Logo

Hello NEw

वन पहरेदार, जसले ‘कारवाला सुकुम्बासी’ पनि झेले



काठमाडौं । बागमती बाढीपीडितलाई ०५१ सालमा बसोबास गराएपछि सुरु भएको सागरनाथ वनमाथिको अतिक्रमण अचाक्ली भइसकेको थियो ।  कहिले सुकुम्बासी त कहिले के नाममा सर्लाहीस्थित वनको मलिलो माटोमा आँखा लगाउनेहरु दिन दुई गुना, रात चौगुना बढे ।

बेला-बेला अतिक्रमण हटाउने प्रयास पनि हुन्थे । तर, त्यो राजनीतिक खिचातानीका कारण कहिल्यै सफल भएन । बरु अतिक्रमण बढ्दै गयो र सिंगो वन नै मासिने अवस्था आउन लागेको थियो ।

वन मासेर लालबकैयामा लगाइएको मकैबारी गत असारमा रातारात फाँडियो । झडपका केही घटना पनि भए, केही राजनीतिक दलले सुकुम्बासीको नाममा राजनीति गर्न पनि खोजे । तर, अन्ततः अतिक्रमित सरकारी जमिन फिर्ता भएको छ र, तारबार लगाएर अहिले विरुवा रोपिएको छ ।

यसमा वर्तमान वनमन्त्री अग्नि सापकोटादेखि सर्लाहीका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेसम्मको भूमिका रहृयो । तर, मुख्य पात्र परियोजना प्रमुख ज्ञानेन्द्र मिश्र रहे ।

अतिक्रमित जमिन खाली गराउँदा

महोत्तरीको जलेश्वर-१२ का मिश्र आजभन्दा २२ वर्षअघि वन सेवाबाट निजामती सेवामा प्रवेश गरेका थिए । अधिकृत तहबाट जागिर सुरु गरेका उनी अहिले विभागका उपसचिव छन् र कर्त्तव्यनिष्ठ कर्मचारीको रुपमा चिनिन्छन् ।

‘कारवाला सुकुम्बासीहरु गाडी चढेर जग्गा हेर्न आउँथे’, उनी हाँस्दै कामना गर्छन्, ‘हाम्रा सबै सुकुम्बासीहरु त्यस्तै कारवाला बनून्’

पछिल्लो पटक उनी सागरनाथ वन परियोजनामा अधिकृत भएर गएका थिए । जुन परियोजना अन्तर्गत मुर्तिया क्षेत्रको २७ सय हेक्टर जमिन अतिक्रण भएको थियो । तर, उनले आफ्नै पहलमा अतिक्रमित वन फिर्ता गराएका छन् ।

उनले त्यहाँ कसरी काम गरेका थिए, उनकै शब्दमाः

‘सागरनाथ वन विकास परियोजनामा अतिक्रमण र वन संरक्षण मुख्य समस्या थियो । करिब १३ हजार ५ सय १२ हेक्टर जमिनमध्ये करिब २७ सय हेक्टर वनक्षेत्र अतिक्रमण भइसकेको थियो । त्यहाँ वनक्षेत्रको जमिन ३० देखि ४० वर्षदेखि अतिक्रमित अवस्थामा थियो ।

म त्यहाँ वन अधिकृतको रुपमा जाँदा अतिक्रमण निकै लाजमर्दो अवस्थामा थियो । त्यहाँ जानासाथै सबैभन्दा बढी अतिक्रमित भएको ठाउँमा केन्द्रित भएँ । त्यसको प्रभाव अन्यत्र पनि परेको थियो ।

मुर्तियाको अतिक्रमण रोक्न पनि त्यत्तिकै कठिन थियो । क्षेत्रफल धेरै थियो र बस्ती समेत बसिसकेको थियो । कतिपयले त मुर्तियाको जस्तै अतिक्रमण गर्छौ भन्दै वन कार्यालयलाई सीधै चुनौती दिन्थे ।

तर, मिश्रले रातारात मुर्तियामा करिब सात सय प्रहरी उतारेर अतिक्रमण हटाए । खाली गरिएको ठाउँलाई अहिले तारबारले घेरेर त्यहाँ विरुवा पनि रोपिसकिएको छ ।

मूर्तियामा त्यसरी अतिक्रमण हटाएपछि अन्य ठाउँहरुमा अतिक्रमण आफैँ रोकिन थाले । आफ्नो योजनामा साथ दिने गृह मन्त्रालय र प्रहरीलाई धन्यवाद धन्यवाद दिन्छन् उनी ।

‘कारवाला सुकुम्बासी’ पनि झेले

अतिक्रमण हटाउने क्रममा धेरै समस्या आउँछ भन्ने उनलाई पहिल्यै अनुमान थियो ।

‘त्यहाँ सुकुम्वासी भन्दा हुकुमवासीको वर्चश्व थियो । सुकुम्बासीमा नाममा जग्गा कब्जा गरेर राख्ने र त्यसैको व्यापार गर्नेहरु धेरै थिए ।’

त्यतिखेर रसिद नै काटेर जमिन किनबेच भइरहेको थियो । कतिपय कर्मचारी समेत अतिक्रमित भूमिमा गएर जग्गा किनबेचमा संलग्न थिए । ‘कारवाला सुकुम्बासीहरु गाडी चढेर जग्गा हेर्न आउँथे’, उनी हाँस्दै कामना गर्छन्, ‘हाम्रा सबै सुकुम्बासीहरु त्यस्तै कारवाला बनून् ।’

सर्लाहीको अतिक्रमित जमिन फिर्ता गराउने क्रममा पनि उनले आफूले कमाएका कुनै पनि सम्बन्ध र सम्पर्क बाँकी राखेनन्

कसरी बन्यो योजना ?

मिश्रलाई सागरनाथ वन विकास परियोजनाको वन अतिक्रमणबारे पूर्व जानकारी त थियो, तर त्यति धेरै समस्या छ भन्ने थाहा थिएन । उनी आयोजना प्रमुखको रुपमा त्यहाँ गएपछि हल्ला नगरी भित्रभित्रै रणनीति बनाउन थाले ।

मिश्र यस्ता कर्मचारी हुन्, हरेक कामका लागि डबल योजना बनाउँछन् । रणनीति डबल र बलियो हुनुपर्छ भन्ने उनको विश्वास छ । कार्यसम्पादनमा उनको सफलताको सूत्र पनि त्यही हो ।

आफ्नो योजनामा इमान्दार र दृढ भएर काम गर्दा उनी त्यसपछि पछि नहट्ने गरी जुट्छन् । काममा जुट्दा आफ्नो सर्वस्व दाउमा राख्छन् ।

उनी भन्छन्, ‘आफ्नो कर्त्तव्यको मैदानमा उत्रिँदा मैले जीवनमा धेरै जुवा खेलेँ । आफ्नो सर्वस्व हारेर आफ्नो संस्था र सरकारलाई जिताउने गरी खेलेँ ।’

सर्लाहीको अतिक्रमित जमिन फिर्ता गराउने क्रममा पनि उनले आफूले कमाएका कुनै पनि सम्बन्ध र सम्पर्क बाँकी राखेनन् । ‘सर्वस्व त्यागेर त्यो अभियानमा लागेको थिएँ,’ उनी सम्झिन्छन् ।

सुनसरीमा उस्तै अग्रसरता

साढे एक वर्षअघि मिश्र सुनसरीमा वन कार्यालयको प्रमुखका रुपमा गएका थिए । त्यहाँ देखेको अवस्था उनले यसरी सुनाएः

‘म पहिलो दिन त्यहाँ पुग्दा कार्यालयको अवस्था निकै खराब थियो । कार्यालय जस्तो स्वरुप नै थिएन ।

मैले सर्लाही मिर्चैयाको अतिक्रमित भूमि फिर्ता गराउने बेलामा चार महिनासम्म आमालाई आफूसँगै राखेँ। माता-पिताबाट गलत काम गर्न हुँदैन भन्ने प्रेरणा पाएँ

जिल्लामा हरेक रात कम्तीमा ३/४ वटा रुख काटिन्थ्यो । वन संरक्षण मुख्य चुनौती थियो । कर्मचारीहरु फाइल बोकेर कुदिरहेका हुन्थे, तर अघिपछि बिचौलियाको भिड हुन्थ्यो । डिएफओको क्वाटर समेत काठले भरिएको थियो ।’

उनले कर्मचारीलाई आफ्नो कार्यक्षेत्रमा खटाए । कडा नियम लागू गर्दै कार्यालयलाई सही ट्र्याकमा ल्याए । उनी भन्छन्, ‘फर्कने बेलासम्ममा वनको चोरी ठप्प पारेको थिएँ । वन कार्यालयमा सेवाग्राहीलाई पाँच मिनेटमै काम गरिसक्ने व्यवस्था गरेको थिएँ ।’

प्रेरणाको स्रोत आमा-बुवा

आफूले गर्दै आएको काममा आमा-बुवाको प्रेरणाले ठूलो काम गरेको मिश्रको ठहर छ ।

प्रेरणाको स्रोतबारे उनी बताउँछन् –

‘माता-पिताले सिकाएको संस्कारकै परिणाम हुँ म । मैले के-के नै गजब गरेँ भन्दिनँ, मात्र कसैको लागि नराम्रो गरेको छैन । मेरी आमा ८४ वर्षको हुनुहुन्छ । मैले सर्लाही मिर्चैयाको अतिक्रमित भूमि फिर्ता गराउने बेलामा चार महिनासम्म आमालाई आफूसँगै राखेँ । त्यतिबेला आमालाई पनि समय दिन्थेँ, अफिसको काम पनि राम्रो हुन्थ्यो । माता-पिताबाट गलत काम गर्न हुँदैन भन्ने प्रेरणा पाएको हुँ । जुन संस्थामा जागिर खान्छु, त्यसको प्रतिष्ठा र आफ्नो प्रतिष्ठा पनि मेरो लागि सर्वाधिक महँगा विषय हुन् ।’

प्रतिष्ठा के हो ?

उपसचिव मिश्रले प्रतिष्ठाको परिभाषालाई गजबले ब्याख्या गरे ।

‘कुनै मान्छे पैसाको झोला बोकेर हिँडिरहेको हुन्छ, अर्कोले चुप्पी वा गोली हान्छ र पनि त्यो व्यक्तिले पैसाको झोला छोड्दैन । किनकि उसले त्यो पैसालाई आफ्नो सबैभन्दा महत्वपूर्ण र महँगो चिज मानेको छ । जेसुकै गर्दा पनि उसले आफ्नो मूल्यवान् चिज छोड्दैन ।’

उनको लागि त्यही पैसा जस्तै महँगो चिज बनेको छ प्रतिष्ठा ।

उनी भन्छन्, ‘आफ्नो इज्जत, आत्मसम्मान र प्रतिष्ठालाई म कुनै हालतमा पनि गुमाउँदिनँ । बाँकी कुरामा म नरम भए पनि यी कुरामा निकै अडिग छु । यसमा म कुनै सम्झौता गर्दिनँ ।’

उनी आफूलाई सार्वजनिक सम्पत्तिको संरक्षकको रुपमा चिनाउँछन् । आफूले जिम्मा लिएको सम्पत्तिसँग कुनै खेलवाड हुन नदिने दाबी गर्छन् ।

उनले भने, ‘सरकारी सम्पत्ति कसैलाई प्रयोग गर्न वा सधैंका लागि दिन सक्दिनँ । यसको संरक्षण गर्नु मेरो दायित्व हो ।’

समस्या र चुनौती प्रिय

मिश्रले वन विभाग अन्तर्गत देखेको मुख्य समस्या वन दोहन र अतिक्रमण हो । वनको जग्गा अतिक्रमण गर्ने र अत्यधिक दोहन गर्ने क्रम बढिरहेको छ ।

उनले सादगी शैलीमा भने, ‘मेरो कारण मेरो कार्यालय, साथीहरु, मलाई जागिर दिने नेपाल सरकारको शिर कहिल्यै झुक्ने छैन । यति ग्यारेण्टी गर्न सक्छु

उनले देखेको अर्को समस्या वन सेवाको काममा पारदर्शिताको अभाव हो । कुन काम किन, के का लागि र कसरी हुँदै छ भनेर प्रष्ट हुनुपर्ने उनको बुझाइ छ ।

उपसचिव मिश्रको ठूलो सपना भन्नु केही छैन । बरु जोखिमसँग खेल्न रुचाउने उनको विचित्रको स्वभाव छ । प्रायः मानिसहरु समस्याबाट सकेसम्म टाढै बस्छन् । मिश्रको हकमा भने ठीक विपरीत छ ।

उनी भन्छन्, ‘कुनै जिम्मेवारी लिएर जाँदा त्यहाँ समस्या र चुनौती देखेँ भने मजा लाग्छ ।’

यस्तो किन त ?

‘मलाई चुनौतीसँग खेलेर त्यसमा सुधार ल्याउन पाउँदा जीवनकै सबैभन्दा बढी आनन्द महसुस हुन्छ’, उनले भने ।

मिश्रको कार्यशैली अनौठो छ । उनलाई हरेक दिन अरुले के गर्छ भन्ने होइन, आफू के गर्न सक्छु भन्ने जाँच गर्न मन पर्छ । त्यसैले कहाँ-कहाँ चुनौती छन्, खोजेर उनी आफ्नो परीक्षा लिइहाल्छन् ।

थप सपना कामैकाम

मिश्र आफूलाई सरकारको नोकर मान्छन् । आफ्नो ड्युटीमा कुनै सम्झौता नगरी अघि बढ्ने बताउँछन् ।

सपनाबारे सोध्दा उनले सरल रुपमा भने, ‘नोकरको के सपना हुन्छ ? मालिकले जे काम लगायो, त्यो काम इमान्दारीका साथ पक्का काम गर्ने हो । मैले गर्ने त्यत्ति हो ।’

उनको विचारमा कर्मचारी भएपछि व्यक्तिगत सपना सजाउँदै यो गर्छु र यति गर्छु भन्ने हुँदैन ।

उनी भन्छन्, ‘सरकारले जिम्मा दिने काम आफूले जानेबुझेसम्म सुन्दर ढंगले र पूरा मन लगाएर पूरा गर्छु । आधा मनले काम गर्दिनँ । त्यो काम मात्र गर्छु जसले मेरो संस्था र देशलाई फाइदा हुन्छ ।’

छुट्टिने बेलामा उनले आफू सधैं उही रफ्तारमा डटिरहने बताए । ‘मेरो प्रतिबद्धता हो, मेरो कारणले नागरिकको शिर कहिल्यै झुक्दैन,’ उनले सादगी शैलीमा भने, ‘मेरो कारण मेरो कार्यालय, साथीहरु, मलाई जागिर दिने नेपाल सरकारको शिर कहिल्यै झुक्ने छैन । यति ग्यारेण्टी गर्न सक्छु ।’

प्रतिक्रिया दिनुहोस्