Logo

Hello NEw

हुलाकमै हरायो ‘चिट्ठी’



‘अबको हुलाक सेवा : सेवामा विविधता र प्रतिस्प्रर्धा’ भन्ने नारासहित अक्टोबर ९ मा गोश्वारा हुलाकले विश्व हुलाक दिवस धुमधाम सँग मनायो । यद्यपी नेपालको हुलाक सेवा प्रतिस्पर्धी छ त ? यो गम्भीर प्रश्न हो। तर, यथार्थमा भन्नुपर्दा नेपालको हुलाक प्रतिस्पर्धी छैन । हुलाक सेवामा कयौं यस्ता समस्या छन् जसका कारण सेवाप्रति सेवाग्राही विश्वास निरन्तर खस्कँदो छ ।

प्रकाश भण्डारी “बिवेक“

हुलाकबाट सेवा लिने सेवाग्राहीहरूले पक्कै मनन् गरेकै छन, नेपालको हुलाकले प्रदान गर्ने सेवाको गुणस्तर कस्तो छ भनेर । हुलाकबाट सेवा लिने क्रममा पाएका सास्ती, समयमा पत्र नपुगेको तथा महत्वपूर्ण कागजात हराएको कुरा बारम्बार सुनिँदै आएको हो। यस्ता समस्याहरु बारम्बार दोहोरिइरहेका हुन्छन् । तर यसको खासै सुनुवाइ हुँदैन। यस्ता घटना समयक्रमसँगै आँफै सेलाउँछन् ।

हुलाक सेवाबाट भएको लापरवाही र ढिलासुस्तीका कारण पीडित हुन पुगेको सेवाग्राही मध्येको एक यो पंक्तिकार पनि हो ।

घटना मंसिरको हो । मैले गैँडाकोट हुलाक कार्यालय नवलपुरबाट मंसिर ११ गते अत्यन्त जरूरी कागजातसहितको पत्र रजिष्ट्री गरेर काठमाडौंका लागि प्रेषित गरेको थिएँ। ढिलोमा आईतबार काठमाडौं पत्र पुग्ने कर्मचारीले बताएका थिए। यस्तो आश्वासन पाएपछि मैले प्राईभेट कुरियर प्रयोग नगरी हुलाकबाट पत्र पठाएँ ।

उक्त पत्रलाई चितवन हुलाकले मंसिर १५ गते प्राप्त गरेको भनी कम्प्युटरमा चढायो । मंसिर १५ गते नै दिउसो २: १५ मा चितवन हुलाकबाट काठमाडौंका लागी डाँक हिँडेको भनी पुनः कम्प्युटरमा अपडेट गरियो । तर मंसिर १९ गते बिहिबार दिउसो १२स्०० बजेसम्म सो पत्र बेवारिसे अवस्थामा रहिरह्यो ।

ट्र्या्किङ नम्बरबाट पटक–पटक चेक गर्दा पनि चितवनबाट हिँडेको पत्र मुख्य कार्यालय डिल्लीबजार नपुगेको सूचना पाउँथे । चितवनबाट हिडेको पत्र काठमाडौं पुग्दैन । एउटा चिठी बेवारिसे हुँदा चिठीमात्र होइन, खामभित्रका महत्वपूर्ण कागजातहरु, त्यसका योजनाहरु, चिठीले गर्नुपर्ने कामहरु पनि बेवारिसे हुँदारहेछन् । मलाई पनि त्यस्तै भयो ।

सोमबारदेखि मैले पटक–पटक सम्पर्क गरेर पत्रको अवस्थाका बारेमा बुझ्न खोजेँ । पत्र जरूरी रहेको र महत्वपूर्ण कागजात रहेकोले त्यसको अवस्थाबारे जानकारी पाउँ भन्दै कार्यालयको फोनमा बारम्बार सम्पर्क गरेँ । उताबाट ‘तपाईको पत्र भेटिएको छैन’ भन्ने जबाफ आउँथ्यो । पत्रको समय घर्किसकेकोले मन पोलिरह्यो ।

पत्र मंसिर १५ गते चितवनबाट काठमाडौँ हिडिसकेकोले आईतबार पुग्ने आस थियो। सोही बमोजिम एकजना मित्रलाई गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा पत्र बुझ्न पठाएँ । तर पत्र पाइएन । कम्प्युटरमा इन्ट्री देखिन्थ्यो तर भेटिँदैनथ्यो । अन्य पत्रको चङ्गुलमा फस्यो वा लापरवाहीले कतै घुस्यो दिनभर पनि भेटिएन र रित्तै हात कोठा फर्किनुभयो ।

कार्यालयबाट एकजना कर्मचारीले पत्रको खोजी गर्न अर्का एकजना कर्मचारीको सम्पर्क नम्बर दिनुभयो। मैले उहाँलाई सम्पर्क गरेँ र पत्रका बारेमा बुझ्न खोजेँ । तर उहाँबाट पनि हालसम्म पत्र फेला नपरेको र खोजी जारी रहेको खबर आयो ।

मंसिर १९ गते काठमाडौँको एक सरकारी कार्यालयमा दर्ता हुनुपर्ने अन्तिम म्याद थियो सो पत्रको। तर समयमा फेला परेन । बारम्बार मुख्य कार्यालयमा सम्पर्क गर्दा पनि मैले पत्रको बारेमा चित्तबुझ्दो जबाफ पाइँन। त्यसपछि कार्यालय प्रमुखको नम्बर मागेँ । त्यसपछि सम्पर्क गर्दा एकजना महिला कर्मचारीले फोन उठाउनुभयो र मेरो पत्रको ट्र्या्किङ नम्बर माग्नुभयो। मैले सो नम्बर दिएँ, त्यसपछि कम्प्युटरमा चेक गरेपछि उहाँले दिएको जबाफ पनि अरुको जस्तै थियो, पत्र हालसम्म फेला परेको छैन, म बुझ्न लगाउँला ।’

समय घर्किसकेको थियो। पत्र कुनबेला प्राप्त हुन्छ? प्राप्त हुन्छ या हुँदैन? भन्ने अन्यौलतामा रुमल्लिइरहेको थिएँ। आफ्नो काममा पनि अन्योल बढ्दै गएको थियो । अन्ततः दिउसो पत्र खोज्ने कर्मचारीले ‘तपाईंको पत्र भेटियो, यहाँ कतै अन्य पत्रसँगै रहेछ’ भनेर सम्पर्क गर्नुभयो । तर पत्र भेटिनुले मलाई उत्साही बनाएन। किनकी उक्त पत्र समयमै दर्ता गर्न नपाउँदा मन बेचैन भइसकेको थियो। अब त्यो पत्र बुझ्न पठाउँ या नपठाउँ अन्यौलमा छु ।

यो घटनापछि हुलाकको काम र सेवा प्रवाहप्रति वितृष्णा बढेको छ। एक दिनमै चितवनबाट काठमाडौं पुग्ने सुगम शहरको डाँक सेवाले बोकेको चिठीपत्र ५ दिन सम्म पनि कार्यालयबाट प्राप्त गर्न नसक्नु, कार्यालयमा नभेटिनु, पत्रको जरूरीका आधारमा नराखिनु कर्मचारीको लापरवाही हो या बेवास्ता ? यसमा हुलाक कार्यालय अलि बढी जिम्मेवार हुनु आवश्यक छ ।

नेपालका दूर दराजबाट पठाएका कैयौं पत्रमा कति महत्वपूर्ण र जरूरी विषय हुन्छन् । ती पत्रहरुको अवस्था पनि मेरो पत्रको भन्दा भिनन होला भन्न सकिने अवस्था छैन । रजिष्ट्री गरिएको, जरूरी पत्र भनी उल्लेख गरिएका पत्र पनि अन्य साधारण पत्र जस्तै बेवास्ता गरिनु दुःखद कुरा हो । प्रविधिले फड्को मारेको युगमा हुलाकबाट प्रेषित गरिएका पत्र समयमा फेला नपर्नु, समयमा कागजात नपुग्नुले आम जनताले हुलाकको कछुवाको गतिमा अगाडि बढेको सेवाप्रति कसरी विश्वास गर्ने ?

प्रतिक्रिया दिनुहोस्