Hello NEw
दस अर्बको भन्दा बढीको नक्कली भ्याट बिल छानबिन गरीदै
काठमाडौं, २८ कात्तिक । राजस्व अनुसन्धान विभागले दस अर्बको नक्कली भ्याट बिल खरिद–विक्रीमाथि अनुसन्धान सुरु गरेको छ। यसमध्ये खरिद–विक्रीमा संलग्न केही व्यापारिक फर्म र व्यक्तिमाथि मुद्दा दायर भइसकेको विभागले जनाएको छ।
अहिलेसम्म छ अर्ब रुपैयाँ बराबरको नक्कली भ्याट बिल बेच्ने व्यापारिक फर्म र ४५ जनाविरूद्ध कारबाही भइसकेको छ विभागले जनाएको छ ।नक्कली भ्याट बिल विक्री गर्नेमध्ये झन्डै सय वटा फर्म र व्यापारी छन् । राजस्व चुहावट रोक्न ९ महिना अघिबाट विभागले नक्कली भ्याटबिलमा अनुसन्धान थालेको थियो ।
नक्कली भ्याट बिल विक्रीमा सय फर्म तथा व्यापारी छन् भने किन्नेको संख्या आठ सयको हाराहारी छ। विक्रीमा प्रयोग भएका फर्म तथा व्यवसायी निम्नस्तरका छन्। विभागका अनुसार आर्थिक अवस्था न्यून भएका फर्मका नाममा नक्कली भ्याट बिल पनि विक्री भएका छन् ।
यसरी नक्कली भ्याट बिल खरिद गर्ने ६० वटा व्यापारिक फर्ममाथि हाल अनुसन्धान भइरहेको छ ।नक्कली भ्याट बिल खरिद गर्ने भने कहलिएकै साना, ठूला र मझौला फर्म तथा व्यक्ति छन् । राजस्व संकलन फितलो भएको अवस्थालाई लक्षित गर्दै सरकारले झन्डै दुई वर्षअघि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय गरेको थियो । त्यसअघि यो विभाग अर्थ मन्त्रालय मातहत थियो ।
प्रधानमन्त्री कार्यालय मातहत आएलगत्तै भन्सार चोरी पैठारी, राजस्व चुहावट, नक्कली भ्याट बिल र आयकर छलीमा विभागले आक्रामक कारबाही थालेको छ । सो कसूरमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१०) र (३) वमोजिम बिगो, बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद माग गर्दै विभागले मुद्दा दायर गर्ने गरेको छ।
