Hello NEw
नेपाल–भारत सीमा विवाद अन्तर्राष्ट्रियकरण नगर्ने – प्रचण्ड
काठमाडौं, २५ कात्तिक । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतको सीमाको समस्या अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको बताएका छन् । सोमबार समितिको बैठकमा प्रचण्डले सीमा समस्या आपसी छलफल र संवाद गरेर टुंग्याउनु पर्ने बताएका हुन् ।
सीमा समस्या अहिल्यै अन्तर्राष्ट्रियकरण गर्दा झन् समस्या पैदा हुने भन्दै उत्तेजना फैलाएर समस्या समाधान नहुने उनको तर्क छ । आफूहरूले एक इञ्च पनि भूमि नछोड्ने र अरूहरूको पनि एक इञ्च भूमि नलिने उनले बताए ।
अहिले नेपाल र भारतमा स्थिर सरकार भएकोले समस्या समाधान गर्ने बेला भएको भन्दै समस्याको समाधान राजनीतिक र कूटनीतिक तवरबाट गर्नुपर्ने उनको भनाई छ । सुगौली सन्धिमा लिम्पियाधुरा महाकालीको मुहान हो भनेर स्पष्ट भनिएको उल्लेख गर्दै सो विषय दोहोर्याइ रहनु नपर्ने उनको तर्क छ । नेपालमा सीमाको विषयलाई लिएर अभूतपूर्व राष्ट्रिय एकता कायम भएको पनि उनले बताएका छन् ।
भारतले गत नोभेम्बर १ मा जारी गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालभर विरोध प्रदर्शन भइरहेको छ । भारतले उसको नक्सामा नेपालको कालापानी र लिपुलेक राखेको भन्दै नेपालभर विरोध प्रदर्शन भइरहेको हो । सो विषयबारे समितिले छलफल गर्नको लागि प्रधानमन्त्रीलाई डाके पनि उनी भने उपस्थित भएनन् । प्रधानमन्त्री सहभागी नभएपछि सरकारका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले धारणा राखेकी छन् ।
यसअघि शुक्रबार नेपाल–भारतबीच कालापानी सीमा विवादबारे भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेशसचिव विजय गोख्लेसँग भेट गरेर सीमा विवादबारे कुरा गरेका थिए । यससँगै दुई देशका अधिकारीबीच कूटनीतिक पहल सुरू भएको छ ।
