Hello NEw
लोक सेवा विशेष : यि ७ फरक प्रश्नको छोटकरीमा जवाफ

१) शासनलाई कसरी परिभाषित गर्न सकिन्छ ?
शासन भनेको नियम बनाउने र परिपालना गर्ने गराउने प्रकृया हो । शाक्ति र स्रोतसाधन शासनका दुई आधारभूत तत्व हुन । शक्तिले कुनै संस्था वा व्यक्तिलाई नियमा वनाउने वा निर्णय लिने हैसियत प्रदान गर्छ भने त्यस्तो नियम वा निर्णयको कार्यान्वन गर्न स्रोत साधन आवश्यक पर्छ । यद्यपि त्यस्तो शक्ति र स्रोतसाधन त्यस्को प्रयोग गर्ने संस्था वा व्यक्तिले कानून तथा विवेकसंगत तवरले प्राप्त गरेको हुनु पर्छ । राज्यको सन्दर्भमा भन्नु पर्दा शासन विकासका लागि आर्थिक तथा सामाजिक स्रोतको व्यवस्थापन गर्न आवश्यक नीति बनाउने र कार्यान्वयन गर्ने प्रयोजनका लागि शक्तिको प्रयोग गर्ने प्रकृया हो । तर यसका लागि लोकतान्त्रिका प्रकृयाबाट स्थापित सत्ता, त्यस्तो सत्ताले उसमा निहित शक्तिको प्रयोग गर्ने पूर्व निर्धारित प्रकृया र त्यस्तो सत्ताको निर्णय गर्ने तथा कार्यान्वयन गर्ने क्षमता हुनु आवश्यक हुन्छ ।
शासनमा सरकार मूल पात्र एवं उपरी संरचनाका रुपमा रही निजी क्षेत्र र नागरिक समाज समेत संग सहकार्य र साझेदारीमा कार्य गर्छ । तहगत रुपमा शासनले पराराष्टिय, राष्टिय र उपराष्टीय तहहरुबीच सहसम्बन्ध कायम गरी कार्य गर्दछ । त्यसैले शासन बहुपात्र तथा बहुतह संरचना हो । समग्रमा भन्नु पर्दा लोकतान्त्रिक सरकारद्धारा विभिन्न तह र क्षेत्रका पात्रहरुसंगको सहकार्य र साझेदारीमा मुलुकको विकासका लागि उपलब्ध स्रोत साधनको व्यवस्थापन गर्न गरिने शक्ति प्रयोग तथा सोका लागि उपायोग गरिने संरचना र नियमहरुको समष्टि नै शासन हो ।
२) राष्ट्र र राज्यलाई परिभाषित गर्दै यिनीहरुमा के भिन्नता छ ? लेख्नुहोस् ।
राष्ट भनेको साझा सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानद्धारा एकताको सूत्रमा आवद्ध मानिसहरुको समूदाय हो । राज्य भनेको निश्चित भूगोल, जनसंख्या, सरकार, सार्वभौमसत्ता र अन्तर्राष्टिय मान्यता सहितको राजनीतिक समूदाय हो । यसैका आधारमा राष्ट र राज्य बीचको भिन्नतालाई छुट्याउनु पर्ने हुन्छ ।
३) बहुस्तरिय शासन भनेको के हो ? व्यावसायिक शासन भनेको के हो ?
शासकीय शक्तिको प्रयोग एकभन्दा बढी तह र क्षेत्रबाट हुने प्रणालीलाई बहुस्तरीय शासन भनिन्छ । बहुस्तरीय शासनमा शासनका ठाडो रुपमा पराराष्टिय, राष्टिय र उपराष्टिय गरी तीन स्तर वा तह र क्षितिजीय रुपमा सार्वजनिक, निजी र गैरसरकारी गरी तीन स्तर वा तह हुन्छन् ।
व्यवसायिक शासन भनेको व्यवसायिक संस्थाहरुको स्थापना र संचालनका लागि प्रयोग हुने संरचना, प्रणाली र नियमहरुको समष्टि हो । अर्थात् संगठित संस्था कसरी स्थापित, संचालित र व्यवस्थित हुन्छन भन्ने कुराको समग्रता नै व्यवसायिक शासन हो ।
४) संघीयताको किसिम बारे जानकारी दिनुहोस । ति प्रकारमध्ये नेपालले अवलम्वन गरेको संघियता कुन प्रकारको हो ?
संघीयताका किसिममा केन्द्रमुखी तथा केन्द्रबिमुख संघीयता, प्रतिस्पर्धी तथा सहकारीतामूलक संघीयता र अधिकारको समान बाँडफाँड भएको तथा अधिकारको असमान बाँगफाँड भएको संघीयता पर्दछन् । नेपालको संघीयता सहकारितामूलक संघीयता हो । यसको पुष्टि संविधानको धारा ५० मा पारस्परिक सहयोगमा आधारित संयता र धारा २३२ मा तीन तहबीचको सम्बन्ध सहअस्तित्व, सहकारिता र समन्वयमा आधारित हुने व्यवस्थाले गर्दछन् ।
५) आरक्षणका आधारहरु के–के हुन् ? आर्थिक र लैङ्गीक आधारमा कसरी आरक्षणको व्यवस्था गरिन्छ ?
आरक्षणका प्रमुख आधारहरुमा जाती, रंग, क्षेत्र, लिंग, वर्ग र शारीरिक अवस्था पर्दछन् । आर्थिक आधारमा परिवारको आम्दानीको अवस्था वा गरिवी सूचक वा मानवीय विकासको अवस्थालाई सूचकका रुपमा लिई यस्ता सूचकमा पछाडि परेको व्यक्तिलाई आरक्षण दिन सकिन्छ भने लैंगिक आधारमा सबै महिलालाई वा महिला मध्येपनि दोहोरो वञ्चितीमा परेका महिलालाई वा आर्थिक–सामाजिक परिसूचकमा पछाडि परेका महिलालाई आरक्षण प्रदान गर्न सकिन्छ ।
६) स्थानीय तहमा सेवा प्रवाह गर्ने माध्यमहरू के–के हुन् ? यसलाई कसरी लेख्न सकिन्छ ?
स्थानीय तहमा सेवा प्रवाह गर्ने प्रमुख माध्ययमहरुमा गाउँकार्यपालिका तथा नगरकार्यपालिकाको कार्यालय, वडा कार्यालय र स्थानीय सेवा केन्द्रहरुजस्ता सरकारी सरकारी नियकाहरु, संघीय सरकार र प्रदेश सरकारका स्थानीय स्तरका कार्यालयहरु, स्थानीय तहभित्र कार्यरत वाह्य विकास साझेदारहरु, तथा सामुदायिक संस्था, गैरसरकारी संस्था, सार्वजनिक निजी साझेदारी संस्थाहरु र विभिन्न निजी संस्थाहरु पर्दछन् ।
७) लोकसेवाको subjective paper को जवाफ दिँदा फरक–फरक खण्डको लागि एउटा खण्ड नेपाली र अर्को खण्ड अंग्रेजी भाषामा लेख्न पाइन्छ वा पाइँदैन ?
सम्भव भए सम्म सबै उत्तर नेपालीमा मात्र वा अंग्रेजीमा मात्र लेखेको राम्रो । तर एउटा खण्डका सबै प्रश्नको उत्तर नेपालीमा र अर्को खण्डको पुरै उत्तर अंग्रेजीमा लेख्न पनि सकिन्छ । एउटै प्रश्नको उत्तरमा मुल माध्यम भाषा नेपाली बनाएर बीच बीचमा आवश्यक पर्दा अंग्रेजी शब्दहरुको प्रयोग समेत गर्न सकिन्छ ।
