Logo

Hello NEw

परिवर्तन व्यवस्थापनको परिचय, यसले सिर्जना गर्ने अवसर र दिगोपनाका लागि अपनाउनु पर्ने रणनीतिहरु



प्रश्न : परिवर्तन व्यवस्थापनको संक्षिप्त परिचय दिँदै परिवर्तनले सिर्जना गर्ने अवसर र यसको दिगोपनाका लागि अपनाउनु पर्ने व्यवस्थापकीय रणनीतिहरुको चर्चा गर्नुहोस् ।

परिवर्तन र परिवर्तन व्यवस्थापन
सामान्य अर्थममा परिवर्तनले चालु स्थितिको तुलनामा हुने विचलन वा फरकपनालाई जनाउँदछ ।आन्तरिक तथा वाह्य विभिन्न तत्वको उपस्थितिमा हुने समय र स्थान विशेषको फरकलाई सैद्धान्तिक रुपमा परिवर्तन भनिन्छ । परिवर्तन सकारात्मक वा नकारात्मक, क्रमबद्ध वा अप्रत्यासित, सानो वा ठूलो मात्राको, रणनीतिक वा अनिवार्य किसिमका हुने गरेको पाइन्छन् ।

स्वभावत परिवर्तनले व्यक्ति संगठन समाज र यिनीहरुको लक्ष्य, उद्देश्य, इच्छा, आकांक्षा, अपेक्षा मूल्य मान्यता तथा संरचना र कार्यविधिमा समेत अनिश्चितता वा भिन्नता पैदा गर्दछ । यस भिन्नता वा अनिश्चितताबाट सिर्जना हुने अवसर वा भयका कारण परिवर्तनको स्वीकार वा प्रतिरोध हुने गर्दछ । यही स्वीकार्यताको व्यवस्थापन र प्रतिरोधको सामना गरी नकारात्मक असरको निराकरण गर्दै परिवर्तनको वाञ्छित नतिजा प्राप्त गर्ने कला वा विधिलाई परिवर्तन व्यवस्थापन भनिन्छ ।

परिवर्तन अवसर कि समस्या ?
परिवर्तन अवश्यम्भावी छ र यसले अन्ततोगत्वा अवसर नै सिर्जना गर्दछ । यसको नकारात्मक असर देखिए तापिन कुशल व्यवस्थापनको माध्यमबाट नकारात्मक असरको निराकरण गरी अवसरमा परिणत गर्न सकिने हुनाले परिवर्तन समस्या भन्दा बढी अवसर हो । परिवर्तनले सिर्जना गर्ने महत्वपूर्ण अवसरहरु निम्न बमोजिम रहेको पाइन्छ ।

(१) व्यक्तिगत अवसर
– परिवर्तमा समायोजित हुन पाउने
– आफूलाई विकसित गर्दै लैजाने
– सुधार र परिमार्जन गर्ने
– नेतृत्व क्षमता विकास गर्ने

(२) सांगठनिक अवसर
– संरचना र कार्यविधिमा सुधार
– मित्वययिता कार्यदक्षता र कार्यकुशलता अभिवृद्धि गर्ने
– नतिजामुखी हुने
– समायोजित र अनुकुलित हुने
– उत्तम गुण र क्षमताको जित हुने
– सेवाग्राहीको सन्तुष्टिलाई आत्मसात् गर्ने

(३) वातावरणीय वा अन्य असर
– सैद्धान्तिक अवधारणालाई आत्मसात गर्ने
– आर्थिक सामाजिक विकासका नवीनतम मोडलहरु भित्र्याउने
– सरकारको साख र वैधता पुष्टी गर्ने
– दीगो जनमत प्राप्त गर्ने
– अन्तराष्ट्रिय सम्बन्ध विस्तार गर्ने
माथि उल्लेखित अवसरहरु प्राप्त हुने भए तापनि नेपालको सार्वजनिक व्यवस्थापनको क्षेत्रमा परिवर्तनको प्रतिरोध हुने गरेको प्रशस्त उदाहरणहरु पाइन्छन् ।

वास्तवमा देहायको कारणले परिवर्तनलाई समस्याको रुपमा हेरिने गरेको हो ।
– परिवर्तनले माग गर्ने ज्ञान सिप र दक्षतामा कमी
– परिवर्तन व्यवस्थापनको खास कर्ता वा नेतृत्व क्षमताको कमी
– परिवर्तनको सकारत्मकता भन्दा पनि यथास्थिति र निर्वाहमा रमाउने संस्कार
– वैदेशिक वा वाह्य हस्तक्षेपको भय
– सामाजिक सांस्कृतिक विश्रृंखलताको डर
– व्यक्तिगत वा समूहगत स्वार्थ

परिवर्तन व्यवस्थापन कसरी गर्ने ?
सफल परिवर्तन व्यवस्थापनको लागि परिवर्तनलाई समस्याको रुपमा हेर्ने संस्कार र व्यवहारमै परिवर्तन जरुरी हुन्छ । देहायका मूलभुत रणनीतिहरुको अवलम्बन गरी परिवर्तनको सफल व्यवस्थापन गर्न सकिन्छ ।
१. परिवर्तनका अन्तरवस्तुको परिभाषित गर्ने
२. दूरदृष्टि र ध्येय निर्धारण
३. प्राप्य लक्ष्य र उद्देश्यहरु तय
४. परिवर्तनको वातावरणीय स्क्यानिङ (सोट विश्लेषण)
५. चुनौतिलाई अवसरमा बदल्ने र दुर्बल पक्षको न्यूनिकरण
६. विस्तृत कार्यान्वयन योजना तयार
७. जनशक्ति र वित्तिय साधनस्रोत जुटाउने
८. कार्यसम्पादन सूचक र कार्यविधि तय
९. अनुगमन तथा मूल्यांकन सूचक र संयन्त्र तयार
१०. सबल नेतृत्व प्रदान गर्ने

परिवर्तन व्यवस्थापन र यसको दिगोपनाका सम्बन्धमा विभिन्न विद्वानहरुले फरक फरक मोडलहरु सुझाएको पाइन्छन् । कुर्त लिविनको तीन तहले योजना व्यवहार र कार्यविधिमा परिवर्तन र मूल प्रणालीमा एकिकरण गर्नु पर्ने बताएको छ भने कोटरले विभिन्न आठ तह पार भएर परिवर्तन व्यवस्थाप गर्न सकिने कुरा उल्लेख गरेका छन् ।

तर सारांशमा, परिवर्तनले अपेक्षा गरेको सुधार र यसको दिगोपनाको लागि पाँचवटा तत्वहरु अनिवार्य मानिन्छ । ती हुनस् सोच, सीप, प्रोत्साहन, स्रोतसाधन, कार्ययोजना र नेतृत्व । यी पाँच मध्य एकको मात्र पनि कमी हुँदा परिवर्तनको सकारात्मक लाभहरु व्यक्ति, संगठन र समाजले प्राप्त गर्न सक्दैन । साझा दृष्टिकोण र बुझाई, प्रतिबद्धता, सामाजिक सांस्कृतिक एक्यवद्धता, विज्ञता, सक्षम नेतृत्व र सरोकारवाला समेतको स्वामित्वमा विशेष ध्यान पुर्‍याउन सकिएमा परिवर्तनले अपेक्षा गरे अनुसारको नतिजा र यसको दिगोपना सुनिश्चित गर्दछ ।

प्रतिक्रिया दिनुहोस्