Logo

Hello NEw

सार्वजनिक वा निजी संस्थान व्यवस्थापनका लागि ६ रंगका सोच्ने टोपीहरू



सार्वजनिक वा निजी संस्थामा व्यवस्थापनले विभिन्न निर्णय विधिद्वारा निर्णय गरिरहेको हुन्छ । यस्ता निर्णय ठीक भइरहेका छन् कि छैनन् भन्नेबारे धेरैजसो वेला परिणामले मात्र देखाउने गर्छ । निर्णयलाई थप वस्तुनिष्ठ बनाउने एक विश्लेषण विधिका रूपमा यस मोडलको प्रयोग गर्ने गरिन्छ । यसमा ६ थरी रङका टोपी प्रयोग गरिन्छ । सहभागीहरूलाई अलग–अलग रङका टोपी प्रदान गरेर उनीहरूका विचार जान्ने र तर्कपूर्ण रूपमा संशोधन गर्ने प्रयास गरिन्छ । एडवार्ड डि–बोनोले १९८५ मा प्रतिपादन गरेको यो मोडेलले निर्णय प्रक्रियालाई प्रभावकारी रूपमा विश्लेषण गर्न सहयोग प्रदान गर्दछ ।

डि–बोनोका अनुसार संगठनमा काम गर्ने मानिस विभिन्न विचारधाराको पृष्ठभूमि लिएर आएका हुन्छन् । संगठनमा प्रायजसो मानिसले आफ्नो एक सीमित सोचाइको दायरा निर्माण गरेका हुन्छन् । कुनै निर्णय गर्दा सोही दायराको वरिपरि हेर्दै विश्लेषण गर्छन् । यस विधिद्वारा उनीहरूलाई विभिन्न कोणबाट एउटा समस्यामाथि विचार गर्न प्रेरित गरिन्छ र सोचाइलाई फराकिलो पार्दै निर्णयलाई थप उत्पादनशील बनाउन लगाइन्छ । भिन्न दृष्टिबाट सोच्न लगाएर मानिसका विचार परिवर्तन गर्न सकिन्छ भन्ने मान्यता राखिन्छ । यस विधिको सहायताले संगठनका शाखा–प्रशाखाबीच पनि दह्रो समन्वय प्राप्त गर्न सकिन्छ ।

६ वटा सोच्ने टोपीहरूको यो मोडल प्रयोग गरी मानिसको सामान्य ढंगले सोच्ने अवस्थामा नयाँ आयाम प्रदान गरिन्छ । कुनै पनि निर्णयमा हुने विविध अप्ठ्यारा र असरबारे जानकारी लिन दिन सकिन्छ, जुन सामान्य परिस्थितिमा नहुने गर्छ । यसरी कुनै समस्यालाई अनेक नवीन दृष्टिकोणबाट हेरिन्छ । यसको मुख्य आधार भनेको मानिसले सामान्य स्थिति र बानीभन्दा फरक भई सोच्न सकेन भने उत्तम निर्णय गर्न पनि सक्दैन भन्ने नै हो । यसमा व्यक्तिलाई आफ्ना विचारबारे सुक्ष्म रूपमा अध्ययन गर्न दबाब पुग्छ र परिणामस्वरूप बढी सिर्जनात्मक भएर सोच्न बल पुग्छ । त्यस्तै, निर्णय गर्ने टिमका सहभागीलाई एक–आपसमा परिपूरकको भूमिका खेल्न पनि सहयोग पुग्छ ।

यो मोडलसामान्यतः बैठक, वर्कसप अथवा ब्रेनस्टोर्मिङ सेसनमा प्रयोग हुन्छ । सहभागीलाई ६ रंगकाः सेतो, रातो, कालो, पहेँलो, हरियो र नीलो टोपी लगाउन दिइन्छ ।

सेतो टोपी लगाउनेले तथ्य–तथ्यांकका मात्रै कुरा गर्नुपर्ने हुन्छ । उसले सूचनाको तथ्यांकीय विश्लेषणको काम गर्छ । रातो रङको टोपी लगाउनेले समस्यालाई भावनात्मक रूपमा हेर्छ र भावनात्मक रूपमा नै दिइएको समस्यालाई समाधान गर्ने प्रयास गर्छ । कालोटोपी लगाउनेले निर्णय अथवा समस्याका नराम्रा कुरा मात्र केलाउँछ, निर्णयबारे नकारात्मक सोच्छ र निर्णयका बेफाइदा मात्र देखाउँछ । पहेँलो टोपी लगाउनेले सकारात्मक रूपमा मात्र सोच्छ र आशावादिता प्रदर्शित गर्छ ।

निर्णयबाट हुने लाभबारे विस्तारले बताउँछ । हरियो टोपी लगाउनेले सिर्जनात्मक रूपमा निर्णयबारे सोच्छ, नवीनता खोज्छ र निर्णयसँग सम्बन्धित विभिन्न पाटामा स्वतन्त्र रूपमा उपाय सुझाउँछ । नीलो टोपी लगाउने व्यक्तिले उक्त बैठक वा सेसनको अध्यक्षता गर्दछ र कतिवेला टोपी एक–अर्काले फेर्ने भन्नेबारे पनि निर्णय गर्छ । यसरी यस मोडलद्वारा कुनै पनि विचारबारे विभिन्न दृष्टिकोणबाट सोच्ने स्वतन्त्र वातावरण तयार गरिन्छ ।

मोडलको प्रयोग गर्दा संवेदनशील भएर साँच्चै नै समस्याको हल गर्नुपर्छ भनी गहन छलफल भने अत्यावश्यक मानिन्छ । फरक–फरक टोपी फरक–फरक उद्देश्यका साथ प्रयोग गरिएका हुन्छन् । कुनै टोपीद्वारा निर्णयको उद्देश्यलाई बुझ्न खोज्दै त्यसलाई फोकस गरिन्छ भने कुनैद्वारा विचार र प्रतिक्रिया खुलेर आऊन् भनी आह्वान गरिन्छ । जाने–बुझेर गरिने यस्तो सामूहिक छलफलले निर्णय समस्याको चुरोसम्म पुग्न मद्दत पुग्दछ । यस मोडलको प्रयोग प्रायः परिवर्तन व्यवस्थापनमा बढी प्रभावकारी रहन्छ ।

प्रतिक्रिया दिनुहोस्