Logo

Hello NEw

बाबुरामको १७ बुँदे राजनीतिक प्रतिवेदन : उपनिर्वाचन मत नेकपाको पक्षमा गए त्यसले निरंकुशता र फाँसीवाद ल्याउने



काठमाडौं, २८ कात्तिक । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मंसिर १४ मा हुने उपनिर्वाचन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको पक्षमा गए त्यसले निरंकुशता र फाँसीवादलाई प्रोत्साहन गर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको पार्टीको संघीय परिषद् बैठकमा भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा उपनिर्वाचन सत्तारूढ पार्टी नेकपाको जनमत नाप्ने ब्यारोमिटर पनि भएको जनाएको छ ।
यति धेरै नालायकी, भ्रष्टता र अकर्मण्यताका बाबजुद मतपरिणाम नेकपाकै पक्षमा देखिएमा त्यसले निरंकुशता र फाँसीवादलाई प्रोत्साहन गर्ने प्रतिवेदनमा भनिएको छ । एक संघीय निर्वाचन क्षेत्र, तीन प्रदेशसभा र रिक्त स्थानीय तहमा हुने उपनिर्वाचनमा समाजवादी पार्टीले पनि भाग लिएको भट्टराईले उल्लेख गरेका छन् ।

‘एक–यो पार्टी एकतापछिको पहिलो निर्वाचन हो । परिणाममा कुनै न कुनै मात्रामा एकताको प्रभाव झल्किनु पर्दछ । हारजित आफ्नो ठाउँमा होला, तर निर्वाचन परिचालन, मत सुधार र जित्ने अधिकतम् प्रयासका हिसाबले कुनै कसर बाँकी राख्नु हुँदैन,’ भट्टराईले भनेका छन् । उनले समाजवादी पार्टी तेस्रो पार्टी नभई विचारका आधारमा तेस्रो ध्रुव हुन चाहेको बताएका छन् ।

‘अझै पनि कांग्रेस– कम्युनिष्टजस्ता पुरानै दलमा जनमत अभिव्यक्त भइरहने हो भने तेस्रो ध्रुव र वैकल्पिक पार्टी निर्माणको अभियानमाथि प्रश्न उठ्ने हुन्छ। तसर्थ आसन्न उपनिर्वाचनलाई हाम्रो पार्टीले अत्यन्त महत्वपूर्ण संघर्षका रूपमा लिनु पर्दछ,’ प्रतिवेदनमा भनिएको छ ।

संविधान संशोधनको मुद्दामा भने जनताको साथ लिएर अघि बढ्नु पर्ने भट्टराईको सुझाव छ ।समाजवादी पार्टीले कांग्रेस, कम्युनिष्ट र राप्रपासँग पार्टी एकता हुन नसक्ने बताउँदै राजपा र जनमुक्ति पार्टीजस्ता शक्तिसँग भने निरन्तर प्रयास गर्नु पर्ने उल्लेख गरेको छ ।

BRB-Rajnitik-Pratibedan-Kartik-28

प्रतिक्रिया दिनुहोस्