Logo

Hello NEw

धनगढीमा एकैसाथ ११ स्वास्थ्य केन्द्र बन्दै



धनगढी, १६ मंसिर । धनगढी उपमहानगरपालिकामा एकैसाथ ११ वटा स्वास्थ्य केन्द्र निर्माण भइरहेका छन् । उपमहानगरका विभिन्न वडामा स्वास्थ्य केन्द्र निर्माण भइरहेका हुन् ।
हरेक वडामा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ स्वास्थ्य भवन निर्माण भइरहेको उपमहानगरले जनाएको छ । ११ वटा स्वास्थ्य भवन साढे ४ करोड लागतमा उपमहानगरकै बजेटमा निर्माण हुँदैछन् ।

उपमहागर भए पनि सबै वडामा सहजै स्वास्थ्य पहुँच पुग्न सकेको छैन् । साविक धनगढी नगरपालिका र उर्मा, फूलबारी गाविस मिलाएर धनगढीलाई उपमहानगर बनाएको हो । उपमहानगर बनाए पनि ग्रामिण बस्तीका नागरिकले स्वास्थ्य सेवा लिन धनगढी नै पुग्नुपर्ने बाध्यता छ ।

उपमहानगरका वडा नम्बर ३, ५, ७, ८, ९, ११ मा स्वास्थ्य भवन निर्माण भइरहेका छन् । यस्तै १३, १४, १५, १७ र १८ मा पनि स्वास्थ्य केन्द्रका लागि भवन निर्माण सुरु गरेको हो । ती वडामा भवन निर्माणका लागि एसइ कन्ट्रक्सन प्रालि ठेक्का पाएको छ । भवन निर्माण अवधि १५ महिना राखेको छ । १५ महिनापछि उपमहानगरलाई भवन हस्तान्तरण हुने कार्याक्रम छ ।

उपमहानगरसँग भएको सम्झौता अनुसार १ हजार ४ सय स्क्वायर फिटको १ तल्ले ११ कोठे भवन भवन निर्माण हुने छन् । डिजाइन तयार ४ तला सम्म निर्माण गर्न सक्ने गरी बनाएको इन्जिनियर ओझाको भनाइ छ । ६७ लाख लागत अनुमान गरेको भवनका लागि ४० लाखमा निर्माण पक्ष र उपमहानगर विच ठेक्का सम्झौता भएको छ ।

वडा नं. १, २ र ४ उपमहाननगरको प्रमुख सहरी केन्द्र पर्ने भएकाले यहाँ स्वास्थ्य केन्द्र आवश्यक नभएको जनाएको छ । यी वडालाई सेवा पुग्ने सेती प्रादेशिक अस्पताल रहेको छ । माथिका यी वडाबाहेक अन्य वडामा स्वास्थ्य सेवा पुगिसकेको उपमहानगरले जनाएको छ । उपमहानगरको नीति तथा कार्यक्रम तथा समग्र सरकारको सुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नगर स्वास्थ्य भवन निर्माणक काम अघि बढाएको हो।उपमहानगरका १९ वडामा अझै पनि कतिपय वडामा पूर्वाधार नहुँदा स्वास्थ्य सेवाबाट बञ्‍चित रहनुपर्ने अवस्था यथावत रहेको छ।

खबर अन्नपूर्णले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्