Logo

Hello NEw

बन्ने भयो सरुवा पूर्वानुमान गर्न सकिने कानुन



काठमाडौं, २८ कात्तिक । निजामती कर्मचारीको सरुवा कुन क्षेत्रमा हुँदैछ भन्ने पूर्वानुमान गर्न सक्ने गरी कानुन ल्याउने तयारी भएको छ । कर्मचारीलाई त्यहीअनुसार पारिवारिक योजना बनाउन सहज होस् भनेर सरुवाको पूर्वानुमान गर्न सक्ने गरी कानुन ल्याउन लागिएको हो ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तका लागि बनेको विधेयकमा सांसदबीच निजामती कर्मचारी सरुवा गर्दा सबै भौगोलिक क्षेत्रको अनुभव दिलाउने र पूर्वअनुमाग योग्य हुने गरी व्यवस्था गर्न सहमति जुटेको छ ।

कर्मचारी सरुवा गर्दा अनिवार्य चक्रिय प्रणाली अबलम्वन गर्नुपर्ने सहमति भएको हो । यसअघि कर्मचारी सरुवामा यो प्रणाली लागु गरिएको थिएन । विगतमा पनि नेपालका जिल्लालाई भौगोलिक अवस्थाका आधारमा ‘क, ख, ग र घ’ मा विभाजन गरिएको थियो ।

‘क’ सबैभन्दा दुर्गम हो भने ‘घ’ सबैभन्दा सुगम जिल्ला हो। यसअघिसम्म ‘क’मा भएका कर्मचारी एकैपटक ‘घ’ अर्थात् सुगममा पुग्ने सम्भावना पनि थियो । त्यो समस्याको समाधान गर्न पनि चक्रिय प्रणालीको व्यवस्था गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

‘पूर्वानुमान र चक्रिय प्रणाली एकै पटक आउँछ । हामीकहाँ निजामतीको सरुवा समस्याका रूपमा छ’, मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले भने, ‘कर्मचारीलाई अब कहाँ सरुवा हुन्छ भन्ने थाहा हुँदैन । त्यो क्रममा उसको करिअर प्लानिङमै समस्या भएको छ । त्यस्तो समस्या हटाउन चक्रिय प्रणाली स्थापित गर्न खोजिएको हो । अब ‘क’ मा भएको कर्मचारी क्रमशः ख, ग र घ मा जान्छन् । यसले सहजतासँगै कर्मचारीलाई पनि यहाँ पुग्छु भन्ने थाहा हुन्छ ।’

यस्तै, अब निजामती कर्मचारीलाई एउटा कार्यालयमा दुई वर्ष पूरा नभई अर्को कार्यालयमा सरुवा नगर्ने गरिको व्यवस्था ल्याउने पनि सहमति भएको छ । तर, नेपाल परराष्ट्रअन्तर्गतका निजामती कर्मचारीको वैदेशिक नियोगहरूमा सरुवा सम्बन्धि व्यवस्था भने सोही सेवाको नियममा तोक्न सक्ने व्यवस्था गर्न सहमति जुटेको हो ।

तर, राजपत्रांकित विशिष्ठ र प्रथम श्रेणी वा सो सरहको निजामती कर्मचारीलाई सरकारको आवश्यकता अनुसार सरुवा गरिने सांसदबीच सहमति जुटेको हो । विशिष्ठ र प्रथम श्रेणी हकमा पनि दुई वर्षे अवधि राख्नुपर्ने बताएका थिए । तर, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अडान लिएपछि सांसदहरू पछि हटेका थिए ।

प्रतिक्रिया दिनुहोस्