Hello NEw
प्रधानमन्त्रीको घोषणा : सागका स्वर्ण विजेतालाई ९ लाख दिने

काठमाडौं, २५ मंसिर । सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण विजेतालाई जनही ९ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
त्यस्तै रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख प्रोत्साहनस्वरुप प्रदान गरिनेछ।प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूलाई राहत प्याकेज उपलव्ध गराउने घोषणा गरेअनुसार सो रकम प्रदान गरिने भएको हो ।
प्रधानमन्त्री ओलीले खेलाडीलाई आज आफ्नै निवास बालुवाटारमा बोलाई सो प्रोत्साहन रकम उपलव्ध गराउने घोषणा गरेका हुन् । हिजो सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जितेको थियो ।
अंक तालिकामा दोस्रो भएको नेपालको सागमा यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि, २०७२ मा सागका स्वर्ण विजेतालाई ५ लाख रुपैयाँ दिने उल्लेख छ । यस्तै रजतलाई ३ लाख र कास्य विजेतालाई २ लाख दिने उल्लेख छ ।
