Hello NEw
संस्था, नीति र नेतृत्व
राष्ट्रिय योजना आयोगमा नियुक्ति पाएर आएका एकजना विद्वानले पदबहाली तथा स्वागत कार्यक्रममा एउटा गम्भीर प्रश्न उठाए ‘अव पनि योजना आयोगको आवश्यकता छ र ? यसको औचित्य कति ?’ त्यही कार्यक्रममा रहेको पंक्तिकारले भनेको थियो ‘योजना आयोगको औचित्य यहाहरु जस्तो व्यक्तिको क्षमता र व्यक्तित्वमा निर्भर गर्दछ । हामीले राम्रो काम गरेमा आयोगको आवश्यकता झनै देखिन्छ, राम्रो काम गर्न नसके आयोगको औचित्यको प्रश्न संधै हाम्रा सामु तेर्सिन्छ र आयोगमा कसैको नियुक्ति ‘जागीर’ हो, त्यस अवस्थामा आयोग रहनु नरहनुको कुनै औचित्य रहदैन ।’

पदाधिकारीहरु पदसंग नगासिई वा पद र संगठनको गरिमा नबुझी त्यत्तिकै पनि लोकप्रीयताका लागि अभिव्यक्तिहरु दिन्छन् । छिमेकी मुलुकमा योजना आयोगको औचित्यमाथि प्रश्न उठेपछि नेपालमा पनि यस विषयलाई धेरैतर्फबाट उठाइयो तर यसको कोणप्रतिकोणको व्याख्या विश्लेषण भने गरिएन । कतिपय सन्दर्भमा आयोगले प्रणाली बसाउन खोज्दा पनि आयोगको विकल्प र औचित्य सतहमा ल्याइयो । कतिपय सन्दर्भमा भने आयोगले राम्रो गर्न नसक्दा आयोगको कार्यप्रणाली परिस्कार र पुनर्वोधका लागि पनि विकल्प र वहसहरु उठे । धेरै अवस्थामा भने अरुको आलोचना र आक्रमणका लागि यस्ता सवालहरु उठाउने गरिएको छ । यो सन्दर्भ प्रतिनिधि उदाहरण मात्र हो । सवैजसो संस्थाहरु यही नियतिमा छन् ।
संस्थामा जिम्मेवारी पाउनेको ओझ, व्यक्तित्व र इमान्दारिताका सापेक्षमा रहेर उ संलग्न संस्थाको औचित्यमाथि बहस गर्ने परिपाटी रहदै आएको छ । नेतृत्वको ओझ, उदाहरणीयता र इमान्दारिताले संस्थाको उचाइ बढ्ने गर्दछ, प्रणाली संस्थागत र स्वचालित हुन्छ । नेतृत्वले जिम्मेवारीको ओझ थाम्न नसके संगठन आफैमा बोझ हो र त्यसको मूल्य समाजले चुकाउने गर्दछ ।
संस्थालाई व्यक्तिको बजारीकरण वा वृत्तिविस्तार गर्न उपयोग गर्दा अल्पविकसित मुलुकका संस्थाहरु संस्था नवनी संगठन मात्र बन्ने गरेका छन् । व्यक्तिहरु पनि आफू संस्थाभित्र रहदा कुनै कमी कमजोरी नदेख्ने र संस्थाबाट बाहिर जाने वित्तिकै आफैले केहीअघिसम्म काम गरेको संगठनको थुप्रै कमजोरी देख्ने र आलोचना मात्र होइन, सत्तोसराप गर्न पछि पर्दैनन् । प्राय ‘भूपूहरु’ ‘वर्तमान’ प्रति निकै आलोचक र आक्रामक बनिरहेका छन् ।
यो वास्तविकताभन्दा पनि बृत्तिईष्र्या र आग्रहको मनोविज्ञानबाट प्रेरित रहदै आएको जस्तो देखिएको छ । ती भूपूहरु आफू वर्तमानमा रहदाको कामको समीक्षा गर्न मात्र सामथ्र्यहीन छैनन् कि आफू अघिका भूपूहरुबाट त्यसरी नै अभिशिक्षित बनेकाले फगत आलोचना उनीहरुको प्रवृत्ति बनेको हो । आफूले जिम्मेवारीमा रहदा गर्न नसकेको कामको क्षतिपूर्ति वर्तमानमा रहेकाहरुको आलोचनाबाट हुने मनोविज्ञान पनि विकास भएको हुनुपर्छ । अरुको धुवाधार आलोचना गर्दा आफ्नो अकर्मण्यता र कमजोरी छायामा पर्छ र क्षणिक रुपमा भएपनि वाहवाही पाइन्छ भन्ने सोच पनि विकास भएको हुनुपर्छ । होइन भने नीति नेतृत्व लिइसकेका व्यक्तिहरु नैतिक दायित्वबाट विषयान्तर बन्ने थिएनन् ।
वर्तमान अवसर हो, विगत अनुभव मात्र तर भविष्य निर्माण हो । विगतको अनुभव र वर्तमानको अवसरको उपयोग गरेर नै भविष्यको मार्ग सुनिश्चित गर्न सकिन्छ । वर्तमानलाई अवसर बनाउन भुपूहरुले आफूहरु वर्तमानमा रहदा के कस्तो प्रणाली निर्माण गरे त्यो विषय भूपूहरुले त उठाएनन् उठाएनन्, आफूलाई पव्लिक इन्टेलेक्चुयल भन्नेहरुबाट शायदै उठाइएको छ ।
बास्तविकता के हो भने आरोप र आलोचनाबाट मात्र प्रणाली बन्दैन, भविष्य सुनिश्चित हुदैन, संस्थाहरु स्वचालित बन्दैनन् । आफ्नै विषयमा पनि गहिरिएर वर्तमानले मनन गर्नुपर्छ, तव न प्रणाली वा वर्तमान (आफू) लाई सुधार्न सकिन्छ । भविष्य निर्माण साझा दायित्व हो । भविष्य लेखिए वा देखिए जस्तो हुदैन, न कितावका पाना वा सार्वजनिक उपभोगको भाषण जस्तो नै हुन्छ । तर भविष्य नदेखिए पनि त्यसको तयारी गर्न सकिन्छ । त्यो नै वर्तमानबाट गरिएको अपेक्षा हो । सार्वजनिक जिम्मेवारी लिने, सार्वजनिक शक्ति, साधन, स्रोत र ओहोदाको अभ्यास गर्नेले सधै गर्वमा रहेर अवसरको उपयोग गर्नुपर्छ ।
आलोचना, गुनासो, एक्स्क्यूज वा भग्नासामा रमाउनु हुन्न । लालसा, तृष्णा र ईष्र्याको तुष राख्नु हुन्न । पद र संस्थाको औचित्य कर्म र निष्ठाबाट मात्र सिद्ध गर्न सकिन्छ । त्यसो नगर्नेहरु वा गर्न नसक्नेहरु सस्तो आलोचनामा रमाउछन् र प्वाक्क भनिदिन्छन् ‘त्यो संस्थाको औचित्य छैन’, ‘उसले त्यो काम गर्नै सकेन’ आदि । उनीहरुबाट यसो गर्नुपर्छ, पहिला यति गरिएको थियो भन्ने सुझाव र विश्लेषण आउनु पर्ने हो, त्यो नैतिक दायित्व पनि हो । रणनीति र दृष्टिकोण विनाको आलोचनाले समाजलाई थप दिग्भ्रमित बनाउछ, संस्कृति विथोल्छ र नकारात्मक सोच मात्र निर्माण गर्छ ।
प्रशासनविद विड्रो विल्सनले भनेका थिए–‘सवै व्यक्ति सार्वजनिक जिम्मेवारीका लागि समान रुपमा योग्य हुदैनन् ।’ सार्वजनिक जिम्मेवारी सापेक्षिक योग्यता र इमान्दारिताको ओहोदा हो । योग्य र इमान्दार व्यक्ति नै राज्यलाई नैतिक संस्था बनाउने नैतिक अभिकर्ता बन्न सक्दछन् । अयोग्यहरुले कथम् जिम्मेवारी पाएपनि स्वीकार्नु हुन्न संस्थाको औचित्यका लागि, त्यो आफैप्रतिको न्याय पनि हो । हैसियत र क्षमताभन्दा बृहद जिम्मेवारी स्वीकार्नु पनि सानोतिनो अपराध नै हो, नैतिक अपराध । दार्शनिक एरिस्टोटल र प्लेटोले त सार्वजनिक पदका लागि मात्र होइन, नागरिक जीवनका लागि पनि योग्यता तोकेका थिए, यसका लागि उनीहरुले प्राचीन एथेन्स नगरीमा विश्वविद्यालयको कल्पना गरेका थिए ।
यदि अयोग्य व्यक्ति नीति वा संस्था नेतृत्व लिने स्थानमा पुग्छ भने उसले आफूलाई त दुरुपयोग गर्छगर्छ, आफ्नो परिवेश, संगति, मातहत संयन्त्रलाई पनि उपयोगभन्दा दुरुपयोग नै गर्नपुग्छ । भनिन्छ पहिलो स्तरको नेतृत्वले कम्तीमा दोस्रो स्तरको अनुयायी खोज्छ, यदि नेतृत्व नै दोस्रो स्तरको प¥यो भने चौथो स्तरको अनुयायी खोज्छ । जस्को मूल्य संस्थाले चुकाउनु पर्छ, सर्वसाधारणले चुकाउनु पर्छ, समाजले चुकाउनु पर्छ, यो निकै महंगो हुन्छ । आचार्य चाणक्यले मौर्य साम्राज्य सञ्चालनका लागि सा¥है योग्य र नैतिक पुरुषहरुको आवश्यकता औल्याएका थिए । संगठनलाई संस्था बनाउन त्यहाको नेतृत्वको कानुनी मात्र होइन, नैतिक दायित्व पनि रहने गर्दछ ।
कतिपय सन्दर्भलाई कानुन र करारबाट मात्र हेर्नु हुदैन, मूल्य र नैतिक आयाम झनै महत्वपूर्ण हो । कानुन र करारमा लेखिएको छैन त्यसकारण मैले यो काम गर्न पर्दैन भन्ने भन्दा पनि समाज र राष्ट्रको अपेक्षा र आवश्यकता अनि सांगठनिक मूल्यलाई उच्च प्राथमिकता दिएर नै नैतिक दायित्व पूरा गर्न सकिन्छ । हामीले गरेको काम हाम्रै मनभित्रको ‘हरि’ (विवेक) ले पनि ठीक भनिदिनु पर्छ । हरिबाट अनुमोदित कामबाट नै संगठनहरु संस्था बन्ने हुन्, व्यक्ति महान बन्ने हो । त्यो नैतिक दायित्वबाट नै संगठनको औचित्य पुष्टि हुने हो र संगठनको नेतृत्व महान बन्ने हो, संगठनका सहभागी आदर्श बन्ने हुन् । महानता र आदर्श त्यत्तिकै प्राप्त हुने उपलव्धि होइन, न मागेर नै पाइन्छ । त्यो त लामो समयसम्मको क्रियाशलिता, निष्ठा र विवेकको नतिजा हो । नजाने क्षणकै विवेकहीनतामा त्यो महानता शून्यमा विलाउन पुग्छ ।
भगवान कृष्णले गीतामा अर्जुनलाई उपदेश दिने क्रममा भन्नु भएको छ–ठूलोको बचन नीति बन्छ । यसको अर्थ ठूलो हुनु भनेको महान हुनु हो, ठूला ब्यक्तिहरु आदर्श हुन्छन्, नीतिबाट निर्दिष्ट हुन्छन् वा उदाहरणीयतामा रहन्छन् भन्ने हो । सार्वजनिक जिम्मेवारीमा रहने व्यक्ति आदर्श र ‘रोल मोडेल’ हो । उसका व्यवहार र कार्यहरु समाजको चित्र वदल्ने सामथ्र्यमा रहन्छन् । त्यसैले उ न हलुका हुनुहुन्छ न विलासी नै ।
एक प्रसंगमा नेपाली राजनीतिका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईले भनेका थिए ‘मेरा लागि मेरो आस्था र विश्वास अपरिवर्तनीय छन्, तिनलाई म कुनै रणनीतिका लागि फेर्न सक्दिनँ ।’ सत्य र सिद्धान्तलाई प्राविधिक विषय मात्र ठान्ने समकालीन नेपाली राजनीतिलाई भट्टराईको यो अभिव्यक्तिको अर्थ सा¥है गहन छ ।
प्रशासन सुधार र सुशासनका आआफ्नै परिभाषामा रमाउने समकालीन प्रशासनलाई सुशासनको अर्थ अनुभूतिमा खोजिन्छ परिभाषामा होइन भनेर कसले सम्झाउने ? आफ्नो कामलाई सुशासन भन्ने हामीहरु (जो वर्तमान वा भूतपूर्व जो हौ) प्रणाली निर्माणमा चाहि हामीले के ग¥यौ वा गर्न सकेनौको यथार्थ समीक्षा गर्न सकेमा मात्र पनि राष्ट्र, समाज र प्रणालीलाई केही दिएको ठहर्छ । सवैले के बुझ्नु पर्छ भने पद अवसर होइन, जिम्मेवारी हो, र जिम्मेवारी जागीर होइन, कर्तव्य हो ।
