Hello NEw
संक्रमित बिरुवा पैठारी गरे १ लाख ५० हजार जरिवाना

काठमाडौं, १५ पुस । सरकारले संक्रमित विरुवा वा विरुवाजन्य उपज निकासी तथा पैठारी गर्नेलाई ५० हजार देखि १ लाख ५० हजारसम्म जरिवाना गर्ने भएको छ ।
बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक पास भए सङ्क्रमित बिरुवा वा बिरुवाजन्य उपज निकासी तथा पैठारी गरेमा, जानी जानी वा लापरवाहीपूर्वक सङ्क्रमित बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तुको संसर्ग स्वस्थ्य बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तुसँग गराएमा एक लाख ५० हजारसम्म जरिवाना हुने व्यवस्था गर्न लागिएको हो । अहिले यो विधेयक कृषि समितिमा दफावार छलफलको क्रममा रहेको छ ।
त्यसैगरी सङ्क्रमित बिरुवा वा बिरुवाजन्य उपज बिक्री वितरण गरेमा, सङ्क्रमित बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तु तोकिएको प्रक्रिया नपुर्याई नष्ट गरेमा, सङ्क्रमित बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तु निरीक्षक वा कार्यालय प्रमुखको स्वीकृति बिना क्वारेन्टाइन स्थलबाट हटाएमा पनि उक्त जरिवाना हुने व्यवस्था गर्न लागिएको छ ।
यसअघि उक्त कसुर अन्तर्गत १० हजार देखि ५० हजारसम्म जरिवाना तोकिएको थियो ।
