Logo

Hello NEw

सार्वजनिक कोषको सदुपयोग, सञ्चालनमा सदाचार र नैतिकताको महत्व



प्रश्न: सार्वजनिक कोषको सदुपयोग सम्वन्धमा उल्लेख गर्दै कोषको सञ्चालनमा सदाचार र नैतिकताको महत्वबारे प्रष्ट पार्नुहोस् ।

सार्वजनिक कोषको परिचय
कोषको शाव्दिक अर्थ अन्नपात वा धनमाल सुरक्षित राख्ने भण्डार, ढुकुटी वा खजाना भन्ने लाग्दछ । यस्तो कोषमा वर्तमानमा आएर जिन्सीभन्दा पनि नगदी स्रोतको प्रयोग हुन्छ र बैंकिङ प्रणाली अवलम्वन गरिन्छ । सार्वजनिक कोष भनेको सबैको लागि काम लाग्ने, सबै जनाको उपयोगका लागि बनाइएको सबैलाई साझा रुपले काम लाग्ने स्रोत हो कोष हो । सार्वजनिक कोषमा सर्वसाधरणले तिरेको कर, शुल्क, जरिवानाका साथमा मित्रराष्ट्रबाट प्राप्त हुने अनुदान वा ऋण पनि रहन्छ । विदेशी नागरिकको योगदान समेत यस्तो कोषमा रहन सक्छ ।

नेत्र सुवेदी (प्रयास), सहसचिव (नेपाल सरकार)

नैतिकता र आचरण को सार्वजनिक कोष सञ्चालनमा उपादेयता; नैतिकता भनेको कामप्रतिको उपयुक्त व्यवहार हो । नैतिक वा उपयुक्त व्यवहार अन्तर्गत इमान्दारिता, सत्यता, निष्पक्षता र मानवीयता जस्ता गुणहरु मापदण्डका रुपमा रहन्छन् । सार्वजनिक कोषको सञ्चालन नैतिक ढंगले हुनुपर्दछ जसका लागि संलग्न कर्ता पनि नैतिक हुनु जरुरी छ । नैतिकताको विषय व्यक्तिगत जीवनमात्र हैन सामाजिक जीवन एवं सार्वजनिक कामकाजका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

इमान्दारिता देखाउने क्षमता नै सदाचारिता हो । सदाचार भनेको राम्रो आचरण हो । यदि भनाई र गराइमा अन्तर भयो भने आचरण राम्रो मानिदैन दुराचार मानिन्छ । नियम कानून विधिमा एउटा छ तर काम गर्दा त्यसको पालना गरिदैन, वा विधिको विपरित ढंगले काम गरिन्छ भने पनि त्यो भ्रष्ट आचार वा भ्रष्टाचार हो । सदाचार हुनका लागि जीवन र जगतमा आफुले राम्रो आनीबानी तथा जीवनपद्दति अपनाउने दह्रो इच्छाशक्ति आवश्यक पर्दछ ।

नैतिकताको आवश्यकता व्यक्तिगत जीवनमा भन्दा सार्वजनिक जीवनमा ज्यादा पर्दछ । कुनै व्यक्ति वा फर्मलाई राम्रो वा नराम्रो हुनु भन्दा सिंगो समाज वा समुह लाभान्वित हुनु वा हितबाट वञ्चित हुनु अवस्य पनि अन्तर पर्ने विषय हो ।

मुख्य कुरा के हो भने सार्वजनिक कोषको प्रयोग सार्वजनिक उद्देश्यका लागि हुनुपर्दछ अर्थात सर्वसाधरणको हितका लागि हुनुपर्दछ । करदाताले पनि आफुले तिरेको रकम कहाँ प्रयोग भयो भनेर जान्न पाउने हक राख्दछन् । यदि त्यस्तो रकम सुखसुविधामा प्रयोग भयो व्यक्तिगत स्वार्थपूर्तिमा खर्च भयो समुदायमा पुगेन वा सामुहिक हितमा भएन भने कर तिर्ने सर्वसाधरणले औला ठड्याएर प्रश्न गर्न सक्दछ कि सार्वजनिक कोषको सदुपयोग यहि हो र ? अर्कोतर्फ सार्वजनिक कोषबाट भएको काम सप्रदा सामुहिक हित हुन्छ भने विग्रदा वा दुरुपयोग हुँदा नागरिकबाट पाइ पाइ गरी जम्मा पारेको रकम खेरा जान्छ । तसर्थ सार्वजनिक कोषको सदुपयोगले विशेष अर्थ राख्दछ । इतिहास देखि नै देवस्व र राजस्वको हिनामिनालाई गंभिर अपराध मानी कडा सँजाय गरिन्थ्यो ।

सार्वजनिक कोषको सञ्चालनमा नैतिकता र आचरणको प्रभावकारी अवलम्वन कसरी ?

यस्तो कोषको सञ्चालन व्यक्तिगत विवेक वा स्वेच्छाले भन्दा पनि विकसित मान्यता, सार्वजनिक कोष सञ्चालन सम्वन्धमा संवैधानिक एवं कानुनी प्रावधान र निश्चित विधिका आधारमा हुनुपर्दछ । साथै यस्तो कोषको व्यवस्थापनमा आन्तरिक नियन्त्रण र निगरानी समेत आवश्यक पर्दछ । अहिले आएर दुरुस्त अभिलेख राख्नुको अलावा सिसिक्यामेराको प्रयोग तथा सफ्टवेयरको प्रयोग गरी दैनिक हिसाव मिलान गर्ने कार्य त्रुटी हुन नदिन र भैहालेमा पहिचानका लागि गरिने केही नवीन कार्य हुन् ।

सार्वजनिक सेवाका कर्मचारीका लागि आचार संहिता निर्माण गरी कार्यान्वयनमा ल्याइनु, आचारसंहिता एवं कानून उल्लंघन भयो भने सँजायको प्रावधान राखिनु पनि सार्वजनिक कामलाई विधिसम्मत र नैतिक वनाउने उपायहरु हुन् । सार्वजनिक कोषको प्रयोगमा नैतिकता र आचरणको प्रवन्ध गर्दै सो को पालना भएनभएको जाँचपडताल गर्ने प्रवन्ध समेत गरिनुपर्दछ ।

नेपालको सार्वजनिक क्षेत्रमा कोषको सदुपयोगका लागि जिम्मेवारी र जवाफदेहि तोक्ने काम, दस्तखत कस कसको चल्ने, कुन शीर्षक वा उपशीर्षकबाट खर्च लेख्ने, कुन ढाँचाको कागजात वा फाराम सफ्टवेयरमा प्रयोग गर्ने, भुक्तानी लेख्नुअघि के कस्ता प्रमाण कागजात समावेश गर्ने, कारोवारको लेखा राख्ने, कारोवारको वारेमा ततक्षण वा निश्चित अवधिका तालुक निकायमा प्रतिवेदन पठाउने, आन्तरिक लेखा परीक्षण एवं अन्तिम लेखा परीक्षण गर्ने, लेखापरीक्षणले औँल्याएको वेरुजु सम्वन्धमा आवश्यक पुष्ट्याई संलग्न गरी वा कारवाही गरी फर्छ्यौट गर्ने लगायतका कामहरु पनि पर्दछन् ।

त्यतिमात्र हैन सार्वजनिक कोषको ठूलो हिस्सा खर्च हुने विकास निर्माण, मालसामान, परामर्श सेवा र सेवा करारका लागि पनि खरिद सम्वन्धी कानुनअनुसार मात्र प्रतिस्पर्धा गराएर मात्र गर्ने र यी सवै काममा नैतिकता र असल आचरणको खाँचो पर्दछ ।

निश्कर्ष,
सार्वजनिक पदाधिकारीहरु भनेका सार्वजनिक सम्पत्ति र कोषको रेखदेख कर्ता र विधिसम्मत प्रयोगकर्ता समेत हुन् । सार्वजनिक कोषको सञ्चालनसँग सम्वन्धित सेवकमा नैतिकता, इमान्दारिता, कर्तव्यनिष्ठता, धैर्यता, सहनशिलता लगायतका गुणहरु हुनु आवश्यक छ ।

संविधानमै व्यवस्था भएको विभिन्न तहको सरकारको आर्थिक कार्यविधिअनुसार सार्वभौम संसदबाट अनुमोदन भएर मात्र आमदानी र खर्चको काम अगाडी बढाइनुको अलावा हरेक आमदानी र खर्चका इकाइहरुको सञ्चालन विधि, आचार संहिता र वित्तीय अनुशासनबाट निर्देशित हुनु आवश्यक हुन्छ । मुलतस् समुदाय र नागरिक हितका लागि सार्वजिनक कोषको प्रयोगलाई सुनिश्चित गरिनुपर्दछ । कोष दुरुपयोग गर्ने वा अनैतिक वा भ्रष्ट व्यवहार गर्ने व्यक्ति दण्डित हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्