Logo

Hello NEw

राजधानीका विद्युत तारहरू भूमिगत गरिँदै



काठमाडौँ, २६ मंसिर । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम थालनी गर्न लागिएको हो ।

नेपालमा पहिलोपटक विद्युत्को तारलाई भूमिगत गर्ने कार्य हुँदै छ । पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रबाट प्रसारण हुने तारलाई आगामी हप्तादेखि भूमिगत गरिने कार्य सुरु गरिनेछ । पहिलो चरणको सफलता र अनुभवको मूल्याङ्कनका आधारमा उपत्यकाको अन्य क्षेत्रका तारहरूलाई भूमिगत गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौँ उपत्यकाका विद्युत्का तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु हुनेछ । तारलाई भूमिगत गर्नका लागि आवश्यक सामग्री र उपकरण काठमाडौँ आइपुगेको र भूमिगत गर्नका लागि सबै तयारी पूरा भइसकेको छ ।

रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रमा जोडिएका प्राधिकरणका ९० हजार ग्राहक लाइन रहेका छन्  । उपत्यकामा प्राधिकरणका तीन लाख ६० हजार ग्राहक रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्