Hello NEw
त्रिविको ४५ औँ दीक्षान्त समारोह पुष ३ गते, १० हजारको आवेदन

काठमाडौँ, २७ कात्तिक । त्रिभुवन विश्वविद्यालयले आयोजना गर्ने दीक्षान्त समारोहमा यस पटक १० हजार १७८ विद्यार्थीले दीक्षितका लागि आवेदन दिएको छ । दीक्षन्त समारोहमा सहभागी हुनका लागि त्रिविले अनलाइन फाराम आह्वान गरेको थियो । पहिलो वर्षहरुको तुलनामा यो वर्ष दीक्षित हुने विद्यार्थीको सङ्ख्या बढेको त्रिविले जनाएको छ ।
गत वर्ष ९ हजार ५ सय ४ विद्यार्थी मात्रै दीक्षित भएका थिए । त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेदेखि दीक्षित हुने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको हो । पहिले त्रिविस्थित परीक्षा नियन्त्रण कार्यालयमा आएर विद्यार्थीले आवेदन दिने गर्दथे । यस वर्ष त्रिविको ४५ औँ दीक्षान्त समारोहमा आगामी पुष ३ गते आयोजना हुँदैछ ।
आवेदन दिएको उजुरीमाथि सुनवाइ गरी त्रिविले अन्तिम नामावली प्रकाशन गर्ने गर्दछ । सन् २०१८ जुन १५ देखि २०१९ जुन १४ सम्म लब्धाङ्क पत्र (ट्रान्सक्रिप्ट) लिएका विद्यार्थी समारोहमा सहभागी हुन पाउने व्यवस्था रहेको छ ।
त्रिविले ७० हजार ७० विद्यार्थी समारोहमा समावेश गरे पनि तीमध्ये सात गुणा कम अर्थात् १० हजार विद्यार्थी मात्र सहभागी हुने गरेका छन् । आगामी पुस ३ गते हुने समारोहमा छ हजार ९०० अभिभावकसमेत सहभागी हुने अपेक्षा गरीएको छ । सहभागी प्रतिअभिभावकका लागि ३०० तोकिएको छ ।
त्रिविले स्नातक तहका लागि २२ सय, स्नातकोत्तर तहका लागि २७ सय र एमफिल र पिएचडी (विद्यावारिधि)का लागि ३२ सय शुल्क तोकेको छ भने गाउन, स्कार्फ र टोपीका लागि १५ सय धरौटी तोकिएको छ ।
दीक्षान्त समारोहमा सबैभन्दा बढी व्यवस्थापन सङ्कायका विद्यार्थीले आवेदन दिएका छन् । व्यवस्थापन सङ्कायका विद्यार्थी तीन हजार ७२० सहभागी हुने भएका छन् । यस्तै मानविकी सङ्कायका दुई हजार १४४, इञ्जिनीयरिङतर्फ एक हजार १९०, विज्ञान सङ्कायतर्फ एक हजार १०९, चिकित्सातर्फ ८८०, शिक्षा सङ्कायमा ७८३, कानून सङ्कायमा १८६, कृषितर्फ १३३ र वन विज्ञानतर्फ ३३ विद्यार्थी सहभागीका लागि आवेदन दिएका छन् ।
