Hello NEw
अर्थतन्त्रको आकार मापन आधार वर्ष परिवर्तन गरीने

काठमाडौँ, २९ कात्तिक । सरकारले देशको अर्थतन्त्रको आकार मापन आधार वर्ष परिवर्तन गर्ने भएको छ । कुल गार्हस्थ्य उत्पादनका लागि हाल कायम गरिएको आर्थिक वर्ष २०५७/५८ को आधारमा अर्थतन्त्रको वास्तविक आकार आउन नसकेको निष्कर्ष निकाल्दै आधार वर्ष परिवर्तन गरीने भएको हो । अहिलेको आधार वर्ष पुरानो भएको र त्यसले अर्थतन्त्रका सबै विषय समेट्न नसकेकोले परिवर्तन गर्ने विषय उठेको हो ।
केन्द्रिय तथ्याङ्क विभागले अहिले २०५७/५८ लाई आधार वर्ष मानेर देशको समग्र अर्थतन्त्रको विभिन्न सूचकहरू तयार गर्छ । अर्थ मन्त्रालयले नयाँ आधार वर्ष तय गरेर सूचकाङ्क तयार गर्ने विषयमा विभागलाई आवश्यक तयारी अगाडि बढाउन निर्देशन दिइसकेको छ । तथ्याङ्क विभागले पछिल्लो पटक प्रदेशस्तरमा गरेको राष्ट्रिय लेखा तथ्याङ्कका लागि पनि २०५७/५८ लाई नै आधार वर्ष मानेको थियो । आधार वर्षकै आधारमा विभागले आर्थिक वृद्धिदरलगायत अर्थतन्त्रसँग सम्बन्धित सूचकको तुलनात्मक अध्ययन विश्लेषण गर्छ ।
विभागले आधार वर्ष तयार गर्दा अहिले अर्थतन्त्रलाई १७ वटा भागमा वर्गीकरण गरेकोमा अब भने २१ वटा भागमा वर्गीकरण गर्नेछ । खासगरी यातायात, सेवा क्षेत्र, सरकारअन्तर्गतको स्वास्थ्य, शिक्षालगायतका विषय अबको सूचकमा थप गर्ने तयारी छ । विभागले अहिले सन् १९९३ को सिस्टम अपरेसन एकाउन्टमार्फत यस्ता सूचकाङ्क अद्यावधिक गर्दै आएको छ । अब भने सन् २००८ मा परिष्कृत प्रणाली प्रयोग हुने विभागले जनाएको छ ।
