Hello NEw
वैदेशिक सहायता, यसको सकारात्मक पक्ष र प्रभाव
वैदेशिक सहायता भनेको के हो र ? वैदेशिक सहायताको सकारात्मक पक्ष उल्लेख गर्दै वैदेशिक सहायताको प्रभावको छोटकरीमा चर्चा गर्नुहोस् । (२+४+४=१०)
वैदेशिक सहायता
साधनको सिमितता सर्वमान्य तथ्य हो भने आवश्यकताको असिमितता पनि अर्को यथार्थ हो । यी दुई तथ्य वीचमा उत्पन्न हुने लगानी वचत ज्ञान सीप र व्यवस्थापनजन्य कमी वा ग्याप पूर्ति गर्न नेपाल लगायत अल्पविकसित र विकासोन्मुख मुलुकहरुमा विकसित मुलुक वा दातृ निकायबाट प्रवाह हुने स्रोत, साधन, ज्ञान, सीप र व्यवस्थापकीय औजारहरु वैदेशिक सहायता हुन् ।
अर्थतन्त्र र समाजमा रहने ग्याप र आवश्यकता पूर्ति गर्न वैदेशिक सहायता महत्वपूर्ण मानिन्छ । नेपालले वैदेशिक सहायताको ६० वर्षे अनुभव बटुलिसकेको सन्दर्भमा यसको उपादेयता र प्रभावकारीता एक महत्वपूर्ण विकास मुद्दा बनेको छ ।

वैदेशिक सहायताको सकारात्मक पक्ष
वैदेशिक सहायता सहायताग्राही मुलुकको आवश्यकता र वाध्यता भए जस्तै दाता मुलुकको पनि अन्तरनिहित चासो वा मोटिभबाट निर्देशित रहेको हुन्छ । विदेशी सहयोगलाई आर्थिक वृद्धि तथा उत्पादकत्व सिर्जना गर्ने क्षेत्रमा परिचालन गर्दा अर्थतन्त्रको स्वचालित उत्पादनशीलता वढ्न गै पूँजी निर्माणको क्रम शुरु हुन्छ ।
यसले अतिरिक्त उपयोगिता सिर्जना गर्नुको साथै रोजगारीका अवसर वृद्धि गरी उपभोग एवं वचत जस्ता क्षेत्रमा सामर्थ्य र तत्परता वढाई लगानी, थप पूँजी निर्माण जस्ता आर्थिक उपलव्धि अर्थतन्त्रमा भित्रिने र अर्थतन्त्रमा मल्टिप्लाएर असर देखिने मान्यता रहेको पाइन्छ ।
नेपालको समेत सन्दर्भमा वैदेशिक सहायताले अर्थतन्त्र र समग्र विकासमा निम्न बमोजिमको सकारात्मक प्रभाव पारेको पाइन्छ ।
– विकासका निम्ति थप वित्तीय साधन परिचालन
– प्राथमिकता प्राप्त क्षेत्रमा साधन प्रवाहित गरी आर्थिक वृद्धिदर सुधार
– वैदेशिक लगानी आकर्षण गर्न अनुकुल वातावरण निर्माण
– उपलब्ध साधनको उपयोगमा क्षमता वृद्धि
– प्रविधि हस्तान्तरणमा सहयोग
– समष्टीगत आर्थिक नीति सुधारमा सहयोग
– संरचनागत सुधारका लागि मार्गनिर्देशन
– अर्थतन्त्रको प्रतिष्पर्धात्मक क्षमता प्रवर्द्धन
– विकास नीति र मोडलहरुको प्राप्ति
– जनशक्ति क्षमता विकास
– प्राकृतिक स्रोत साधनको उपयोग
– पूर्वाधार विकास
– सामाजिक न्याय र समानता स्थापना गर्नमा योगदान
– शासकीय सुधारको लागि विज्ञता र परामर्श
– अन्तरराष्ट्रिय पहिचान, वहुपक्षीय सहयोग र साझेदारीमा अभिबृद्धि
वैदेशिक सहायताको प्रभाव
कुटनीतिक वा राजनीतिक विकासमुलक मानवीय र व्यापारिक अभिष्टबाट निर्देशित हुने भए तापनि वैदेशिक सहायताको अवधारण विकास सहायता प्रदान गरी गरिबी न्यूनिकरणमा योगदान गर्ने भनी विकसित भएको पाइन्छ । मार्सल प्लानदेखि सहायता प्रभावकारिता र पार्दरशिताको अवधारणा सम्म आइपुग्दा संसारका सहायताग्राही देशहरुमा यसको प्रभाव मिश्रित रहेको छ ।
वैदेशिक सहायताको उच्चतमा उपयोग गर्ने कतिपय मुलुकहरु दक्षिण कोरिया लगायतका पूर्वी एसियाली मुलुक र अफ्रिकाका केही देशहरुमा वैदेशिक सहायताको सकारात्मक र अपेक्षित प्रभाव परेको पाइन्छ । तर दक्षिण एसियाली र बहुसंख्यक अफ्रिकी मुलुकहरुमा वैदेशिक सहायताको प्रभावकारिता एक जटिल मुद्दाको रुपमा रहेको छ ।
दिगो र आत्मनिर्भर अर्थतन्त्रको विकास हुन नसक्नु, मुलुकको आवश्यकता र प्राथमिकतामा सहायता परिचालन हुन नसक्नु, विकास क्षमता अभिवृद्धि हुन नसक्नु जस्ता नकारात्मक असरहरु परेको आम मान्यता रही आएको छ । नेपालको वर्तमान अवस्थामा वैदेशिक सहायता वाध्यताको रुपमा रहिरहेको छ । झण्डै एक चौथाई राष्ट्रिय बजेटको हिस्सा ओगटने वैदेशिक सहायताको प्रभावकारितामा मुलुकको आर्थिक सामाजिक विकासको नतिजा निहित रहनु स्वाभाविक नै हो ।
सकरात्मक पक्षहरुको बावजुद नेपालको आर्थिक सामाजिक विकासका सूचकरुमा उल्लेख्य सुधार भएको भने पाइँदैन । वैदेशिक सहायताको ठूलो हिस्सा अझै पनि गैर बजेटरी रहनु र पेरिस सिद्धान्तको मान्यताहरु आत्मसात् गर्न नसकिनु समस्याको रुपमा रहेको छ । प्राविधिक सहयोग र खरिद क्रेडिट दातामुलुकमा नै फर्कने अवस्था विद्ममान नै छ ।
४० भन्दा बढि दातृ निकाय र ठूलो संख्यामा रहेको सहायताको क्षेत्रहरुका कारण सहायता विशिष्टिकरण र नतिजामुखी हुन सकेको छैन । शासकीय क्षमताको विकास गरी संस्थागत सक्षमता अभिवृद्धि हुन नसक्दा विकास सहायताको उपयोग र विकासको सम्भावनाको भरपुर उपयोग गर्न सकिएको छैन ।
राजनीतिक तहमा बुझाईमा एकरुपता, स्पष्ट, दीगो र आम राष्ट्रिय सहमतिको विकास मोडल अभ्यास गर्न नसक्दा विकास सहायता दाताको चासो सिद्ध गर्ने एक किसिमको नवउदार आर्थिक उपनिवेशको दुष्चक्रमा पर्न सक्ने देखिन्छ । यसो हुन नदिन विकास सहायताको सकारात्मक पक्षको अधिकतम अभ्यास र उपयोग गरी विकासको नतिजा हासिल गर्नु पर्दछ ।
