Logo

Hello NEw

जलजला गाउँपालिकाले नगर प्रहरी भर्ना गर्ने



जलजला गाउँपालिकाले नगर प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । गाउँपालिकाको कार्यपालिका बैठकले प्रहरी भर्र्नासम्बन्धी नियमावली बनाउने निर्णय गरेको हो । गाउँपालिकामा शान्ति–सुरक्षा तथा प्राकृतिक स्रोत संरक्षणका लागि आफ्नै प्रहरी भर्ना गर्ने उद्देश्यले नियमावली बनाउने निर्णय भएको अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए ।

‘गाउँपालिकाको काममा जनपद प्रहरीबाट असहयोग भयो’ अध्यक्ष मल्लले भने, ‘आफ्नै प्रहरी आवश्यक देखिएकाले नियमावली मस्यौदा गर्न लागेका हौँ ।’ गाउँपालिका कार्यालयको सुरक्षा र प्राकृतिक स्रोतको संरक्षणमा चुनौती थपिए पनि जनपद प्रहरीले असहयोग गरेको आरोप अध्यक्ष मल्लले लगाए ।

प्रहरीसँग विवाद
जिल्ला प्रहरी कार्यालय पर्वत र जलजला गाउँपालिकाबीच विवाद छ । गाउँपालिकाले जनपद प्रहरीले आफ्नो अधिकार क्षेत्रबाहिर गएर अनावश्यक हस्तक्षेप गरेको तथा समन्वयविना काम गरेको आरोप लगाउँदै आएको छ । जिल्ला प्रहरीले भने प्रचलित ऐन–कानुनले दिएको अधिकार प्रयोग गरी कानुनविपरीत हुने गतिविधि र कामलाई नियन्त्रण गर्दा जनप्रतिनिधिले असहयोग गरेको बताउँदै आएको छ ।

खासगरी, कालीगण्डकी नदीमा नदीजन्य पदार्थ उत्खननका विषयमा प्रहरी र गाउँपालिकाबीच विवाद हुँदै आएको छ । नेपाल प्रहरीले देशैभर सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमसमेत जलजला गाउँपालिकामा सञ्चालन हुन सकेको छैन । प्रहरीले गाउँपालिकाले कार्यक्रम सञ्चालन गर्न असहयोग गरेको आरोप लगाउँदै आएको छ भने गाउँपालिकाले प्रहरीले समन्वय नै नगरेको दाबी गरेको छ ।

विभिन्न निकायमा पत्राचार
प्रहरीले असहयोग गरेको भन्दै गाउँपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, प्रहरी प्रधान कार्यालयदेखि गण्डकी प्रदेशका मुख्यमन्त्रीसम्म पत्राचार गर्ने निर्णय गरेको छ । ‘प्रहरीले किटानी जाहेरीसमेत नलिने अवस्था भएपछि बाध्य भएर माथिल्लो निकाय गुहार्नु परेको हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्