्रतिस्पर्धा नै गर्न नपाउने गरी अन्तः शुल्क स्टिकर छपाइसम्बन्धी बोलपत्र आह्वान गरेकाले तत्कालका लागि प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिइएको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताएका छन् ।
समितिले एक वर्षअघि नै अन्त–शुल्क स्टिकर छपाइ गर्दा नेपाली कम्पनीहरुले पनि भाग लिने गरी सर्तहरु राख्न सरकारलाई सचेत गराएको थियो । तर त्यो निर्देशन पालना नभएपछि समितिले पुनः त्यो प्रक्रिया अघि नबढाउन भन्दै सरकारलाई सचेत गराएको छ । समितिले त्यस सम्बन्धमा आवश्यक जानकारी लिन सोमबार सम्बन्धित निकायका पदाधिकारीहरुलाई उपस्थित हुन पनि पत्राचार गरेको छ ।
बैठकमा समितिका सदस्यहरुले समितिले दिएको निर्देशनसमेत पालना नगरेको भन्दै सरकारको चर्को आलोचना समेत गरेका थिए । समितिका सदस्य राजेन्द्रकुमार केसीले संसदीय समितिले दिएको निर्देशनको समेत बेवास्ता गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।
