Logo

Hello NEw

देशभर पश्चिमी वायुको प्रभाव, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात



काठमाडौं, २६ मंसिर । पश्चिमी वायुको प्रभावले बिहीबार बिहानैदेखि देशभरको मौसममा बदली आएको छ। इरान, अफगानिस्तान, पाकिस्तान, जम्मु-कस्मिर हुँदै पश्चिमी वायु बुधबार साँझ पश्चिम नेपाल प्रवेश गरेको थियो ।

सोही वायुको प्रभावले बिहीबार बिहानैदेखि आकाश खुलेको छैन भने चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा बुधबार साँझ नेपालको पश्चिमी भुभागबाट न्युनचापीय प्रणाली प्रवेश भएकाले पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना रहेको जनाएको छ ।

‘यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ। साथै यस प्रणालीका कारण देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ,’ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ ।

वायुको प्रवाभले माथिल्लो डोल्पामा हिमपात

माथिल्लो डोल्पामा परेको हिमपात। तस्बिर : अन्‍नपूर्ण

वायुको प्रवाभले माथिल्लो डोल्पामा हिमपात भएको छ । बुधबार राती परेको हिमपातले माथिल्लो डोल्पाको जनजीवन कष्टकर बनेको छ । मंसिरमै हिउँ परेपछि माथिल्लो डोल्पामा तपाक्रम माइनस १२ भन्दा बढी पुगेकाले चिसो अत्याधिक बढेको स्थानीय ले जानकारी दिएका छन् ।

यस्तै छिमेकी जिल्ला हुम्लामा पनि बिहानैबाट हिमपात भएको छ । हिमपातले स्थानीयको जनजीवन प्रभावित भएको छ भने हवाई उडानमा समेत समस्या परेको छ ।

हिउँ परेसँगै डोल्पाको सदरमुकाम दुनैमा समेत तापक्रम घटेको छ।आज दुनैको तापक्रम माइनस २ भन्दा कम छ । तल्लो डोल्पाका उच्च भू(भगमा समेत हिउँ परेको छ । मौसम परिवर्तनसँगै भारि हिमपात हुनसक्ने भएकाले चिसोबाट जोगिन वृद्धवद्धा र बालबालिकालाई झोलिलो खानेकुरा खानुका साथै चिसोबाट जोगिन घरमै बस्न चिकित्सकले आग्रह गरेका छन् ।

बुधबार बाट शुरू भएको यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्