Logo

Hello NEw

संगठित अपराध, यसका विशेषता र न्यूनिकरणका उपायहरु



संगठित अपराधको संक्षिप्त परिचय सहित यसका विशेषता र न्यूनिकरणका उपायहरु बुँदागत रुपमा प्रस्तुत गर्नुहोस् । (२+३+५=१०)

संगठित अपराध
अन्तरदेशीय संगठित अपराध सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धीका अनुसार तीन वा तीन भन्दा बढी व्यक्तिहरुको संरचनागत समूहबाट आर्थिक वा अन्य कुनै लाभका लागि एक वा एक भन्दा बढी गम्भीर प्रकृतिका अपराधमा संलग्न रहेको आपराधिक समूहद्वारा हुने अपराधलाई संगठित अपराध भनी परिभाषित गरिएको पाइन्छ ।

संगठित अपराध निवारण ऐन २०७० ले तीन जना वा सो भन्दा बढी मिलेर गरेको देहायको कसुरलाई संगठित अपराध मानेको छ ;
– प्रचलित कानुन बमोजिम तीन वर्षभन्दा बढी कैद सजाय हुने कसू्र,
– प्रचलित कानुन बमोजिम भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरण वा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी मानिने कसूर,
– आपराधिक समूहको स्थापना,
– न्यायिक कारवाहीमा अवरोध,
– विध्वंशात्मक कार्य,
– आपराधिक लाभ लिने कार्य ।

भ्रष्टाचार, राज्यविरुद्धको अपराध, श्वेत अपराध, मानव बेचविखन अपराध, लागु औषध अपराध र मूद्रा निर्मलीकरण, आतंकवाद, शरिर बन्धक र अपहरण साइवर अपराध हातहतियार सम्बन्धी अपराधहरु संगठित अपराध अन्तर्गत पर्ने प्रमुख अपराधहरु हुन् ।

संगठित अपराधका विशेषताहरु
सङ्गठित अपराधको प्रकृति हेरेर सङ्गठित अपराधमा निम्न विशेषताहरु पाइने गरेको छ;
– औपचारिक संगठनमा जस्तै संस्थागत निरन्तरता
– तहगत संगठनात्मक संरचना र तह श्रेणीको व्यवस्था
– गोप्य र सीमित सदस्यता ।
– आर्थिक वा अन्य भौतिक उपलब्धि वा मुनाफा प्राप्त गर्ने आपराधिक क्रियाकलाप
– हिंसा, दंगा, धाक, धम्की, आक्रमण अभिन्न अंगका रुपमा रहने
– भ्रष्टाचार वा अनैतिकतावाट शक्ति हासिल गर्ने र नाफा कमाउने
– भ्रष्ट सरकारी अधिकारी वा पदीय तथा अन्य हैसियतको आधारमा संरक्षकत्व
– भ्रष्ट अधिकारीहरुसँग सम्पर्क बढाउने, सन्जाल बनाउने र उनीहरुको संरक्षकत्व हासिल गर्ने
– दक्ष व्यक्ति, अपहरणकर्ता, गोली हान्न निपुण व्यक्तिको प्रयोग
– राष्ट्रिय वा अन्तर्राष्ट्रिय सङ्गठनहरुसँग समन्वय, सम्वन्ध र सञ्जाल
– सार्वजनिक पद धारण गरेका व्यक्ति, राजनीतिक नेता, समाजसेवी मार्फत सहयोग र संरक्षण

नेपालमा संगठीत अपराधको दर बढदो क्रममा रहेको पाइन्छ । जघन्य अपराधका घटनाका कारण अपराध नियन्त्रण अनुसन्धान र अभियोजन कार्यमा ठूलो स्रोत साधन खर्चनु पर्ने अवस्था विद्यमान छ । अन्य अपराध जस्तै यस प्रकृतिको अपराध बहुआयामिक हुने गर्दछ । कानून कार्यान्वयन क्षमता र समग्र शासकीय पक्षमा रहने कमजोरीका कारण अपराध न्यूनिकरण सदैव चुनौतिपूर्ण हुने गर्दछ । संगठित अपराध न्यूनिकरणका लागि निम्नअनुसारका उपायहरुको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक हुन्छ ।

संगठित अपराध न्यूनिकरणका उपायहरु
१) राष्ट्रय र अन्तरराष्ट्रिय कानूनी व्यवस्था अनुसारको नीति र संरचना तयार गर्ने
२) सामाजिक अपराध न्यूनिकरण गरी शान्ति र अमनचैनको वातावरण विश्वसनीय बनाउने
३) कुटनैतिक प्रभावकारीता अभिबृद्धि गर्ने
४) सुरक्षा सुचना प्रणालीलाई सुदृढ गरी अन्तरराष्ट्रिय सम्बन्ध र साझेदारी अभिवृद्धि गर्ने
५) अपराध न्यूनिकरणको प्रणालीगत सुधार गर्ने
६) पर्याप्त स्रोत साधनको व्यवस्था गर्नुपर्ने
७) अनुसन्धान र अभियोजनमा संलग्न जनशक्तिको क्षमता विकास गर्ने
८) अपराध अनुसन्धामा आधुनिक प्रविधि र विधिहरुको उपयोग गर्ने
९) सरोकारवाला निकायवीच प्रभावकारी समन्वय स्थापित गर्ने

समाजमा रहने विविधता र मानव व्यवहार अपराधका स्रोतहरु हुन् । अर्थात अपराधको कारक विभिन्न आर्थिक, सामाजिक मानसिक र वातावरणीय तत्वहरु रहेका हुन्छन् । विश्वव्यापीकरण र खुला समाजमा शक्ति र स्रोतसाधनको बढदो भोकका कारण संगठित अपराधहरु अन्तरदेशीय समेत बन्न पुगेका छन् ।

समग्र शासकीय गुणस्तर, सेवा प्रवाह पूर्वाधारको विकास, सूचना प्रविधिको विकास एवं समुन्नत जीवनशैली स्थापित गर्न एकातिर संगठित अपराधले नकारात्मक प्रभाव पारेका छन भने अर्को तर्फ यस्ता विकासका बाइप्रोडक्टको रुपमा संगठित अपराधले स्थान पनि पाउने गरेको छ । रोकथाममूलक कार्यक्रम, सफल अनुसन्धान र अभियोजना र सो का लागि प्रभावकारी राष्ट्रिय र अन्तरदेशीय गुप्तचरी क्षमताको सुदृढीकरण एवं समन्वयित प्रयासको माध्यमबाट अपराध नियन्त्रणको प्रणाली समग्र सुधार मार्फत संगठित अपराध न्यूनिकरण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्