Hello NEw
अनलाइनबाटै खोज्न सकिन्छ विदेशको काम

काठमाडौं, ७ पुस । वैदेशिक रोजगारीको खोजीमा हुनेहरुलाई लक्ष्यित गर्दै वैदेशिक रोजगार विभागले गर्नुपर्ने काम लगायत कर्मचारी माग संख्याको सम्पूर्ण जानकारी विभागको वेबसाइटमा राख्न थालिसकेको छ ।
विभागले सुरु गरेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा देशभरका म्यानपावर कम्पनीले विदेशी रोजगारदाताबाट ल्याएको मागको विवरण राख्न थालिएको हो । वेबसाइटमा कुन मुलुक जानेदेखि पारिश्रमिक तथा आफूले खोजेको काम र त्यस कामको मागपत्र ल्याउने म्यानपावर कम्पनीको सम्पूर्ण विवरण राख्न थालिएको विभागले जनाएको छ ।
सूचना प्रणालीपछि म्यानपावरले गलत सूचना प्रकाशन गरेर झुक्याउने सम्भावना कम हुने ठानिएको छ । विभागको वेबसाइटमा गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतावासले प्रमाणित गरेको माग विवरण मात्र प्रकाशन हुनेछ ।
विगतमा रोजगारदाताले श्रमिकलाई दिने एउटा र म्यानपावरले प्रकाशन गर्ने सूचनामा उल्लेखित पारिश्रमिक अर्कै हुँदा कैयौं ठगिएका उदाहरण छन् । वेबसाइटबाटै अवसर खोज्ने व्यवस्थाले एजेन्टको भर पर्नुपर्ने र उनीहरूको चलखेल अन्त्य हुने अपेक्षा छ ।
अबदेखि सामान्य रूपमा अनलाइन चलाउन जान्ने जो कोहीले वैदेशिक रोजगारीमा जाने इच्छा भए अवसर खोज्न एजेन्टको भर पर्नु पर्दैन । वेबसाइटमा श्रम स्वीकृति लिएर नेपाली जान पाउने एक सय १० गन्तव्य मुलुकको नाम र ती मुलुकबाट आउने मागपत्रको विवरण राख्ने व्यवस्था मिलाइएको छ।
विभागको वेबसाइटमा राखिएको सूचना अनुसार श्रमिकले काम र पारिश्रमिक नपाएको खण्डमा कारबाही गर्न पनि सजिलो हुनेछ । विभागले सञ्चालनमा ल्याएको सूचना व्यवस्थापन प्रणालीमा सबै आठ सय ५३ म्यानपावर कम्पनी जोडिएका छन् । ती म्यानपावरले ल्याएको माग अनिवार्य रूपमा वेबसाइटमा राख्नुपर्छ ।
