Logo

Hello NEw

सरकार गरीबी र बेरोजगारी समस्या अन्त्य गर्नेतर्फ केन्द्रित छ : मन्त्री पण्डित



लहान, १० चैत  : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार मुलुकमा रहेको गरीबी र बेरोजगारी समस्या अन्त्यका लागि ध्यान केन्द्रित गरेको बताउनुभएको छ । सिरहाको गोलबजार नगरपालिकाको आयोजनामा आजदेखि शुरु भएको दोस्रो नगरस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले जनताको मुख्य दुश्मन गरीबी भएकोले सरकार गरीबी र बेरोजगारी समस्या अन्त्य गर्नेतर्फ केन्द्रित छ भन्नुभयो ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारको विभिन्न योजना गाउँगाउँमा पुग्न थालेकाको उल्लेख गर्नुहुँदै मन्त्री पण्डितले अबको चार वर्षमा विकास निर्माणले एउटा गति लिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा वीरगञ्ज युनाइटेड क्लब पर्साले डाँगी हाट फुटबल क्लब बेलवारीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिताको विजेताले नगद रु दुई लाख २२ हजार नगद र उपविजेताले नगद रु एक लाख ११ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसअघि आजै मन्त्री पण्डितले गोलबजार नगरपालिका–३ लालपुरमा एकीकृत नमूना दलित बस्तीको उद्घाटनसमेत गर्नुभएको थियो । सङ्घीय सरकारको समृद्धि कार्यक्रमअन्तर्गतको रु एक करोड १० लाखको लागतमा उक्त वस्ती निर्माण हुने जनाइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्