Logo

Hello NEw

सचिवालयको तलबभत्ता व्यक्तिगत खातामार्फत



जनकपुरधाम, २० मंसिर । प्रदेश २ का सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यले निजी सचिवालयको तलबभत्ता आफ्नो व्यक्तिगत खातामार्फत लिने गरेका छन् ।

प्रदेशभरि वित्तीय अनुशासन कायम गर्नुपर्ने निकायका प्रमुख पदाधिकारीले नै अनुशासनहीनता प्रदर्शन गर्दै कर्मचारीको तलब व्यक्तिगत खातामा बुझ्ने गरेका हो । प्रदेशसभा गठनपछि राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव सभामुख र उपमा देव उपसभामुखमा चयन भए । उनीहरूले निजी सचिवालय निर्माण गरी कर्मचारीका नाममा मात्र भर्पाई पेस गरेर प्रदेशसभा सचिवालयमार्फत लाखौं रकम व्यक्तिगत खातामा बुझेको सचिवालयले जनाएको छ ।

सभामुख यादवले पदभार ग्रहण गरेदेखि हालसम्म २० महिनामा निजी सचिवालयका १० कर्मचारीको तलब मासिक २ लाख ७३ हजार ८९० रुपैयाँका दरले ५४ लाख ७७ हजार ८ सय रुपैयाँ व्यक्तिगत खातामा बुझेका छन् ।

सभामुखको निजी सचिवालयमा राजपत्रांकित प्रथम श्रेणीका स्वकीय सचिव, द्वितीय श्रेणीका स्वकीय सचिव, तृतीय श्रेणीका स्वकीय सचिव, प्रथम स्तरका कार्यालय सहयोगी, कम्प्युटर अपरेटर एक–एकजना, सवारी चालक दुईजना, भान्से, माली र स्विपर गरी १० कर्मचारी राख्न सकिने व्यवस्था सेवासुविधा सम्बन्धी ऐनमा छ ।

उपसभामुख उपमा देवले निजी सचिवालयका ७ जना कर्मचारीको तलब एकमुष्ट आफ्नै खातामा बुझ्दै आएकी छन् । देवले पछिल्लो २० महिनामा कर्मचारीको तलबबापतको ३६ लाख ६० हजार रुपैयाँ बुझेकी छन् ।

उनको निजी सचिवालयमा राजपत्रांकित द्वितीय श्रेणीका स्वकीय सचिव, तृतीय श्रेणीका स्वकीय सचिव, कार्यालय सहयोगी, कम्प्युटर अपरेटर, सवारीचालक एक, कुक र माली गरी सातजना कर्मचारी राख्न सक्ने व्यवस्था छ।

सभामुख र उपसभामुखझैं सत्तापक्षका मुख्य सचेतक र विपक्षी दलका नेताले पनि निजी सचिवालयको सुविधा पाएका छन्।सत्तापक्षका मुख्य सचेतक शैलेन्द्र यादवले निजी सचिवालयका पाँचजना कर्मचारीको तलबबापतको रकम प्रतिमहिना १ लाख ४६ हजार ६० रुपैयाँ आफ्नो निजी खातामा बुझ्ने गर्छन् ।

विपक्षी दल नेकपाका नेता सत्यनारायण मण्डलले निजी सचिवालयका चारजना कर्मचारीको तलबबापतको रकम प्रतिमहिना १ लाख २५ हजार रुपैयाँ निजी खातामै बुझ्छन् । मण्डलले पनि सचिवालयमा पाँचजना कर्मचारी राख्ने अधिकार पाएका छन् । उनलाई प्रदेशसभाले गाडीको सुविधा उपलब्ध नगराएको हुनाले उनले चालकबापतको रकम पाएका छैनन् ।

प्रदेशसभाको गत असार १ गतेको बैठकबाट प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारि श्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पास भएको थियो । सोहीअनुसार सभामुख–उपसभामुखले निजी सचिवालय विस्तार गरेका हुन् ।

स्वकीय सचिवको तलब पनि निजी खातामै

प्रदेशसभाका १०७ जना सांसदमध्ये सभामुख, उपसभामुख, प्रतिपक्षी दलका नेता र प्रमुख सचेतकले विशेष सुविधा पाएका छन् । १०३ जनामध्ये चारजनाको स्वकीय सचिवको तलब आफ्नै खातामा जान्छ । ९९ जनाले स्वकीय सचिवको तलब निजी खातामै बुझ्दै आएका छन् ।

सेवासुविधासम्बन्धी ऐनअनुसार प्रदेशसभा सदस्यले तृतीय श्रेणीको एकजना स्वकीय सचिव राख्न सक्ने व्यवस्था छ । तर, प्रदेशसभा सदस्यमध्ये अधिकांशले आफन्त र नातेदारलाई नै स्वकीय सचिव बनाई तिनको तलबबापतको रकम पनि आफ्नै खातामा बुझ्ने गरेका छन् ।

सांसदहज्ञ रामअशिष यादव, करिमा बेगम, चमेलीदेवी दास र प्रह्लाद गिरी गोस्वामीले स्वकीय सचिवको खाता नम्बर सचिवालयलाई उपलब्ध गराएका छन् । अन्य सदस्यहरूले भने भर्पाई गरी स्वकीय सचिवको तलब आफ्नो निजी खातामै बुझ्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्