Logo

Hello NEw

गृहको निर्देशन : उखु किसानको पैसा नतिर्नेलाई पक्राउ गर !



काठमाडौं, १५ पुस । उखु किसानका पैसा नतिर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । कृषि र उद्योग वाणिज्य मन्त्रालयले गृहलाई चिनी मिल सञ्चालकमाथि कारबाही गर्न सोमबार सहयोग मागेसंगै गृह मन्त्रालयले पत्रचार गरेको हो ।

दुई मन्त्रालयको अनुरोधपछि प्रहरी प्रधान कार्यालयलाई चिनी मिल सञ्चालक पक्रन निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । गृह स्रोतका अनुसार मंगलबार प्रधान कार्यालयलाई चिनी मिल सञ्चालक पक्राउ गर्न निर्देशन दिइएको हो ।

गृह मन्त्रालयले उखु किसानको भुक्तानी नदिने श्री इन्दिरा सुगर एन्ड एग्रो ईं प्रालि र श्री अन्नपूर्ण सुगर एन्ड जनरल ईं प्रालिका सञ्चालक राकेशकुमार अग्रवाललाई पक्राउ गर्न मंगलबार प्रहरीलाई पत्र काटेको छ ।

विगत ११ दिनदेखि उधारोमा बेचिएको उखुको भुक्तानी होस् र अब बेच्ने उखुको मूल्य सन्तुलित होस् भन्ने माग लिएर किसान आन्दोलनमा छन् । उखु किसान मिल मालिकबाट मात्र नभएर सरकारबाट पनि ठगिएका छन् ।

सरकार र उद्योगीको गरी करिब साढे २ अर्ब बक्यौता बाँकी रहेको उखु किसान महासंघले जनाएको छ । सरकारले आव २०७४/०७५ बाट उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो । सोही अनुसार दुई आव २०७४/०७५ र ०७५/७६ को गरेर १ अर्ब ३४ करोड भुक्तानी लिन बाँकी रहेको छ ।

उद्योगीले १ अर्ब २ करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । श्रीराम सुगरमिल्स, रौतहटको ४२ करोड, अन्नपूर्ण चिनी उद्योग, सर्लाहीको ५० करोड र महालक्ष्मी सुगरमिल्सको १० करोड किसानलाई बक्यौता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्