Logo

Hello NEw

नागरिक शिक्षा/चेतना, महत्व र लोकतन्त्रलाई सबल बनाउनमा यसको भूमिका



नागरिक शिक्षा/चेतना भन्नाले के बुझ्नुहुन्छ ? नागरिक शिक्षाको महत्वका बारेमा उल्लेख गर्दै लोकतन्त्रलाई सबल बनाउन यसको भूमिका उल्लेख गर्नुहोस । (२+३+४)

परिचयः नागरिकलाई मुलुकको राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक, विकास तथा नैतिक पक्ष लगायतका विविध विषयमा जानकारी गराई उसलाई एक असल नागरिकका रुपमा स्थापित गर्न सहयोग पुर्‍याउने संपूर्ण ज्ञानलाई नागरिक शिक्षा/चेतना भनिन्छ । शिक्षा माध्य चेतना उद्देश्य हो । यसले नागरिकहरुमा बिशेषतः नागरिकहरुलाई राजनीतिक पक्षको ज्ञान दिलाउने कुरामा जोड दिन्छ ।

राज्य र नागरिक बीचको राजनीतिक सम्बन्ध व्यवस्थित बनाउँदै असल राष्ट्र तथा असल नागरिक निर्माण गर्ने यसको मूलभूत उद्देश्य हो । यसले व्यक्ति र राज्यबीचको सम्बन्धको बारेमा ज्ञान दिन्छ । नागरिकको राज्यप्रति अधिकार मात्र नभई कर्तव्य पनि हुन्छ भन्ने कुराको ज्ञान दिलाई राज्यका नागरिकहरुलाई दायित्वबोध समेत गराउँछ ।

यसै मार्फत असल समाज र राष्ट्र निर्माण पनि हुने भएकाले यसलाई लोकतन्त्र बारेको सिकाई (Democratic learning)  सभ्यताको सिकाई (Course of civilization) सिकाईको प्रकृया (Process of schooling) आदी नामबाट समेत संबोधन गर्ने गरिन्छ ।

नागरिक चेतनाको उद्देश्य
– असल नागरिकका माध्यमबाट असल राज्य निर्माण गर्ने,
– राज्य र नागरिकको सम्बन्ध व्यवस्थित बनाउने,
– नागरिकहरुमा अधिकार मात्रै खोजी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने,
– राज्य र समाजप्रति योगदान गर्न सक्ने नागरिकको निर्माण गर्ने,
– संवैधानिक प्रणाली, राजनितिक प्रणालीका बारेमा विविध कोणबाट ज्ञान दिलाउने
– राज्य एवं सरकारलाई सही दिशामा हिडाउन सक्ने सक्षम नागरिक तयार गर्ने,
– नागरिकहरुमा सच्चरित्रताको विकास गर्ने,
– राज्यप्रति नागरिकको अपनत्व बढाउने,
– नागरिकहरुमा राष्ट्रियताको भावना जागृत गराउने,
– सामाजिक सहसम्बन्धको विकास गर्ने,
– रचनात्मक आलोचना र सहयोग अभिवृद्धि गर्नसक्ने नागरिक तयार गर्ने,
– नागरिकहरुमा व्यवसायिक क्षमताको विकास गर्ने,
– नागरिकहरुमा आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको हनन हुन नहुने गरी गर्नुपर्दछ भन्ने भावनाको विकास गराउने,

लोकतन्त्रको सबलीकरणका लागि नागरिक शिक्षाको भूमिकाः
– यसले नागरिकहरुमा सामुदायिकताको भावना जागृत गराउँछ सामुदायिक भावना भएका नागरिक भएमा लोकतन्त्र सबल हुन्छ।
– अरुको अधिकारको हनन नहुने गरी आफ्नो अधिकारको प्रयोग गर्ने बानीको विकास नागरिकहरुमा हुन्छ जुन लोकतन्त्रको लागि अनिवार्य मानिन्छ।
– राज्यमा नैतिकवान नागरिकहरु तयार हुन्छन जसले भ्रष्ट्राचारको अन्त्य र सदाचारिताको विकास हुन्छ जसका कारण लोकतन्त्र मजबुत हुँदै जान्छ,
– नागरिकहरुमा कानूनको शासनको ज्ञान समेत यसैबाट बोध हुन्छ समाजमा कानूनको पालना गर्ने प्रवृत्तिको विकास हुन्छ,
– समाजमा चेतनशिल नागरिक तयार हुन्छन लोकतन्त्रको पूर्वशर्त नैं चेतनशिल नागरिक हुनु अनिवार्य मानिन्छ,
– नागरिकहरुमा समाज र राज्यप्रतिको उत्तरदायित्वको बोध हुन्छ,
– नागरिकहरुमा बहकाउमा लाग्ने प्रवृत्तिको अन्त्य हुन्छ,
– नागरिकहरुमा सार्वजनिक जिवनमा कसरी सहभागिता जनाउने भन्ने कुराको ज्ञान हुन्छ जसले लोकतन्त्रको सवलीकरणमा योगदान पुर्‍याउँछ ।

निष्कर्षः
सफल र सबल लोकतन्त्रको लागि चेतनशिल नागरिक यसको पहिलो शर्त हो। असल र सभ्य नागरिकको अभावमा लोकतन्त्रको सवलीकरण गर्दै सभ्य समाज र असल राष्ट्र निर्माण गर्न सकिंदैन । राज्य र नागरिकको सम्बन्ध व्यवस्थित गर्दै नागरिकहरुमा अधिकार मात्र खोज्ने प्रवृत्ति अन्त्य गर्दै राज्य र समाजका लागि योगदान गर्न सक्ने नागरिक निर्माण गर्नु नैं लोकतन्त्रको सबलीकरणका लागि अपरिहार्य भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्