Hello NEw
आर्थिक कुटनीति, सफलताका पूर्वशर्त, चुनौती र सामनाका उपायहरु
आर्थिक कुटनीति भनेको के हो ? सफल आर्थिक कुटनीतिका पूर्वशर्त ,चुनौती र चुनौती सामना गर्ने उपायहरु उल्लेख गर्नुहोस् ।
आर्थिक कुटनीति ;
मुलुकको आर्थिक विकासका लागि अर्थतन्त्रका सम्भावित क्षेत्रहरुमा द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय सम्बन्धको व्यवस्थापन मार्फत विश्वगतसँगको सम्पर्क र प्रभावकारी साझेदारी गर्ने राष्ट्रिय क्षमतालाई आर्थिक कुटनीति भनिन्छ । अन्तरराष्ट्रिय व्यापारको विस्तार र विकास गर्ने क्षेत्रबाट यो अवधारणाको शुरुवात भएको पाइन्छ । वाह्य लगानी, वित्तीय प्रवाह, सहायता, द्विपक्षीय एवं बहुपक्षीय आर्थिक सम्झौता र प्रविधिको आदान प्रदान आर्थिक कुटनीतिका मुख्य कार्यक्षेत्रहरु हुन ।
आर्थिक कुटनीतिका मुख्य विशेषताहरु निम्न बमोजिम रहेका छन्,
– राष्ट्रिय स्वार्थ हित र चासो प्रवर्द्धन गर्ने गरी नीति पैरवी
– सम्भावित लाभका क्षेत्र पहिचान
– सम्ब्नध राखिने मुलुकको आर्थिक अवस्था र सम्भावित साझेदारीको क्षेत्रको अध्ययन
– क्षेत्रीय तथा अन्तरराष्ट्रिय बजारको प्रभाव मूल्यांकन
– निजिक्षेत्रको क्षमता र संलग्ननता
– व्यपार र अर्थशास्त्र सम्बन्धी वार्ता
– कुटनीतिक क्षमताको विकास
– राष्ट्रिय साख र गरिमाको प्रवर्द्धन
सफल आर्थिक कुटनीतिका पूर्वशर्त;
आर्थिक कुटनीतिका दुईवटा आयाम हुन्छन् । अर्थतन्त्रको लागि कुटनीति र कुटनीतिको लागि अर्थत्नत्र । वाह्य राज्य र गैरराज्य क्षेत्रसँगको निरन्तरको सम्बाद वार्ता लबिग समूहीकरण दबाव छलफल आदिको माध्यमबाट मुलुकको आर्थिक चासो खासगरी रणनीतिक चासो सिद्ध गरी राष्ट्रिय हित प्रवर्द्धन गर्नु आर्थिक कुटनीतिको मुख्य उद्देश्य हो । शीतयुद्धको समाप्तिसँग विश्व कुटनीति सामरिक वा राजनीतिक मामिला अर्थतन्त्र र आर्थिक चासो तर्फ मोडिइसकेकाले त्यसपछिको कुटनीति मुलत आर्थिक कुटनीति नै हो ।
वैदेशिक सहायता प्राप्त गर्ने मुलुकहरुले सहायता छनोट र प्राथमिकीकरण गर्नु दिएको होइन चाहिएको क्षेत्रमा लगानी र सम्बन्ध विस्तार गर्नु आर्थिक कुटनीतिको व्यवहारिक कार्यक्षेत्र हुन । तसर्थ आर्थिक कुटनीतिको सफलता परम्परागत परराष्ट्र सेवा वा कुटनैतिक सम्बन्धबाट मात्र सम्भव छैन । आर्थिक कुटनीतिको सफलता मुलुकको वैदेशिक व्यपार वैदेशिक सहायताको प्रभावकारीता राष्ट्रिय अर्थतन्त्रको अवस्था र मुलुक र जनताको आर्थिक समृद्धिसँग जोडेर हेरिनु पर्दछ ।
सफल आर्थिक कुटनीतिका लागि निम्न बमोजिमका तत्वहरु अपरिहार्य हुन्छन्,
– कुटनैतिक कर्मचारीतन्त्रको प्राविधिक क्षमता
– निजि क्षेत्रको संलग्ननता
– वार्ता सीप र क्षमताको विकास
– राष्ट्रिय अर्थत्नत्रको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभको क्षेत्रको पहिचान
– राष्ट्रिय प्राथमिकताको स्पष्टता
– लगानीको सुरक्षित वातावरण
– उपयुक्त प्रविधिको विस्तार
– राजनैतिक स्थिरता र शान्तिपूर्ण वातावरण
नेपालको आर्थिक कुटनीतिका चुनौतीहरु;
आर्थिक कुटनीति बहुआयामिक अवधारणा पनि हो । मुलुको समग्र अवस्था र हैसियत आर्थिक कुटनीतिमा झल्कनु स्वभाविक हुन्छ ।
नेपालको सन्दर्भमा आर्थिक कुटनीतिको अपेक्षित विकासमा देहायका मुख्य चुनौतीहरु रहेका छन्;
– नेतृत्ववीच साझा बुझाई सहितको नीतिको निरन्तरता र यसको लागि राजनीतिक प्रतिवद्धता
– राष्ट्रको आर्थिक आयामहरु र नेपाल मिसनहरुवीचको कार्यात्मक सम्बन्ध
– कुटनैतिक सेवाको जागिरको परिधी र आर्थिक कुटनीतिको वृहद कार्यक्षेत्रवीचको सामञ्जस्यता
– कुटनीतिक मिसन र मिसन प्रमुखहरुको नियुक्तिमा व्यवसायिकताको प्रवर्द्धन
– जनशक्तिको क्षमता विकासमा लगानी
– प्रयाप्त अध्ययन र गृहकार्यमा कमी
– सुरक्षित लगानीको प्रत्याभुति
– संक्रमणकालीन राजनीतिक अवस्था र द्वन्द्व व्यवस्थापन
– सुशासन र सदाचारिता प्रवर्द्धन
प्रभावकारी आर्थिक कुटनीतिका उपायहरु;
वैदेशिक सहायता र लगानी एवं अन्तरराष्ट्रिय सम्बन्ध र साझेदारी विना अवको आर्थिक विकास कल्पना गर्न नसकिने हुँदा आर्थिक कुटनीतिलाई साँचो अर्थमा राष्ट्रिय अर्थतन्त्रको गुणात्मक र परिमाणात्मक विस्तार र विकासमा उपयोग गरिनु पर्दछ ।
यसका लागि निम्न बमोजिमका उपयाहरु अवलम्बन गर्न सकिन्छ ।
– राजनीतिक र व्यवस्थापकीय रुपमा उच्च प्राथमिकता दिने
– राष्ट्रिय रणनीति तर्जुमा गरी लागू गर्ने
– परराष्ट्र मामिला मात्र होइन यो समग्र अर्थव्यवस्थाको क्षेत्र बनाउने
– सुशासन प्रवर्द्धन गर्ने
– प्रोएक्टिभ नीति अवलम्बन गर्ने
– मिसन र कर्मचारीहरुलाई स्पष्ट लक्ष्य प्रदान गर्ने र सो बमोजिम मूल्यांकन गर्ने
– सम्मानार्थ कन्सुलहरुको उपयोग गर्ने
– पर्यटन क्षेत्रमा लगानीको वातावरण दिने
– लगानीकर्तालाई विश्वासमा लिने
– गैरआवासीय नेपाली समुदायको क्षमता उपयोग गर्ने
– निजिक्षेत्रको सार्थक सहभागिता गराउने
– रणनीतिक भूगोल र सम्बन्धको उपयोग गर्ने
– वस्तु र सेवाको ब्राण्डिगंमा जोड दिने
विश्वव्यापीकरण एवं आर्थिक उदारिकरणको वर्तमान युगमा राज्यका सवै नीति र व्यवस्थापकीय औजारहरु आर्थिक विकास तर्फ अभिमुख हुन आवश्यक हुन्छ । आधुनिक कुटनीति भन्नु नै आर्थिक कुटनीति भएकाले अन्तरराष्ट्रिय सहयोग र साझेदारीको माध्यमबाट मुलुकको आर्थिक विकासमा योगदान दिनेगरी नीति कार्यक्रम र प्रयासहरुको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो ।
