Logo

Hello NEw

छिमेकी मुलुकसँग हुने वार्ता तथा सम्झौता प्रभावकारी तुल्याउन नसक्नुका कारण र क्षमता अभिवृद्धि गर्ने उपायहरु



प्रश्नः छिमेकी मुलुकसँग हुने वार्ता तथा सम्झौता प्रभावकारी तुल्याउन नसक्नुका कारण र वार्ता तथा सम्झौता क्षमता अभिवृद्धि गर्ने उपायहरु लेख्नुहोस् । (५+५=१०)

दुई भन्दा बढि व्यक्ति, समूह, संगठन वा राज्य वीच आपसी हित प्रवर्द्धनका एवं सम्बन्ध सुधार र विवाद निरुपणका लागि गरिने छलफल, अन्तरक्रियालाई वार्ता भनिन्छ । वार्ता एक व्यवस्थित, चरणवद्ध, एजेण्डामा आधारित, औपचारिक द्विपक्षीय वा वहुपक्षीय सौदावाजी हो । किसिम, प्रकृति, स्वभाव र तरिका अनुसार वार्ता विभिन्न किसिमका हुन्छन । वार्ताको परिणामलाई लिपिवद्ध गर्ने कार्य सम्झौता हो ।

छिमेकी मुलुकसँग हुने विभिन्न आर्थिक सामाजिक सम्बन्धलाई समय सापेक्ष रुपमा द्विपक्षीय हितमा प्रवर्द्धन गर्ने हेतुले नै विभिन्न सम्झौताहरु गर्ने गरिन्छ । यस्ता सम्झौताबाट आफूले फाइदा प्राप्त गर्नु दुवै मुलुकको उद्देश्य हुने भए तापनि वार्ताका क्रममा अपनाइने विभिन्न रणनीति, तत्कालीन परिस्थिति र परिवेश तथा राष्ट्रहरुको आफ्नो सबल र दुर्बल पक्षमा सम्झौताको नतिजा भर पर्दछ ।

प्रभावकारी वार्ता व्यवस्थापन हुन नसक्नुका कारणहरु;
१. मुलुकको राजनीतिक वातावरण सुमधुर नहुनु
२. राजनीतिक शक्तिहरुका वीच राष्ट्रिय हित र चासोको विषयमा पनि साझा अवधारणा बन्न नसक्नु
३. राजनीतिक दाउपेच र संकिर्णता हावी हुनु
४. आर्थिक,सामाजिक, भौगोलिक तथा सामरिक रुपले नेपालभन्दा ठूला र शक्तिशाली मुलुकसँग पारस्परिकता कायम राख्न नसक्नु
५. गरिबी र पछ्यौटेपनका कारण वार्ताकार र नेतृत्वमा हिनभावना रहनु
६. प्रशासनिक विज्ञता र व्यवसायिकताको कमी हुनु
७. वार्ता गर्ने स्पष्ट अख्तियार वा अधिकार लिएर प्रस्तुत हुन नसक्नु
८. सम्बद्ध सम्पूर्ण सूचनाका साथ यथेष्ट गृहकार्य नगरिनु
९. समयको उपयोग सही ढंगले नहुनु
१०. कुन रणनीति अपनाउने हो सो प्रष्ट नहुनु
११. पूर्वतयारीको क्रममा वार्ता गरिने मुलुकको चासो सबलता र कमजोरी विश्लेषण नगरिनु
१२. पदेन वार्ताकारमा सीप सूचना भाषिक विज्ञताको अभाव रहनु
१३. Best Alternative to a Negotiated Agreement (BATNA) र Worse Alternative to Negotiated Agreement (WATNA) को तयारी नगरिनु
१४. नागरिक समाज राष्ट्रिय हित र चासो प्रति सजग नरहनु

नेपालको सन्दर्भमा वाणिज्य क्षेत्रमा होस वा उद्योग वा पूर्वाधार विकास, जलशक्तिको बाँडफाँड होस वा द्विपक्षीय सीमा वा सुरक्षा मामिला होस हरेक सम्झौता कुनै न कुनै रुपमा आलोचित हुने गरेको पाइन्छ । नेपालको तर्फबाट हुने द्विपक्षीय वार्ताबाट नेपाल र नेपालीले अपैक्षा गरे बमोजिमको नतिजा प्राप्त गर्नेगरी प्रभावकारी वार्ता व्यवस्थापन गर्न देहायका उपायहरु अवलम्बन गर्नु पर्दछ ।

सफल वार्ता व्यवस्थापनका उपयाहरु;
राष्ट्रिय हित र चासोको सम्बोधन हुनेगरी वार्तालाई सफल बनाउन देहायका उपायहरु अवलम्बन गर्नु जरुरी हुन्छ ।
१. वार्ता गरी सम्झौतामा पुग्नुपर्ने विषयमा मुलुकभित्र राजनीति शक्तिहरुवीच साझा अवधारणा र सहमति निर्माण गर्ने
२. प्रशासनिक विज्ञता र विशेषज्ञताको विकास गर्ने
३. वार्ता सीप तथा क्षमता विकासको मानक तयार गरी लागू गर्ने
४. वार्ताकारको विशेषज्ञतामा जोड दिने
५. प्रयाप्त गृहकार्य र अभ्यास गर्ने
६. विज्ञहरुसँगको परामर्श बढाउने
७. वार्ताकारलाई अख्तियारी, सूचना, तालिम र रणनीतिले युक्त बनाउने
८. जनधारणा र चासो संकलन गरी विश्लेषण गर्ने एवं पृष्ठपोषण लिने
९. सर्वोत्तम र खराब विकल्पको पूर्वआँकलन गर्ने
१०. वार्ता गरिने पक्षको सबल र दुर्वल पक्षमा ध्यान दिने
११. समयको व्यवस्थापन एवं सहि क्रममा उपयोग गर्ने

राजनीतिक नेतृत्व र उच्च प्रशासकमा राष्ट्रप्रतिको जिम्मेवारी, जनताप्रतिको उत्तरदायित्व र पेशागत विशिष्टिकरणलाई आत्मसात् गर्नु सफल वार्ताको पूर्वशर्त हो । राष्ट्रिय हित र चासो प्रतिकूलको अवस्थाको प्रतिरोध गर्ने सक्ने गरी राज्यको शक्ति सुदृढ गर्नु पनि उत्तिकै जरुरी हुन्छ । साथै प्रशासनिक विज्ञता र विशिष्टीकरणको माध्यमबाट उपयुक्त सीप र कौशलका साथ रणनीतिको अख्तियार गर्न सकेमा द्विपक्षीय वार्ता र सम्झौतालाई आलोचनामुक्त तुल्याई राष्ट्र हितमा उपयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्