Hello NEw
आकाशियो खाद्यान्नको भाउ सर्वसाधारण मारमा
काठमाडौँ, २२ पुस । पछिल्लो एक महिनामा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ । जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २०० रुपियाँसम्म महँगो भएको हो ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार दाल, गेडागुडी, तेल, चामल, आटा, चिनीलगायत मसलाजन्य वस्तुको मूल्य प्रतिकेजी पाँच देखि २०० रुपियाँसम्म महँगो भएको छ तर सरकारका नियमनकारी निकायको बजार अनुगमन औपचारिकतामै सीमित भएको छ ।
सङ्घका अनुसार एक महिनाको बीचमा सबैभन्दा थोरै चामल प्रतिकेजी पाँच र सबैभन्दा बढी धुलो खुर्सानी प्रतिकेजीमा २०० रुपियाँसम्म बढेको छ । मासको दाल प्रतिकेजी १४० बाट बढेर १६० रुपियाँमा कारोबार भइरहेको छ । यस्तै मुसुरो दाल प्रतिकेजी १०० बाट १३० रुपियाँसम्म पुगेको छ भने नेपाली रहरको दाल प्रतिकेजी १३० बाट बढेर १६५ रुपियाँ पुगेको छ ।
सो अवधिमा मुग गेडा प्रतिकेजीमा १४० रुपियाँबाट १६० रुपियाँ, मुगको छाटा प्रतिकेजी १४० देखि १९० रुपियाँमा कारोबार भइरहेको छ भने मुगको खोस्टा (ठूलो) प्रतिकेजी १३० बाट बढेर १७० रुपियाँ पुगेको छ ।
यस्तै चामलमा प्रतिकेजी पाँचदेखि १० रुपियाँसम्म बढेको छ भने तराई ताइचिन चिउरा प्रतिकेजी ६५ बाट बढेर ८५ रुपियाँ पुगेको छ । त्यसैगरी गेडागुडीमा बोडी प्रतिकेजी ९५ बाट बढेर १३० रुपियाँसम्म बढेको छ भने सेतो र हरियो केराउ प्रतिकेजीमा क्रमशः २० देखि ४० रुपियाँ बढेको छ । चिनीमा प्रतिकेजी प्रतिकेजी ८० रुपियाँबाट बढेर ८५ रुपियाँ प्रतिकेजीमा कारोबार भइरहेको छ भने तेलमा पनि प्रतिलिटर १० देखि ५० रुपियाँसम्म बढेको छ ।
