Hello NEw
स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवाले विज्ञापन गर्ने तयारी
काठमाडौँ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको रित्त दरबन्दीको विवरण र पदपूर्तिका लागि माग फारम भरे पठाउन पत्रचार गरेको छ । रित्त दरबन्दीमा पदपूर्तिका लागि नयाँ भर्ना खोल्न मन्त्रालयले विवरण माग गरेको हो ।
कर्मचारी समायोजनपछि स्थानीय तहका सबै रिक्त दरबन्दी पदपूर्ति गर्न विवरण माग गरिएको हो । स्थानीय तहको सेवा सञ्चालनका लागि बाँकी रिक्त पदहरूमा शीघ्र पदपूर्ति गर्नुपर्ने अवस्था रहेको भन्दै सङ्घीय सरकारले पदको विवरणसहित स्थानीय तहलाई माग फाराम पठाउन परिपत्र जारी गरेको हो ।
प्रदेश लोक सेवा आयोगको गठन नभएसम्म स्थानीय तह रिक्त पदहरूमा पदपूर्ति गर्न सम्बन्धित स्थानीय तहले मन्त्रालयमार्फत लोकसेवा आयोगमा माग पठाउनु पर्ने कर्मचारी समायोजन ऐन, २०७५ मा रहेको व्यवस्था अनुसार नै माग गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
आइतबार सचिव स्तरीय निर्णय गर्दै साबिक स्थानीय सेवामा नियुक्ति भई कार्यरत र समायोजित कर्मचारीको विवरण यकिन गरी रिक्त हुन आउने पदहरूमा फर्मेटसहित माग फाराम पठाउन भनेको छ ।
यससँगै छिट्टै स्थानीय तहमा ठुलो सङ्ख्यामा लोकसेवा मार्फत कर्मचारी माग हुने सम्भावना बढेर गएको मन्त्रालयका एक सहसचिवले बताए ।
