Hello NEw
राजस्व छल्ने २१ जना विरुद्ध मुद्दा
काठमाडौँ, १० मङ्सिर । राजस्व चुहावट गरेको अभियोगमा आइतबार काठमाडौं जिल्ला अदालतमा २१ जना विरुद्ध मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले नक्कली बिल प्रयोग गरी एक अर्ब रुपियाँभन्दा धेरै राजस्व चुहावत गरेको भन्दै दुई मुख्य व्यक्तिसहित, चार्टर्ड एकाउन्टेन्ट, लेखापरीक्षक र कर सहयोगीसमेतलाई प्रतिवादी बनाएको छ ।

विभागले एक अर्ब उनान्तीस करोड छत्तीस लाख रुपियाँ राजस्व चुहावट गरेको मुद्दामा ललितपुरको धोबिघाट बस्ने विनोद अग्रवाल र ललितपुरको हात्तीवन बस्ने विकास अग्रवाललाई मुख्य योजनाकार भएको दाबी गरिएको छ । विभागको अनुसन्धानमा उनीहरूले निम्न आर्थिक अवस्था भएका मजदुरको नाममा फर्म दर्ता गर्ने र ती फर्म मार्फत नक्कली भ्याट बिल प्रयोग गर्ने गरेको खुलेको जनाइएको छ । उनीहरूले विभिन्न व्यक्तिका नाममा १३ वटा फर्म तथा कम्पनी दर्ता गरेको पाइएको छ । त्यस्ता फर्म तथा कम्पनीमा आर्यन ट्रेडिङ कन्सर्न, अनामिका ट्रेडर्स, अमिशा ट्रेडिङ कन्सर्न, प्रसुमा सप्लायर्स प्रा.लि., स्मारिका जनरल सप्लायर्स, नाइस ट्रेडिङ, जेनिशा ट्रेड एन्ड सप्लायर्स, सुशीम ट्रेड इन्टरप्राइजेज प्रा.लि., सीमस ट्रेड इन्टरनेसनल, निशिला ट्रेडिङ, अविन ट्रेडिङ, किशा ट्रेड इन्टरप्राईजेज, श्रीअन्तु जनरल सप्लायर्स छन् ।
विभागका अनुसार यी फर्म तथा कम्पनी मार्फत विभिन्न व्यक्ति र फर्मका नाममा वास्तविक रूपमा मालवस्तु खरिद बिक्री नै नगर्ने तर झुट्टा तथा नक्कली भ्याट बिल मात्र बिक्री गर्ने गरेको पाइएको थियो । त्यस्ता फर्मबाट जारी भएका मूअकर बिजकमा उल्लेखित मूअकर रकम सरकारको राजस्व खातामा नबुझाई राजस्व छली गरेको समेत अभियोग पत्रमा उल्लेख छ ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ र दफा ४ को उपदफा (क) र (ख) बमोजिम यस्तो कार्य कसुरजन्य रहेको भन्दै सो रकमलाई बिगो कायम गरिएको छ । मुख्य अभियुक्तसहित २१ जनालाई कसुरको मात्रा अनुसार बिगोबमोजिमको दोब्बरसम्म सजाय र तीन वर्षसम्मको कैद माग गरिएको छ । त्यस्तै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २ (छ १) बमोजिम बिगो कायम गरी निज प्रतिवादीबाट असुलउपर गर्न र निजहरूलाई कसुरको मात्रा हेरी अदालतमा मुद्दा दायर गरेको हो ।
