Logo

सामाजिक संरक्षणको अवधारणा र महत्व प्रकाश पार्दै विकाससँगको अन्तरसम्बन्धबारे विवेचना प्रस्तुत गर्नुहोस् ।



सामाजिक संरक्षणको अवधारणा र महत्व प्रकाश पार्दै विकाससँगको अन्तरसम्बन्धको छोटो विवेचना प्रस्तुत गर्नुहोस् । (३+४+३ = १०)

सामाजिक संरक्षण;
गरिब र जोखिममा रहेका व्यक्ति समुदायको संरक्षण, सीमान्तीकृत वर्गको सामाजिक मान र अधिकारको सुदृढीकरणमार्फत गरिब, संकटापन्न र सीमान्तीकृत वर्गको सामाजिक–आर्थिक संकट न्यूनीकरणको उद्देश्यका लागि आय र उपभोग सुनिश्चित गर्ने सरकारी र निजी प्रयासहरूलाई सामाजिक संरक्षण भनिन्छ ।

नारायणप्रसाद दुवाडी, सहसचिव (नेपाल सरकार)

मानवअधिकारको विश्वव्यापी घोषणापत्रका अनुसार सामाजिक सुरक्षालाई मानवअधिकारका रूपमा परिभाषित गरिएको पाइन्छ । सामाजिक संरक्षणको कार्यक्रमको गुणस्तर, फैलावट र मात्रा मुलुकको आर्थिक–सामाजिक अवस्था र अर्थ–राजनीतिमा निर्भर गर्दछ । एसियाका करिब ६० प्रतिशत महिलाहरू पर्याप्त सामाजिक संरक्षणको सुविधाबाट वञ्चित रहेको तथ्यांकले देखाएको छ । पर्याप्त सामाजिक संरक्षणको सुविधाका लागि मुलुकहरूले आफ्नो कुल गार्हस्थ उत्पादनको करिब ०.८१ प्रतिशत लगानी गर्नुपर्ने मान्यता रहेको पाइन्छ ।

सामाजिक संरक्षणअन्तर्गत देहायका विषयवस्तुलाई अनिवार्य ठानिन्छ ;
– बालबालिकालाई आधारभूत आयआर्जनको सुरक्षा,
– पर्याप्त आयआर्जन गर्न नसक्ने वयस्कहरूलाई आधारभूत आयआर्जनको सुरक्षा,
– वृद्धहरूको आयआर्जनमा सुरक्षा,
– पोषण, शिक्षा र अत्यावश्यक वस्तु र सेवाको उपलब्धता,
– सबैका लागि आधारभूत स्वास्थ्य सुविधा,
– बालबालिका, महिला, अशक्त एवं अपांगता भएका व्यक्तिहरूका लागि विशेष व्यवस्था ।

सामाजिक संरक्षणको महत्व;
सामाजिक संरक्षण एक बृहत् अवधारणा हो । सामाजिक सुरक्षा बिमा व्यावसायिक स्वास्थ्य र संरक्षण विशेष कार्यक्रमलगायतका विभिन्न तरिकाबाट कार्यान्वयन गर्ने गरिन्छ । मूलभूत रूपमा सामाजिक संरक्षणका देहायका चारवटा कार्यात्मक उद्देश्यहरू हुन्छन् ।
– Protective: providing relief from deprivation
– Preventative: averting deprivation
– Promotive: enhancing incomes and capabilities
– Transformative: social equity and inclusion, empowerment and rights

खासगरी न्यून आय भएका अतिकम विकसित र विकासोन्मुख मुलुकमा सामाजिक संरक्षणको मुद्दा राजनीतिक र विकासको केन्द्रमा रहेको हुन्छ । मुलुकको समग्र विकासमा सामाजिक संरक्षणको महत्व र प्रभाव देहायबमोजिम रहेको पाइन्छ ।
– गरिबी र सामाजिक बहिष्करणको न्यूनीकरण,
– आयमा रहेको असमानता घटाउन,
– मानव पुँजी विकास गर्न,
– भोकमरी न्यूनीकरण गर्न र खाद्य सुरक्षामा योगदान पु¥याउन,
– शैक्षिक विकासमा टेवा पु¥याउन,
– स्वास्थ्य सेवा र गुणस्तरको विकास गर्न,
– सम्मानजनक रोजगारी र समावेशी आर्थिक वृद्धि हासिल गर्न,
– रोजगारी प्रवद्र्धन गर्न ।

विकाससँगको अन्तरसम्बन्धको विवेचना;
सामाजिक संरक्षणले राज्य र निजी क्षेत्रसमेतको लगानीको माग गर्दछ । नगद हस्तान्तरण होस् वा बिमा वा अन्य संरक्षणकारी क्रियाकलाप होस्, सबैमा अतिरिक्त लगानीको आवश्यकता पर्दछ । उल्लेख्य संख्यामा रहेका, तर उत्पादकत्वका हिसाबले कमजोर अवस्थामा रहेका जनशक्तिलाई विकास प्रक्रियाको सबै तहमा सार्थक सहभागी गराउने प्रयोजनले पनि सामाजिक सुरक्षामा गरिने खर्च तर्कसंगत हुन्छ । राष्ट्रिय भाव र अपनत्वको निर्माणमा सामाजिक सुरक्षाले महŒवपूर्ण अर्थ राख्दछ । विकासले अपेक्षा गरेको परिणाम वा प्रभाव समावेशी र दिगो समृद्धि हो । दिगो विकासका हरेक लक्ष्यमा सामाजिक सुरक्षाको चासो अन्तरघुलित भएको पाइन्छ । तसर्थ सामाजिक संरक्षण समग्र विकास प्रक्रियाको साध्य पनि हो । अझ राजनीतिक दृष्टिकोणबाट हेर्दा त सामाजिक संरक्षण लोकतान्त्रिक पद्धतिको मर्म पनि हो ।

विकासको मोडल वा अर्थ;

राजनीतिले अख्तियार गरेको नीतिका आधारमा सामाजिक सुरक्षाप्रतिको दृष्टिकोण फरक–फरक हुन सक्दछ । संरक्षणले सकारात्मक विभेदको माध्यमबाट समानता स्थापित गर्ने मान्यता राख्दछ । गरिब मुलुकहरू सामाजिक संरक्षणको दुष्चक्रमा पर्न सक्ने अवस्था भने रहन्छ । यसै पनि बहुसंख्यक जनता गरिबी र अभावमा रहेका हुने वा राज्यको विशेष संरक्षण र सुविधाको अपेक्षा गर्ने अवस्थामा रहेका हुने जहाँ आर्थिक वृद्धि र अर्थतन्त्रको आकार र गुणस्तर पनि सानो र कमजोर हुन्छ । त्यस्ता मुलुकहरूमा सामाजिक संरक्षण र उत्पादकत्व अभिवृद्धिबीचको सन्तुलन चुनौतीपूर्ण हुन सक्दछ । यसका लागि सामाजिक विकासका नीति र कार्यक्रमहरूको सन्तुलित र दिगो कार्यान्वयन अत्यन्त जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्