Hello NEw
१२ देशका ६३ फिल्म: गैरआख्यान फिल्म फेस्टिभलमा
काठमाडौं, २७ कात्तिक । बाह्रौं दक्षिण एसियाली गैरआख्यान फिल्म फेस्टिभल कात्तिक भोलीबाट चार दिनसम्म पाटनढोकास्थित रातो बंगला स्कुलमा हुने भएको छ । ‘ह्वेयर द माइन्ड इज फ्रि’ भन्ने नाराका साथ हुन लागेको फेस्टिभलमा दक्षिण एसियाका एक दर्जनभन्दा बढी देशका ६३ वटा डकुमेन्ट्री र छोटा फिल्म प्रदर्शन हुनेछन् ।
नेपालमा द्वन्द्वकालीन समयमा गहन खालका डकुमेन्ट्री र फिल्महरु बनेका छन् । मोहन मैनालीको जोगीमाराका ज्युँदाहरू, धुव्र बस्नेतको रताम्मे गराहरू, प्रणय लिम्बुको इतिहास जित्नेहरूका लागि, दीपेश खरेलको अ लाइफ विथ स्लेट, दीपेन्द्र भण्डारीको जर्नी टु यार्सालगायतका केही उत्कृष्ट गैरआख्यान फिल्महरु द्वन्द्वकालीन समयमा निर्माण भएका फिल्महरु हुन् ।
तर हिजोआज डकुमेन्ट्री फिल्मको निर्माणमा शिथिलता आएको देख्न सकिन्छ । डिजिटल प्रविधिका कारण सुधारिँदै गएको प्रविधि र स्रोतसाधनको खाडल नाघेर आफ्ना कथा आफ्नै शैलीमा भन्न गैरआख्यान फिल्म महत्वपूर्ण विधा भएको अनुसन्धानकर्ताहरु बताउँछन् ।
डकुमेन्ट्री फिल्मको क्षेत्रमा केही नयाँ काम गर्ने उद्देश्यका साथ सन् १९९७ मा फिल्म साउथ एसिया ट्रस्टको स्थापना भएको हो । स्थानीय स्तरका समस्यालाई राष्ट्रियकरण गर्न अडियो भिडियोको माध्यमबाट बन्ने डकुमेन्ट्री फिल्म प्रभावकारी माध्यम हो । फिल्म फेस्टिभलको बिहीबार एक कार्याक्रम गरी उद्घाटन गरीदैछ ।
फेस्टिभलमा सहभागी उत्कृष्ट फिल्मलाई विभिन्न पाँच प्रकारका अवार्ड पनि प्रदान गरिनेछ । यसका लागि तीन सदस्यीय जुरी टिम निर्माण भएको छ । जसमा आयेशा अवाहम, कुन्द दीक्षित र शिवमोहन सुमाथि रहेका छन् । सबैभन्दा उत्कृष्ट फिल्मलाई दुई हजार अमेरिकी डलरको रामबहादुर ट्रफी पुरस्कार प्रदान गरिनेछ । रनर अप अवार्डसँगै एक हजार डलर, बेस्ट डिबेट फिल्म अवार्ड एक हजार डलर, युनिसेफ अवार्ड फर वेस्ट फिल्म अन चिल्ड्रेन इस्यु एक हजार अमेरिकन डलर र द बेस्ट स्टुडेन्ट फिल्म अवार्ड पाँच सय अमेरिकन डलर प्रदान गरिनेछ ।
