Logo

Hello NEw

बोक्सोको आरोपमा वडाध्यक्षमाथि मोसो र जुत्ताको माला



चितवन, २३ मंसिर । चितवनको इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर प्रजालाई बोक्सोको आरोपमा स्थानीयले जबरजस्ती मोसो दलेका छन् । गत शनिबार आक्रोशमा आएका केही स्थानीयले प्रजाको मुखमा मोसो दल्दै जुत्ताको माला समेत लगाई दिएका थिए ।

प्रजामाथि यस्तो अमानविय हर्कत हुनु कुनै पदीय जिम्मेवारी पूरा नगरेर वा सेवाग्राहीलाई दुख दिएकाले होइन । उनी कानुनले बर्जित गरेको कुरिति र अन्धविश्वासको सिकार हुन पुगेका छन् । किनभने मोसो दल्ने र जुत्ताको माला लगाउनेले उनीमाथि बोक्सोको आरोप लगाए ।

स्थानीय उत्तरकुमार गुरुङ र उनको समूहले प्रजालाई पहिलेदेखि नै दुर्व्यवहार गर्दै आइरहेका थिए । तर नेपाल कम्युनिष्ट पार्टीबाट वडाध्यक्ष चुनिएका प्रजा त्यसलाई खासै वास्ता गर्दैनथे ।

स्रोतका अनुसार गुरूङको समूह लामो समयदेखि गाउँमा गुण्डागर्दी गर्दै आएका थिए ।

घटनामा संलग्न भएको भन्दै उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्