Hello NEw
नयाँ शैक्षिक सत्रबाट एकै शिक्षकले सबै विषय अध्यापन गर्नुपर्ने

काठमाडौँ, २७ मंसिर। आगामी नयाँ शैक्षिक सत्रबाट कक्षा १–३ मा अध्यापन गर्दै आएका हरेक शिक्षकले सबै विषय अध्यापन गर्नुपर्ने भएको छ । हाल फरक विषयमा फरक विषयगत शिक्षकले अध्यापन गर्ने गरेका छन् ।
आगामी शैक्षिक सत्रबाट एकीकृत पाठ्यक्रम लागू हुँदैछ । सोही अनुसार कक्षा १–३ का शिक्षकले सो तहमा लागू हुने सबै विषय अध्यापन गर्नुपर्ने हुन्छ । पाठ्यक्रम विकास केन्द्रका सूचनाका अनुसार अब एउटै शिक्षकले अध्यापन गर्न सक्नै भएकाले सबै विषय अध्यापन गर्नुपर्ने हुन्छ ।
आगामी वर्षबाट कक्षा १–३ मा नेपाली, अङ्ग्रेजी, गणित र मेरो सेरोफेरो विषय अध्यापन गरिनेछ । चालू शैक्षिक सत्रमा कक्षा १–३ मा नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक, विज्ञान, स्वास्थ्य र स्थानीय विषय अध्यापन गरिँदै आएको छ ।
प्राथमिक तहमा साविकको एसएलसी र प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भएका शिक्षकहरू अधिक सङ्ख्यामा कार्यरत छन् । नयाँ नियुक्त भएका शिक्षकको योग्यता बढी छ । पुराना शिक्षकले नेपाली, अङ्ग्रेजी, गणित अध्यापन गर्न कठिन हुने शिक्षाविज्ञहरूको भनाइ छ ।
तर अहिलेसम्म नयाँ पाठ्यक्रम लागू हुने समय नजिकै आइसक्दा पनि शिक्षकलाई तालिम दिनेलगायतका तयारी भने भइसकेको छैन । त्यसकारण पाठ्यक्रमका दृष्टिकोणले एकीकृत पाठ्यक्रमको सोच उपयुक्त भएको भए पनि त्यसअनुरूप अध्यापन गर्ने शिक्षक तालिम प्राप्त नभइसकेकाले समस्या सिर्जना हुन सक्ने विज्ञहरु बताउँछन् ।
पाठ्यक्रम विकास केन्द्रले चालू शैक्षिक सत्रमा १८ जिल्लाका १०३ वटा विद्यालयमा परीक्षणका रूपमा एकीकृत पाठ्यक्रम लागू गरेको छ । परीक्षणमा रहेका विद्यालयहरूबाट विद्यार्थीका लागि क्रियाकलाप कम भएको, विद्यार्थीको सक्रियता कम भएको, पुस्तकमा छापिएका चित्र समाजसँग सम्बन्धित हुनुपर्ने, विषयवस्तु सरलीकरण हुनुपर्ने आदि पृष्ठपोषण प्राप्त भएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
