Logo

Hello NEw

लोक सेवा विशेषः बहुस्तरीय शासन र यस अवधारणाको विकास हुनुका कारणहरु



बहुस्तरीय शासनको परिचय दिंदै शासन सम्बन्धी यस अवधारणाको विकास हुनुका कारणहरु उल्लेख गर्नुहोस् । (६+४)= १०

बहुस्तरीय शासन; शासकीय प्रक्रियामा राष्टिय, उपराष्ट्रिय तथा परराष्ट्रिय तहका सार्वजनिक, निजी तथा गैर सरकारी क्षेत्रका पात्रहरुको संलग्नता रहेको अवस्थालाई नै बहुुस्तरीय शासन भनिन्छ । यस्तो संलग्नता ती पात्रहरुका बीचमा नियमित रुपमा विचार विमर्श, वार्ता तथा सम्झौता र सहकार्य तथा साझेदारी मार्फत् कायम हुने गर्दछ । शासकीय तह र तिनका पात्रहरु अस्तित्वका हिसावले स्वतन्त्र तर कार्यगत रुपमा अन्तर निर्भर हुन्छन् । तिनीहरुका बीचमा अधिकार र अन्तरसम्बन्धको स्थीर एवं कठोर सोपान हुदैन ।

बहुस्तरीय शासनमा सार्वजनिक नीति निर्माण, कार्यान्वयन र अनुगमन प्रक्रियामा स्थानीय स्तरदेखि विश्वस्तरसम्मका सार्वजनिक,निजी तथा गैर सरकारी क्षेत्रका विभिन्न संस्था, समूह र सञ्जालहरुको संलग्नता रहन्छ । यसमा राष्ट्रिय सरकारबाट शक्ति र कामको माथितर्फ पराराष्ट्रिय तहमा, तलतर्फ उपराष्ट्रिय तहहरुमा र बाहिरतर्फ निजीक्षेत्र र नागरिक समाजमा हस्तान्तरण गरी यस्ता तह र क्षेत्रका बीचमा सहयोगात्मक सम्बन्ध र सहजिम्मेवारी कायम गरिएको हुन्छ ।

यसरी शासकीय प्रबन्धको जिम्मेवारी र कार्य ठाडो र क्षितिजीय दुबै दिशाका विभिन्न तहवा स्तरहरुबीच बाडफाँड हुने हुँदा यसलाई बहुस्तरीय शासन भनिएको हो । यसमा शासकीय शक्तिको ठाडो विभाजन भौगोलिक आधारमा र क्षीतिजीय विभाजन कार्य क्षेत्रगत आधारमा गरिएको हुन्छ । बहुस्तरीय शासनलाई बहुकेन्द्रीय, बहुतहीय वा बहुदृष्टिकोणीय शासनसमेत भन्ने गरिन्छ ।

बहुस्तारीय शासन अवधारणाको विकास युरोपियन युनियनको स्थापनापछि भएको हो । सन् १९९२ मा गेरी मार्कस्ले युरोपियनयुनियन स्थापनाको आधारको रुपमा रहेको म्याष्ट्रिच सन्धिको अध्ययन गर्ने क्रममा युरोपियन युनियनका निर्णय–निर्माणका आयामहरुलाई बुझ्न बहुस्तरीय शासनको अवधारणा उपयोगी हुने विचार अघि सारेपछि यसले महत्व पाउन थालेको हो ।

विभिन्न खाले समस्या, चुनौती र जटिलताहरुले जेलिएको आजको अन्तरनिर्भर विश्वमा राज्य एक्लैले शासनका सबै प्रबन्धहरु गर्न सक्दैन । यसका लागि उसले विभिन्न तह र क्षेत्रका पात्रहरुसँग साझेदारी र सहकार्य गर्नै पर्ने हुन्छ । त्यसकारण बहुस्तरीय शासन आजको शासकीय प्रबन्धको अनिवार्य आवश्यकता बन्न पुगेको छ ।

बहुस्तरीय शासन अवधारणाको विकास हुनुका कारणहरु ;

बहुस्तरीय शासन अवधारणाको विकास मुलतः विश्वव्यापीकरण र आर्थिक उदारीकरणको अवलम्बनबाट सिर्जित विश्व आर्थिक अन्तर्निर्भरता र आन्तरिक अर्थतन्त्रमा निजी तथा गैर सरकारी क्षेत्रको भूमिकामा भएको वृद्धिले गर्दा नै भएको हो । यस बाहेक बहुस्तरीय शासनको मान्यताले थप महत्व पाउनुका पछाडि देहाय अनुसारका कारणहरु रहेका छन्;

– उदार एवं खुला अर्थ नीतिको अभ्याससँगै राज्यको भूमिकामा परिवर्तन आउनु,
– शासनमा निजी क्षेत्र र नागरिक समाजको प्रभाव र भूमिका बढ्नु,
– शासनको विकेन्द्रित एवं जनमुखी प्रणालीको बढी अभ्यास हुनु,
– अन्तर्राष्ट्रिय सम्बन्धको विकास तथा विस्तार हुनु,
– क्षेत्रीय तथा विश्वस्तरका अन्तर्राष्ट्रिय संगठनहरुको विस्तार हुनु,
– अनौपचारिक शासनको अवधारणाको विकास हुनु,
– निर्णय निर्माणको जिम्मेवारी जनप्रतिनिधिमूलक संस्थाभित्र मात्र सीमित नरहनु,
– विभिन्न खाले सार्वजनिक तथा निजी नेटवर्कहरुको विकास हुनु,
– विश्व राजनीति, अर्थतन्त्र, वातावरण, स्वास्थ्य, शान्ति सुरक्षालगायतका क्षेत्रहरुमा दिन प्रतिदिन बढ्दै गएका जटिलतम समस्याहरुको राज्यएक्लैले सामना गर्न असम्भव हुनु ।

अन्त्यमा ; आजको जटिलतम् परिस्थितिमा मुलुकको आर्थिक समाजिक समृद्धि हासिल गर्न राज्यले विभिन्न तह र क्षेत्रका पात्रहरुसंग मिलेर काम गर्नुपर्ने हुन्छ । यसका लागि शासनलाई विगतको राज्य केन्द्रीत सोपानिक सम्बन्ध र औपचारिक नियममा आधारित शैलीबाट सहभागिता, वार्ता तथा सम्झौता र सहकार्यको शैलीमा रुपान्तरण गरी बहुस्तरीय शासनको अवलम्ब नगर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्