Logo

Hello NEw

जापान रोजगारी मार्चदेखि परीक्षार्थी कोटा बढाइने



काठमाडौं, १८ पुस । जापान रोजगारीका लागि लिइने परीक्षार्थीको संख्या बढ्ने भएको छ । जापान रोजगारीमा इच्छुक संख्याको तुलनामा निकै कमले मात्र भाषा र सीप परीक्षामा सहभागी हुन पाइरहेको बेला जापान फाउन्डेसनले आउँदो मार्चदेखि परीक्षामा सहभागी हुनेको संख्या बढाउन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

अघिल्लो वर्ष जापान सरकारले नेपाललाई कामदार आपूर्ति गर्ने स्रोत मुलुकको सूचीमा राखेपछि ठूलो संख्याका युवायुवतीले जापान जान पाउने आसमा भाषा र सीप सिकेका छन् । तर अहिलेसम्म एकजना पनि जापान जान पाएका छैनन् । फाउन्डेसनले पहिलोपटक अक्टोबरमा एक हजार युवायुवतीको भाषा र सीप परीक्षा लिए पनि एकजना पनि उत्तीर्ण हुन सकेका थिएनन् ।

पहिलो चरणको भाषा र सीप परीक्षामा सहभागी हुन १३ हजारले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये फाउन्डेसनले गोलाप्रथाबाट एक हजारलाई मात्र भाषा र सीप परीक्षामा सहभागी गराएको थियो। मन्त्रालयले आवेदन दिएका सबैलाई भाषा र सीप परीक्षामा सहभागी गराउन आग्रह गरे पनि फाउन्डेसनले ठूलो संख्यालाई परीक्षा लिन नसकिने भन्दै गोलाप्रथाबाट एक हजारलाई मात्र छनोट गरेको थियो । फाउन्डेसनले कामदार छनोट गर्दा भाषा र सीपमा दक्षलाई मात्र लिने जनाएको छ।

जापान सरकारले अघिल्लो वर्ष नेपाललगायत विश्वका नौ स्रोत मुलुकबाट आउँदो पाँच वर्षमा साढे तीन लाख श्रमिक लैजाने घोषणा गरेको थियो । नेपालबाट कति कामदार लैजाने भन्नेबारे कोटा नतोकिए पनि सरकारी अधिकारीहरूले वर्षमा पाँच हजार जति पठाउने पहल गरेका थिए । जापान सरकारले चौध सेक्टरमा काम गर्नका लागि विभिन्न गन्तव्य मुलुकबाट कामदार लैजाने निर्णय गरे पनि फाउन्डेसनले नेपालबाट पहिलो चरणमा नर्सिङ केयरको भाषा र सीप परीक्षा सुरु गरेको थियो ।

पहिलो चरणको भाषा र सीप परीक्षामा सहभागी सबै अनुत्तीर्ण हुनुको कारण सरकारी अधिकारीहरूले नर्सिङ केयरका लागि मात्र परीक्षा लिइनुलाई पनि लिएका छन् । ‘कृषि, निर्माण, मत्स्यपालन जस्ता क्षेत्रमा काम गर्न भाषा र सीपको परीक्षा लिइएको भए नेपाली युवा सफल हुन सक्ने अनुमान छ ।

पहिलो चरणमा कोही पनि उत्तिर्ण नभएपछि अब हरेक दुई महिनामा जापान रोजगारीका लागि भाषा र सीपको परीक्षा हुने मन्त्रालयले जनाएको छ । राम्रो पारिश्रमिक पाइने र बसोबास पनि राम्रो भएकाले लामो समयदेखि जापान जान ठूलो संख्यामा युवायुवती प्रतीक्षारत छन् । अघिल्लो वर्ष जापानले कामदार लैजाने निर्णय गरेसँगै ठूलो संख्याका युवायुवतीले जापानीज भाषा सिकिरहेका छन् । अधिकारीहरूका अनुसार रोजगारीका लागि जापान जाने युवायुवतीको मासिक न्यूनतम पारिश्रमिक डेढ लाख रुपैयाँभन्दा बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्