Hello NEw
वैदेशिक व्यापारको परिचय र कार्यक्षेत्र, व्यापार प्रवद्र्धनमा रहेका समस्या र समाधानका उपाय
वैदेशिक व्यापारको परिचय र कार्यक्षेत्र उल्लेख गर्दै वैदेशिक व्यापार प्रवद्र्धनमा रहेका समस्या र समाधानका उपाय लेख्नुहोस् । (२+२+३+३=१०)
वैदेशिक व्यापार
पुँजी, प्रविधि, वस्तु र सेवाको सीमापार खरिद–बिक्री एवं प्रवाहलाई अन्तर्राष्ट्रिय वा वैदेशिक व्यापार भनिन्छ । विश्वका प्रायः सबै मुलुकको कुल गार्हस्थ उत्पादनमा व्यापारको ठूलो हिस्सा रहेको हुन्छ । परापूर्वकालदेखि नै अन्तर्राष्ट्रिय व्यापारको विभिन्न रूपहरू अभ्यासमा आएको पाइन्छ । व्यापारलाई विकासको एक आयामका रूपमा हेर्ने गरिएको छ ।

मुलुकको निर्यात व्यापार प्रवद्र्धन, आयात प्रतिस्थापन र उत्पादनका साधनको उच्चतम उपयोग सुनिश्चित गरी विकास र समृद्धि हासिल गर्नु वैदेशिक व्यापारको मुख्य उद्देश्य रहेको हुन्छ । व्यापारमैत्री वातावरणको निर्माण एवं विकास र प्राथमिकतामा रहेका निर्यातयोग्य वस्तु र सेवाको मूल्य शृंखला सुदृढीकरण गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा निर्यात व्यापारको योगदान अभिवृद्धि गर्नु वैदेशिक व्यापारको अभीष्ट हो ।
वैदशिक व्यापारको कार्यक्षेत्र
व्यापार विकाससँग सम्बन्धित बहुआयामिक विषय क्षेत्र हो । उत्पादनको साधन, जनशक्ति, पुँजी, शासकीय क्षमता र समग्र आर्थिक व्यवहारले निर्यात व्यापारमा प्रभाव पार्ने हुनाले निर्यात व्यापारको विकास र विस्तारमा बहुक्षेत्रको भूमिका रहेको हुन्छ । वैदेशिक व्यापारका रणनीतिले देहायका क्षेत्र समेटेको पाइन्छ;
– अन्तर्राष्ट्रिय वार्तालगायतको व्यापारसम्बन्धी शासकीय क्षमता,
– व्यापार र लगानीमैत्री सुरक्षित वातावरण,
– व्यापार र पारवहन सुविधा,
– प्रतिस्पर्धी मानक र प्राविधिक नियमन,
– स्यानिटरी र फाइटोस्यानिटरी मापदण्ड,
– बौद्धिक सम्पत्ति अधिकार,
– सेवा व्यापार (खासगरी पहिचान गरिएका तीन क्षेत्र),
– सम्भावित निर्यात क्षेत्र र वस्तुहरू (नेपालको सन्दर्भमा विभिन्न ९ वस्तु पहिचान गरिएको)
वैदेशिक व्यापारसम्बन्धी समस्या
संवैधानिक, कानुनी र नीतिगत एवं संरचनागत व्यवस्थाका बाबजुद नेपालको वैदेशिक व्यापार चिन्ताजनक अवस्थामा रहेको छ । पछिल्लो पाँच वर्षमा वस्तु आयात झन्डै दोब्बर भई १२.४ खर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा वस्तु निर्यात ९२ अर्बबाट घटेर ८१ अर्ब रुपैयाँमा झरेको छ । मूलतः निर्यातको आधार विस्तार हुन नसकी आयातमा ठूलो चाप परेको अवस्था विद्यमान छ ।
वैदेशिक व्यापारसम्बन्धी समस्या देहायबमोजिम बुँदागत रूपमा प्रस्तुत गरिएको छ;
– अर्थतन्त्रको विकास र मोडलमा अस्पष्टता रहनु,
– राजनीतिक र शासकीय क्षमता कमजोर रहनु,
– व्यापारको बहुआयामिक पक्षको उचित सम्बोधन नहुनु,
– सम्बद्ध मन्त्रालय तथा निकायबीच सहकार्य र समन्वय नहुनु,
– घरेलु उत्पादन र उत्पादकत्व न्यून रहनु,
– आर्थिक कूटनीति प्रभावकारी नहुनु,
– अतिकम विकसित राष्ट्रको हैसियतले प्राप्त हुने छुट र सुविधा उपयोग गर्न नसकिनु,
– साफ्टा र बिमस्टेकको उपयोग प्रभावकारी नहुनु,
– सहुलियतपूर्ण बजार पहुँच उपयोग गर्न नसक्नु,
– औद्योगिक उत्पादन क्षेत्र कमजोर रहनु,
– तुलनात्मक र प्रतिस्पर्धात्मक क्षमताका वस्तु तथा सेवाको आन्तरिक उत्पादन वृद्धि नहुनु,
– कृषि क्षेत्रको उत्पादनको आधुनिकीकरण र विविधीकरण हुन नसक्नु,
– कम गुणस्तर र स्वास्थ्यलाई हानि पुग्ने वस्तुको आयात नियमन गर्न नसक्नु,
– निर्यात व्यापार सहजीकरण गरी निर्यात प्रवद्र्धन हुन नसक्नु,
– निजी क्षेत्रको योगदानलाई पर्याप्त समेटिनु,
वैदेशिक व्यापार प्रवद्र्धनका उपाय
वैदेशिक व्यापार प्रवद्र्धनमा रहेका समस्या समाधान गर्न निम्न उपाय महत्वपुर्ण हुने देखिन्छ;
– सबै राष्ट्रिय तथा क्षेत्रगत नीति, योजना र कार्यक्रममा उत्पादन वृद्धि, बजारीकरण, निर्यात प्रवद्र्धन, आयात प्रतिस्थापन तथा आयात व्यवस्थापन गर्ने विषयलाई प्राथिमकता दिने,
– निर्यातजन्य ओद्योगिक र कृषि उत्पादनमा विशेष जोड दिने,
– उत्पादनशील क्षेत्रको पूर्वाधार विकासमा विशेष कार्यक्रम लागू गर्ने
– द्विपक्षीय र बहुपक्षीय सन्धि–सम्झौता र सहमतिको कार्यान्वयनका लागि आर्थिक कूटनीतिक क्षमता विकास गर्ने,
– विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र र निर्यात प्रवद्र्धन क्षेत्रहरूको स्थापना गर्ने,
– गुणस्तर र प्रमाणीकरण क्षमता सुदृढ गर्ने,
– व्यापार सहजीकरणका उपाय अवलम्बन गर्ने,
– शासकीय सुधार र क्षमता विकास गर्ने,
– सुशासन र सदाचारिता प्रवद्र्धन गर्ने,
– पहिचान गरिएका समस्याहरूको छुट्टाछुट्टै कार्ययोजना बनाई नतिजामुखी तवरले कार्यान्वयन गर्ने ।
अन्तमा,
समग्र अर्थतन्त्र र निर्यात व्यापारको संरचनागत र प्राविधिक समस्याका कारण नेपालको निर्यात व्यापारको मुख्य सूचक व्यापार घाटा चिन्ताजनक अवस्थामा रहेको छ । व्यापारको सामान्य सिद्धान्तअनुसार पनि गुणस्तरीय र प्रतिस्पर्धी वस्तु तथा सेवाको उत्पादन पूर्वसर्त हो । त्यसैगरी वस्तु र सेवा व्यापारको अन्तर्राष्ट्रिय जालोमा सदृश्य उपस्थिति र सार्थक प्रयासविना वैदेशिक व्यापारको लाभ मुलुकले लिन सक्दैन ।
