Hello NEw
अनिवार्य विज्ञान विषयमा अब प्रविधि पनि थपिँदै
काठमाडौँ, ३ मङ्सिर । विद्यालय तहमा अध्यापन गराइदै आएको अनिवार्य विज्ञान विषयमा अब प्रविधि पनि थप गरिएको छ । आगामी शैक्षिक सत्र २०७७ सालबाट विज्ञान तथा प्रविधि विषय अध्यापन गराइने छ ।
विश्वमा विकास हुँदै गएको प्रविधिबारे विद्यार्थीलाई सिकाउने उद्देश्यले प्रविधि विषय थप गरिएको हो । १९९० सालबाट नेपालमा प्रवेशिका परीक्षाको थालनी भएको हो र त्यो बेला अतिरिक्त विषयका रूपमा साधारण विज्ञान विषय समावेश गरिएको थियो । नयाँ शिक्षा लागू भएपछि अनिवार्य विज्ञान विषय पाठ्यक्रममा समावेश गरिएको थियो र २०३१ सालबाट सो विषय प्रवेशिका परीक्षामा समावेश भएको थियो ।
आगामी शैक्षिक सत्र २०७७ सालबाट कक्षा १ र कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू तथा कक्षा ६ मा नयाँ पाठ्यक्रम परीक्षणका रूपमा लागू गरिँदै छ । कक्षा ४ देखि १० सम्म विज्ञान तथा प्रविधि विषयको अध्यापन गरिने छ । आगामी २०८० सालसम्ममा सबै तहमा नयाँ पाठ्यक्रम लागू भइसक्ने छ ।
