Hello NEw
हट्ने भयो त्रिविको प्रहरी चौकी
काठमाडौं, २० पुस । त्रिभुवन विश्वविद्यालय परिसरभित्र निर्माण भई सञ्चालनमा रहेको प्रहरी चौकी हट्ने भएको छ ।
त्रिवि हाताबाट प्रहरी चौकी तत्कालै हटाउने नेपाल विद्यार्थी संघ र त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयले सहमति गरेपछि चौकी हट्ने भएको हो ।
नेविसंघ त्रिवि इकाइ सचिव योगेन्द्र रावल र निर्देशनालयका निर्देशक गंगाबहादुर थापा मगरबीच आइतबार भएको सहमतिपत्रमा प्रहरी चौकी त्रिवि हाताबाट तत्काल हटाउने उल्लेख गरिएको छ ।
त्रिवि परिसरभित्र आयुर्वेद क्याम्पस र आयुर्वेद अस्पतालको अगाडि प्रहरी चौकी छ । सहमति पत्रमा स्ववियु निर्वाचन फागुनभित्र गर्नका लागि एक साताभित्र मिति तोक्ने र निर्वाचन कार्यतालिका एक महिना अघि सार्वजनिक गर्नुपर्ने बुँदा पनि समावेश गरिएको छ ।
त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटालाई नेविसंघले समस्या समाधानका लागि १५ दिने अल्टिमेटम दिएपछि छलफल भएको थियो । त्रिविमा राजनीतिक आस्थाका आधारमा कसैलाई पनि भेदभाव नगर्ने पनि सहमति भएको छ । त्रिविमा कम्पाउण्ड वाल निर्माणमा बजेटको व्यवस्थापन गर्ने पनि बुँदा छ ।
