Logo

Hello NEw

आज दर्ता हुँदै राष्ट्रियसभा सांसदको उम्मेदवारी



काठमाडौं, २० पुस । निर्वाचन आयोगले राष्ट्रियसभा सांसदको उम्मेदवार दर्ताका लागि आइतबार १० देखि ३ बजेको समय निर्धारण गरेको छ । सातै प्रदेशमा उच्च अदालत रहेका जिल्लामा आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।

राष्ट्रियसभामा रिक्त १८ पदका लागि माघ ९ गते निर्वाचन हुँदै छ । एकजना भने राष्ट्रपतिबाट मनोनीत हुनेछन् । सत्तासीन नेकपा र प्रमुख विपक्षी कांग्रेसले उम्मेदवार तोकिसकेका छन् । नेकपाले प्रदेश २ मा राजपासँग तालमेल गरेको छ भने कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ । राजपा र समाजवादी पार्टीले प्रदेश २ बाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार तोकेका छन् ।

राष्ट्रियसभा निर्वाचन प्रणाली एकल संक्रमणीय हो । तर यसपटक प्रत्येक प्रदेशबाट (क्लस्टर) मा एकएक जना मात्र निर्वाचित हुने हुँदा यसपटकको निर्वाचन प्रत्यक्षजस्तै हुनेछ। २ नम्बर प्रदेशबाहेक ६ वटैमा प्रदेशसभा र स्थानीय तहमा सत्तासीन नेकपाको बहुमत छ भने २ नम्बर प्रदेशमा पनि नेकपाले राजपासँग तालमेल गरेर बहुमत सुनिश्चित गरेको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले सांसद निर्वाचित हुन्छन् । तीन जना भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ। स्थायी सदन राष्ट्रियसभाका लागि पहिलोपटक गोला हालेर २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो । एक तिहाइ सांसदको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुन्छ । अब निर्वाचित हुनेको कार्यकाल भने ६ वर्षकै हुनेछ।

राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नपर्ने संवैधानिक व्यवस्थाका कारण आगामी माघ ९ मा चुनाव हुन लागेको हो । सत्तासीन नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनीत (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल समाप्त हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्