Hello NEw
संविधानवाद र संविधानबीचको अन्तरसम्बन्ध, संविधानवादका तत्व तथा संविधानका विशेषताहरु
संविधानवाद र संविधान भन्नाले के बुझ्नुहुन्छरु संविधानबादका तत्वहरु र संविधानका विशेषताहरु उल्लेख गर्दै संविधान र संविधानबाद बीचको अन्तरसम्बन्ध बारे चर्चा गर्नुहोस् ?

संविधानवाद के हो ?
– सामान्य अर्थमा संवैधानिक सर्वोच्चताको स्विकारोक्ति नै संविधानवाद हो । संविधानको अधीनमा रहि सरकारका सबै अंग र अन्य निकायहरूले काम कारवाही गर्नुपर्ने र संविधान भन्दा माथि कोही हुन नहुने अवधारणा नै संविधानवाद हो ।
– संविधानको भावना र मर्मअनुरुप शासन ब्यबस्था संचालन गर्नु र संविधानको अक्षरशः पालनामा जोड दिनु पनि संविधानवाद हो ।
– सरकारको असीमित शक्तिमाथि नियन्त्रण गर्दै सीमित सरकारको धारणालाई अंगीकार गरी कानुनी राज्य स्थापनामा जोड दिने र सार्बभौमसत्ता सम्पन्न नागरिकका अधिकारहरुको रक्षा गर्दै शक्तिको दुरूपयोगलाई निरुत्साहित गर्ने मान्यता नै संविधानवाद हो ।
संविधानवादका आधारभूत तत्वहरु;
# संवैधानिक सर्वोच्चता
# स्वतन्त्र र सक्षम न्यायपालिका
# मौलिक हकको सुनिश्चितता# न्यायिक पुनरावलोकनको व्यवस्था
# मानव अधिकारको प्रत्याभूति
# आवधिक निर्वाचन र बालिग मताधिकार
# शक्तिको विकेन्द्रीकरण
# कानुनी शासन
# शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको व्यवस्था
संविधान के हो ?
– संविधान देशको मुल कानून हो जसले सरकारको स्वरुप र शक्तिको सिमाङ्कन गरि राज्यका काम कारवाहिलाइ बैधता प्रदान गर्दछ तथा नागरिक अधिकारको सुनिश्चितता समेत प्रदान गर्दछ ।
– संविधान देशको शासन व्यवस्था संचालन गर्ने आधार हो । संविधानलाई राजनीतिक सहमतिको कानुनी दस्तावेजको रुपमा पनि परिभाषित गर्न सकिन्छ ।
– संविधान बिशुद्ध कानुनी नियमको संगालो मात्र होइन, संविधानमा देशको आर्थिक,सामाजिक सास्कृतिक तथा राजनैतिक पक्ष समेत लाई समेटिएको हुनाले संविधानलाई कानुन सम्मत तथा असम्मत नियमको संगालो पनि भनिन्छ ।
संविधानका विशेषताहरूः
१) संविधान देशको मूल कानून हो ।
२) यसले संविधानवादको तत्वलाई अंगालेको हुन्छ ।
३) यो कानूनी दस्ताबेज मात्र नभई सामाजिक, आर्थिक, राजनैतिक र सांस्कृतिक अधिकारहरूको समेत लिखत हो ।
४) यो राज्यको मार्गदर्शन सिद्धान्त हो जसले राष्ट्रको गन्तव्य निर्देशित गर्छ ।
५) संविधानको निर्माण विशेष प्रक्रियाद्वारा मात्र हुन्छ (अन्य कानुन झै संसदको बहुमत वा दुई तिहाई बाट बन्दैन ) । संविधानसभा ,सवैधानिक सम्मेलन ,राज्य प्रमुख वा राष्ट्र प्रमुखको घोषणा,जनमत संग्रह वा संवैधानिक विज्ञहरूको टिमबाट आदि प्रक्रियाबाट मात्र बन्ने गर्छ ।
संविधान र संविधानवाद बीचको अन्तरसम्बन्ध;
संविधान र संविधानवाद फरक फरक कुरा हुन । संविधानलाई अर्थपूर्ण बनाउने तत्व नै संविधानवाद हो । संविधानवाद संविधानको आत्मा हो, संविधानवाद बिनाको संविधान आत्मा बिनाको देह समान मानिन्छ । संविधान हुँदैमा संविधानवाद नहुन सक्छ , त्यो संविधानमा संविधानवाद हुनको लागि चाहिने तत्वहरु छन् वा छैनन र संविधानको मर्म अनुरुपको ब्यबस्था र प्रणाली संचालन भएको वा नभएको र संविधानको अक्षरस पालना भए वा नभएको अवस्थालाई हेर्नुपर्छ ।
संविधानवाद हुनको लागि लिखित संविधान नै हुनुपर्छ भन्ने मान्यता पनि कहिँ पाइन्छ तर लिखित संविधान नभएको मानिने बेलायतमा संविधानवाद नै छैन भनेर भन्न मिल्दैन । विश्वका प्रायः सबै मुुलुकहरूले आफ्नो संविधान त कुनै न कुनै रुपमा बनाएकै छन् र सोही अनुरुपको ब्यबस्था पनि गरेकै छन ।
नेपालमा पनि बि.स. २००४ साल देखि नै लिखित रुपमै संविधान तयार गरिएको थियोे तर संविधान भएका कारणबाट मात्रै लिखित संविधान भएका ती सबै देशमा संविधानवाद छ र नेपालमा बि.स. २००४ साल देखि नै संविधानवाद थियो भनेर भन्न सकिने अबस्था भने छैन । त्यसैले कुनै पनि देशको संविधान लिखित रुपमा छ वा छैन भन्ने कुरा भन्दा पनि महत्त्वपूर्ण कुरा त्यो देशले संविधानबादका तत्वहरुलाइ आत्मसात गरेको छ वा छैन भन्ने कुरा नै हेर्नु पर्छ र त्यस्तो संविधान लाई नै राम्रो संविधान मान्न सकिन्छ ।
अत: संविधानवाद विनाको संविधान आत्मा बिनाको मुर्दा शरीर जस्तै हुन्छ जसमा शरीरको संरचना, आकार एबम् स्वरुप त देख्न सकिन्छ तर जिवन्तता भने हुदैन । त्यसैले संविधानबादको प्राणरुपि तत्वहरुले नै संविधानलाई जिवन्त बनाउनुका साथै संविधानप्रती सबैको अपनत्व बोध गराउछ ।
