Hello NEw
लोकसेवा परीक्षा उतीर्ण हुनका लागि ५ मार्गदर्शन -सहसचिव नेत्र सुवेदी

१) खासगरी परीक्षाको विज्ञापन भएपश्चात आत्मविश्वासकासाथ पाठ्यक्रम वमोजिमका सामग्रीहरु तयारी गर्दै निखार ल्याउँदै जाने । तयारीलाई निरन्तरता दिने र यथासंभव सरल र समरुप जीवनशैली अपनाउने ।
२) जुनसुकै विषय वा शीर्षकको बारेमा विषयगत प्रश्नको उत्तर तयार पार्दा कम्तिमा तीनवटा सम्म पाठ्य सामग्रीहरु अध्ययन, नोट तयारी, चिन्तन, विश्लेषण समेत गरी बेलावखत सो कार्यलाई दोहोर्याउने गर्नुपर्दछ । साथै तयारी पूरा भएनभएको थाहा पाउनको लागि परीक्षाको अंकभारअनुसारको प्रश्न तयार गरी उत्तर लेखी स्वयंपरीक्षण गरी अंक दिई राख्ने वा अन्य अग्रजलाई परीक्षण गर्न लगाई पृष्ठपोषण प्राप्त गर्नु उचित हुन्छ ।
३) अध्ययन गर्दा एउटै स्थान, एउटै परिवेशमा भन्दा अलि फरक र रुचिअनुसार फुर्सदको समयमा वा Walking को क्रममै भएपनि प्राकृतिक मनोहरता भएका स्थानहरु जस्तो कि चौतारी, पोखरी वा खोलाको किनार, उच्च पहाड वा भन्ज्याङ, मन्दिरको परिसर जस्ता स्थानमा केही बेर बसेर स्मरण गर्ने वा अध्ययन गर्ने बानी बसाल्नु उपयोगी हुन्छ ।
परीक्षा तयारीका लागि पाँच टिप्स:
– समरुप जीवनशैली
– मौलिक पाठ्यसामग्री तयारी
– स्थानरपरिवेशमा नयाँपन
– उच्च महत्वको समयको ज्यादा प्रयोग
– थप मेहनत (Extra Effort)
४) हरेक व्यक्तिको जैविक घडी आआफ्नै हुन्छ अर्थात Biological Prime Time हुन्छ । कसैलाई बिहान सबेरै कसैलाई बेलुकीपख, कसैलाई राती सुनसान भएपछि कसैलाई मध्यान्हमा अध्ययन गरेको प्रभावकारी हुनसक्छ । तसर्थ आफ्नो उच्च महत्वको समय पहिचान गरेर सो को भरपूर उपयोग गर्नुपर्दछ ।
५) थोरै भएपनि थप मेहनत अर्थात Extra Effort को खाँचो प्रतिस्पर्धात्मक परीक्षा उतीर्ण गर्न आवश्यक छ । उतीर्ण हुने भन्दा पनि आफुलाई अरुभन्दा उत्कृष्ट सावित गरेर तोकिएको संख्यामा पर्ने विषय सजिलो छैन तर असंभव पनि छैन यदि आत्मबल, समर्पण, विश्वास र समय व्यवस्थापन राम्रो भयो भने परीक्षा उतिर्ण भइन्छ र देशको सेवा गर्ने अवसर मिल्दछ ।
