Logo

Hello NEw

अनुगमनको अभावमा गुणस्तरहीन औषधि बिक्री



बाँके, २२ मंसिर। औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखामा पर्याप्त जनशक्ति नभएकै कारण प्रभावकारीरूपमा अनुगमन हुनसकेको छैन । जनशक्तिको अभावमा वजारमा कम गुणस्तर, म्याद सकिएका, विभागमा दर्ता नभएका र चिकित्सक प्रमाणपत्रबिना बिक्री गर्न नपाइने औषधि बिक्री भइरहेको छ ।

विभागको कार्यक्षेत्र तत्कालीन मध्य र सुदूरपश्चिमका २५ जिल्ला रहेको छ । तर अनुगमनका लागि दक्ष प्राविधिक जनशक्ति कार्यालय प्रमुखसहित तीन जना मात्रै रहेका छन् । विभागमा अनुगमनको मात्रै नभई मेडिकल दर्ताको जिम्मेवारी पनि रहेको छ । बाँकेको नरैनापुर गाउँपालिकामा उपचारका क्रममा दुईको मृत्यु भएपछि विभागसहित पुगेको प्रशासनको टोलीले छापा मार्दा नेपालमा दर्ता नभएका औषधि बिक्री भएको खुलेको थियो । त्यहाँ न त मेडिकल दर्ता थियो, न विभागमा दर्ता भएका औषधि नै ।

अनुगमन नै नहुने भएपछि मेडिकल तथा फार्मेसी मापदण्डबमोजिम छन् वा छैनन् भन्ने यकिन गर्न सकिने अवस्था छैन । जिल्ला–जिल्लामा संयुक्त बजार अनुगमन समिति छन् । गाउँ नपुगे पनि सदमुकाममा हुने अनुगमनका क्रममा पसल दर्ता छन् वा छैनन् समितिले हेरे पनि विभागमा दर्ता भएका औषधिबाहेकका औषधि बिक्रीमा छन् वा छैनन् ठम्याउन सक्ने अवस्था छैन ।

शाखामा मात्रै २५ जिल्लाका चार हजार बढी औषधि बिक्रेता दर्ता छन् । तर गाउँ गाउँसम्म अनुगमनमा पुग्न विभागसँग जनशक्ति छैन ।

प्रतिक्रिया दिनुहोस्